सूचनाको शक्ति - The Power Of Information

        

समाचार

एसपी र डिएसपीको घुमुवा टोली, ‘लागूऔषध कारोबारीदेखि जुवा अड्डासम्म सेटिङ’

बाँके । बाँकेमा प्रहरी प्रमूख फेरबदल हुने बित्तिकै आफू अनुकलका घुमुवा खटाएर असुलीधन्दा चलाउने गरेको गुनासो सधैं आइरहन्छ । प्रहरी प्रमूख फेरबदल हुने बित्तिकै घुमुवा फेरबदल अनिवार्यजस्तै हुन्छ । चिया पसलदेखि चोकचोकमा घुमुवामार्फत प्रहरी प्रमूखले अवैध रकम असुलेर कमाउधन्दामा लागेको चर्चा चल्छ ।

घुमुवामार्फत बाँकेमा असुलीधन्दा चलाइरहेको आरोप खेपेका यसअघिका प्रहरी प्रमूखहरुको सरुवासँगै असार १३ गते बाँकेको कमाण्ड सम्हाल्न आएका प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले घुमुवा प्रहरी हटाएको बताए । उनले अवैध रकम असुलेर कमाउधन्दा चलाउने घुमुवा नराख्ने उद्घोष गरेका एसपी अधिकारीले फेरि घुमुवा खटाएका छन् ।

सामान्यरूपमा बुझ्दा घुमुवा सादा पोशाकका प्रहरी हुन् । उनीहरुलाई गोप्य सूचना संकलन गरेर अपराध नियन्त्रण गर्ने उद्देश्यले राखिए पनि उनीहरु जिम्मेवारी छाडेर महिनावारी असुलीमा सक्रिय हुँदै आएका छन् । उनीहरु इञ्चार्जसमक्ष पैसा पुर्याउने विश्वासिलो माध्यम बन्थे । घुमुवा प्रहरी विशेषतः बाँकेमा बढी सक्रिय भएका छन् ।

नयाँ एसपी आएपछि पनि बाँके प्रहरीमा अनियमितता थप बढेको छ । जिल्लामा एसपी र डिएसपी दुवैले छुट्टाछुट्टै घुुमुवा परिचालन गरेर पैसा उठाइरहेका छन् । जिल्लामा आएलगत्तै घुमुवा हटाएको प्रचार गरेका एसपी अधिकारीले सुरुमा ११ जना घुमुवा हटाएका थिए । अहिले एसपी अधिकारीले उनीहरुलाई नै फेरि पैसा उठाउनका लागि खटाइएका छन् ।

डिएसपी मधुसुदन न्यौपानेले छुट्टै घुमुवा टोली परिचालन गरेका छन् । असइ विवेक अधिकारीलाई उनले पैसा उठाउन परिचालन गर्दै आएको स्रोत बताउँछ । बाँकेबाट हाल दाङमा सरुवा भएका सिडिओ रामबहादुर कुरुङवाङमा जिल्लामा अझै सेटिङ रहेको स्रोत बताउँछ । डिएसपी न्यौपानेमार्फत नै जिल्लामा उनले आफ्नो धन्दा चलाइरहेका छन् ।

कुरुङवाङको इप्रका टिकापुरमा सरुवा हुँदा डिएसपी न्यौपाने त्यहीका इन्चार्ज थिए । त्यही दुई जनाबीच दोस्ती बनेको स्रोत बताउँछ । जसकारण अहिले जिल्लामा एसपीभन्दा डिएसपी सेटिङमा शक्तिशाली बनेका छन् । एसपी अधिकारीले गुप्तचरबाट जागिर खाएका हुन् । उनी सरुवाअघि नै राजनीतिक नेतृत्वलाई पैसा बुझाएर बाँकेमा आएकाले उनले ठूलो संख्यामा घुमुवा खटाएको बताइन्छ ।

एसपीभन्दा डिएसपी एक कदम अघि बढेर असुलीमा लागेको पनि स्रोत बताउँछ । जिल्ला प्रहरी कार्यालयमा एसपीदेखि इन्सपेक्टरसम्मले सूचनाका लागि भन्दै आफ्ना नजिकका व्यक्तिलाई घुमुवाका रुपमा खटाउन थालेपछि बाँकेमा तस्करी मौलाउन थालेको छ । घुमुवाहरुको काम सूचना संकलन नभई रकम असुली र बार्गेनिङ्गमै बित्न थालेको छ ।

सीमा नाकाबाट हुने चोरी, तस्करी नियन्त्रणभन्दा असुलीमा उनीहरु केन्द्रीत हुन थालेका छन् । तस्करहरुसँग लाइन मिलाउँदै एसपी र डिएसपीले छुट्टाछुट्टै घुमुवा खटाएर उनीहरुमार्फत रकममा बार्गेनिङ्ग हुन थालेपछि बाँकेमा तस्करी मौलाउँदै गएको छ । एसपी र डिएसपीले घुमुवा खटाएपछि अहिले बाँकेमा तस्करहरु सक्रिय भएका छन् । (दृष्टि न्युजको सहयोगमा)

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार १०:५७