स्थानीय तहको अभ्यास सुरु भएसँगै गाउँगाउँमा स्वास्थ्य सेवामा सबैको पहुँच विस्तार भएको छ । स्थानीय सरकारले स्वास्थ्य सेवा नपुगेका क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यका साथ विभिन्न नमुना कार्यहरु गरेका छन् । स्वास्थ्यको अधिकार आफ्नो मातहतमा आएपछि स्थानीय सरकारले जनताको स्वास्थ्य सेवा पाउने अधिकारलाई सुनिश्चित गर्दै गाउँमै प्रसुती गृह र स्वास्थ्य केन्द्र स्थापना भएका छन् । प्रसुती गृहको स्थापना भएसँगै गर्भवती महिलाहरुले नियमित गराउनुपर्ने स्वास्थ्य जाँच पनि प्रभावकारी भएको र स्वास्थ्य संस्थामै गई बच्चा जन्माउने महिलाहरुको संख्यामा पनि वृद्धि हुँदै गएको छ ।
प्रसुती गृह सञ्चालन हुँदा घरमा सुत्केरी हुने महिलाहरुको संख्यामा कमी भएको र प्रसुती गृह वा स्वास्थ्य चौकीमा २४ सै घण्टा सेवा तथा उचित सुविधाहरु उपलब्ध हुने कारण पनि महिलाहरु यसतर्फ आकर्षित भएका छन् । जानकी गाउँपालिकामा तीन वटा प्रसुती गृह सञ्चालनमा छन् । गाउँपालिकाको वडा नं. १, २ र ६ मा रहेका तीन वटा प्रसुती गृह सञ्चालनमा छन् । जानकी गाउँपालिकाको आर्थिक बर्ष २०७७÷०७८ को अर्धबार्षिक प्रगति विवरण अनुसार कुल ४७ हजार ३५५ जनसंख्यालाई आधार मानेर एक बर्षमूनिको जनसंख्या ९५२, पाँच बर्षमूनिको जनसंख्या पाँच हजार २५२, यस बर्षको अनुमानित जिवित जन्म संख्या ९८० लक्ष्य रहेको छ ।
त्यस्तै १५–४९ बर्षका विवाहित महिलाको जनसंख्या नौं हजार ११९ र यस बर्षको अनुमानित गर्भवती संख्या एक हजार १५६ लक्ष्य रहेको छ । पालिकाभर ३५ वटा खोप क्लिनिक र १८ वटा गाउँघर क्लिनिक रहेका छन् भने जानकीमा ८१ जना महिला स्वास्थ्य संवयंसेविका रहेका छन् । यसले विगतमा सामान्य स्वास्थ्य सेवा लिन नेपालगन्ज नै पुग्नुपर्ने बाध्यता पनि हटेको र जनताले छिटो स्वास्थ्य लाभ लिन सकेका छन् । सबै स्थानीय तहमा सरुवा रोगको महामारीलाई तत्काल नियन्त्रण गरी मानवीय क्षति न्यूनीकरण गर्न, स्वास्थ्य क्षेत्रमा आउने खतराहरुलाई तत्काल रोक्न तथा विपत व्यवस्थापनका लागि आवश्यक औषधीको व्यवस्था गरिएको छ ।
खोप कार्यक्रमतर्फ बिसिजी कभरेज ७० प्रतिशत, डीपीटी, हेपाटाइटिस बी, हिब ३ कभरेज ५४ प्रतिशत, ओपीभी ३ कभरेज ५४ प्रतिशत, पीसीभी ३ कभरेज ६१ प्रतिशत, एफआइपीभी १ कभरेज ५३ प्रतिशत, जेई कभरेज ६० प्रतिशत, दादुरा रुबेला २ कभरेज ६२ प्रतिशत, टीडी २ र २ प्लस कभरेज ५६ प्रतिशत र पूर्ण खोप कभरेज ६२ प्रतिशत रहेको छ । त्यस्तै डीपीटी–हेप बी १–दादुरा रुवेला दोस्रोबीचको ड्रपआउट दर ३ प्रतिशत र बीसीजी खोप र दादुरा रुवेला पहिलो खोप पहिलोबीचको ड्रपआउट दर १३ प्रतिशत रहेको रहेको छ ।
जानकी गाउँपालिकाको पोषण कार्यक्रमतर्फ कम जन्म तौल भएका नवजात शिशु ५.४ प्रतिशत, नयाँ तौल लिएका एक वर्षमूनिका शिशु ७२ प्रतिशत, नयाँ तौल लिएका १२ देखि २३ महिनाका शिशु ६२ प्रतिशत जन्मेको ६ महिनासम्म स्तनपान गराएको बच्चा ६७ प्रतिशत, गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिला ४२ प्रतिशत, सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिला ५२ प्रतिशत, नयाँ तौल लिएका दुई वर्षमूनिका शिशुहरुमध्ये अतिजोखिम अवस्थाका बालवालिका ०.५ प्रतिशत, वृदि अनुगमनमा दुई वर्षमूनिका शिशुहरुको औषत भेट २.३ प्रतिशत, ३ साइकल (१८० पिस) बालभिटा पाउने ६ देखि २३ महिनाको बालकालिका शुन्य प्रतिशत र पहिलो चरणमा भिटामिन ए को आम वितरणको कभरेज ८८.२ प्रतिशत रहेको छ ।
