सूचनाको शक्ति - The Power Of Information

        

समाचार

भत्किएको चार दशकमा पनि बनेन पुल, स्थानीयलाई सास्ती

बाँके । बाँकेको खजुरा गाउँपालिका–३ मा एउटा पुल भत्किएको चार दशक बितिसक्दा पनि पुनःनिर्माण हुन सकेको छैन । उक्त अवधिमा कति गाविस अध्यक्ष आए, गए र अहिले घरघरमा सिंहदरबारको नारासहित गाउँपालिका बने पनि खजुरा–३ को धौलागिरि र ‘बी’ गाउँका स्थानीयबासीले पुल नहुँदाको पीडा खेप्न निरन्तर बाध्य छन् ।

‘बी’ गाउँ र धौलागिरि जोड्ने वडा नम्बर ३ पर्ने उक्त पुल २०२७ सालतिर निर्माण गरिएको थियो । निर्माणको करिब दस वर्षपछि उक्त पुल बाढीका कारण भत्किएको थियो । २०६२–०६३ सालसम्म पैदल यात्री तथा साइकल यात्री हिँड्ने बाटो तथा पुल अहिले भने खण्डहरमा परिणत भइसकेको छ ।

तत्कालीन पुनर्बास कम्पनीले निर्माण गरेको उक्त पुल तत्कालीन समयमा बी गाउँ, ए गाउँ, एल गाउँ, गौघाट हुँदै बर्दियालाई खजुरा र नेपालगन्जसम्म जोड्ने एक मात्र पुलका रूपमा रहेको स्थानीय लक्ष्मण बुढामगरले बताए । उनले बाटो र पुल फेरि नबन्नुमा नेताहरूले त्यति चासो नदिएका कारण रहेको बताए ।

बुढामगरलाई अहिले भने बाटो र पुलभन्दा पनि गाउँका युवाले त्यही खण्डहर र जङ्गलजस्तै बनेको पुल छेउछाउमा लागूऔषध सेवन गर्ने अड्डा बनेकोमा चिन्ता छ । आदर्श धौलागिरिका नरबहादुर खड्कालाई पनि सो पुल विद्यार्थी तथा गाउँका युवाको कुलत अड्डा बनेकोमा चिन्ता छ ।

खड्काले पुल निर्माणका लागि जनप्रतिनिधिलाई बारम्बार घच्घचाए पनि कुनै सुनुवाइ नभएको जनाए । खडकाले भने, ‘नजिकै विद्यालय छ, पुल नबन्दा विद्यार्थीलाई आवत जावतमा पनि निकै समस्या छ । खण्डहर बनेको पुल र पुलको दुवैतर्फ लगभग एक किलोमिटर बाटोको क्षेत्रफल हाल घना जङ्गलका रूपमा परिणत भएको छ ।’

पैदल यात्रीसमेत हिँड्न नमिल्ने गरी खर, बयर जस्ता झाडी विकसित भएकोले सजिलै त्यस क्षेत्रबाट आवागमन गर्न नसकिने अवस्था रहेको स्थानीयवासीको दुखेसो छ । नेताहरू भोट माग्न आउँदा पुल बनाउने भनेर बाचा गरेर गए पनि पुल बनाउन कसैले चासो नदेखाएको अर्का स्थानीय दीपक थापाले बताए ।

‘नेताहरूलाई जताजता पायक प¥यो उतैउतै बाटो बनाए, तर यो पुरानो इतिहास बोकेको बाटो र पुलमा कसैको ध्यान गएन,’ थापाले भन्नुभयो । उता यसबारे प्रतिक्रिया माग्दा खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले आगामी दिनमा पुललाई प्राथमिकतामा राखेर निर्माण गरिने बताए ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतवार १२:०९