सूचनाको शक्ति - The Power Of Information

        

मुक्तिपछि पनि हलियाको अवस्था उस्तै

जाजरकोट । पुस्तौँदेखि हलिया बस्दै आएका बारेकोट गाउँपालिका–५, भैलुखानका जसवीर दमाई मुक्तिपछि सोचेअनुसार जीवन निर्वाहमा परिवर्तन नआएपछि निराश भएका छन् । १३ वर्षअघि हलिया मुक्ति हुँदा निकै खुसी भएका जसवीर हलिया मुक्त भएपछि जीवन निर्वाहमा सहजता नआएपछि निराश भएका हुन् । कार्कीको आर्थिक अवस्था अहिले पनि मुक्तिअघिको जस्तै छ ।

उनका हजुरबुवा काले दमाईले गाउँकै एक जना साहुबाट ऋणस्वरूप लिएको १०० रुपैयाँ तिर्न नसक्दा उनी हलिया बस्न बाध्य भएका थिए । अलिकति भएको जग्गा जमिन पनि बेचेर सकेको र साहुबाट लिएको ऋण तिर्न नसक्दा दमाई परिवार हलिया बस्न बाध्य भएको थियो । दमाईले आफ्नो जीवनभरि उनीहरूको हलो जोतेर बिताए । त्यसपछि उनका छोरा चन्द्र दमाईले पनि त्यसैगरी हलिया भएरै जीवन निर्वाह गरे ।

नाति जसवीरले ४६ वर्षसम्म हलिया भएर जीवन निर्वाह गरेपछि अहिले भने मुक्ति पाएका छन् । अहिले बिहान बेलुकाको छाक टार्न मुस्किल रहेको बताउँदै उनले सरकारसँग मुक्त हलिया परिवारको रोजीरोटीका लागि रोजगारीको व्यवस्था गरिदिन माग गरे । सरकारले हलियाहरूको पुनःस्थापनाका लागि गरेको सहयोग बालुवामा पानीसरह भएको मुक्त हलियाहरूको भनाइ छ । सरकारले मुक्त हलियाको पुनःस्थापनाका लागि घर निर्माणमा तीन लाख २५ हजार उपलब्ध गराएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतवार ११:३९