सूचनाको शक्ति - The Power Of Information

        

नेपाल राष्ट्र बैंक

कोरोना प्रभावित व्यवसायलाई माथि उठाउने गरी मौद्रिक नीति सार्वजनिक

मूल्यवृद्धि ६.५० प्रतिशतमा सीमित गर्ने लक्ष्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोभिडपीडित व्यवसायलाई राहत हुनेगरी मौद्रिक नीति सार्वजनिक गरेको छ ।

केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार कोभिड महामारीबाट प्रभावित अर्थतन्त्र र वित्तीय क्षेत्रलाई उत्थान गर्ने तथा कोभिड प्रभावितलाई राहत दिने गरी मौद्रिक नीति तय गरिएको बताए ।

नीतिमा कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको होटल, पर्यटन तथा हवाई क्षेत्रलाई विशेष चासोका साथ सम्बोधन गरिएको छ । कोरोनाका कारण नगद प्रवाहमा समस्या भएका क्षेत्रलाई समेत मौद्रिक नीतिले विशेष चासो दिएको छ।

यस्तै मौद्रिक नीतिले चालु आवमा मूल्यवृद्धि ६.५० प्रतिशतमा सीमित गर्ने लक्ष्य लिएको छ।

यस्तै, कोरोनाले समस्यामा पारेको सार्वजनिक यातायातको मर्मतसम्भारका लागि थप दुई लाखसम्मको ऋण दिने व्यवस्था गरिएको छ। स्थिर विनिमय दरको व्यवस्था, वित्तीय स्रोत परिचालनको दायरा फराकिलो बनाइएको छ भने ब्याजदर करिडोर, ब्याजदर स्थायित्व कामय हुने गरी व्यवस्थापन गरिएको छ ।

यस्तै, विप्रेषण बैंक तथा वित्तीय संस्थामा राखेको अवस्थामा थप ब्याज पाउने नयाँ व्यवस्था नीतिमा गरिएको छ । गभर्नर अधिकारीका अनुसार विप्रेषण रकम बैंकिङ प्रणालीमा राखिएको सन्दर्भमा हाल पाउने ब्याजदरमा थप एक प्रतिशत बढी पाउने व्यवस्था गरिएको छ।

महामारीबाट प्रभावित व्यापार व्यवसायलाई पुनरुत्थान गर्न ल्याइएको पुनर्कर्जाले चालु आर्थिक वर्ष २०७८।७९ मा समेत निरन्तरता पाएको छ ।

महामारीबाट प्रभावित उद्योग।व्यवसायलाइ शीघ्र पुनरुत्थान गर्न ल्याइएको पुनर्कर्जाको विद्यमान व्यवस्थालाई निरन्तरता दिइएको नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिमा उल्लेख छ ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार १९:५२