त्यस्तै समुदायमा आधारित एकीकृत बालरोग व्यवस्थापन कार्यक्रमतर्फ जन्मने बित्तिक्कै नाभी मलम लगाएका नवजात शिशु १०० प्रतिशत, दुई महिनामूनिका शिशुमध्ये ब्याक्टेरियाको गम्भीर संक्रमण भएका शिशु ९.१ प्रतिशत, ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएका १०० प्रतिशत, श्वासप्रश्वास बिरामी दर प्रतिहजारमा पाँच वर्षमूनिका बालबालिका १०८ जना, निमोनिया बिरामीको दर प्रतिहजार पाँच वर्षमूनिका बालबालिका १९ जना, निमोनिया तथा कडा निमोनिया भएका बच्चामध्ये एन्टीवायोटिकवाट उपचार गर्ने १०० प्रतिशत, झाडापखालाका बिरामी दर प्रतिहजार पाँच वर्षमूनिका बालबालिका ७३ जना, पाँच वर्षमूनिका झाडापखालाका बिरामीमध्ये जिङ्क र पुनर्जलीय झोलबाट उपचार पाएका १०० प्रतिशत र २–५९ महिना बालबालिकाको जम्मा मृत्यु शुन्य रहेको अर्धबार्षिक तथ्यांक छ ।
त्यसैगरी अर्धबार्षिक तथ्यांक अनुसार सुरक्षित मातृत्व कार्यक्रमतर्फ प्रोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिला ४५ प्रतिशत, प्रोटोकल अनुसार चार पटक गर्भवती जाँच गराउने गर्भवती महिला ४४ प्रतिशत, संस्थागत प्रसुति दर ३६ प्रतिशत, दक्ष प्रसुतिकर्मीद्वारा प्रसुति भएको दर २६ प्रतिशत, प्रोटोकल अनुसार तीन पटक सुत्केरी जाँच गराउने आमा ४६ प्रतिशत, आकस्मिक जटिलतायुक्त अवस्थाको व्यवस्थापन भएको शुन्य प्रतिशत, संस्थागत सुत्केरीमध्ये आमा सुरक्षा प्रोत्साहन भत्ता लिने १०० प्रतिशत, संस्थागत सुत्केरीमध्ये चारपटक गर्भ जाँच गराएबापतको प्रोत्साहन लिने १०० प्रतिशत, जम्मा मातृ मृत्यु ४ जना, जम्मा नवजात मृत्यु १ जना र जम्मा मृत जन्म २ जना रहेको छ ।
स्वास्थ्य शाखाको अर्धबार्षिक तथ्यांक अनुसार परिवार नियोजन कार्यक्रमतर्फ आयुसिडिका नयाँ प्रयोगकर्ता १ जना, इम्पलान्टका नयाँ प्रयोगकर्ता ६० जना, पुस महिनासम्म कण्डम प्रयोगकर्ता २१६ जना, पिल्सका प्रयोगकर्ता ३६८ जना, डिपोका प्रयोगकर्ता ६०० जना, आयुसिडिका प्रयोगकर्ता ११६ हाल प्रयोगकर्ता शुन्य रहेको र ३२ हजार ४४५ जनालाई कण्डम वितरण गरिएको छ । मातृ तथा नवशिशु स्याहार अन्तरगत स्वास्थ्य शाखाले प्रोटोकलअनुसार गर्भ जाँच गराउने आमालाई प्रत्येक पटकको जाँचमा आयोजन र साबुन प्रोत्साहनस्वरुप दिने ब्यवस्था मिलाएको छ भने प्रोटोकलअनुसार पीएनसी जाँच पुरा गराउन नर्ससहित स्वास्थ्यकर्मीलाई घरघरमै परिचालन गर्दै आएको छ ।
उक्त कार्यका लागि परिचालित नर्सलाई खाजास्वरुप प्रतिजाँच रु २०० को ब्यवस्था गरिएको छ । नियमित गर्भ जाँच भए नभएको एकीन गर्न सम्बन्धीत स्वास्थ्य संस्था प्रमुखले अनुगमन गर्ने ब्यवस्था गरिएको यस कार्यका लागि अनुगमन खर्चको समेत ब्यवस्था गरिएको छ । साथै गाउँपालिकाले प्रसुति गृह सञ्चालनमा रहेका भवनहरुको निर्माण, मर्मत तथा रंगरोगन कार्यसमेत गर्दै आएको छ । गाउँपालिकाले आधारभूत स्वास्थ्य इकाइबाट पाइने सेवा सुविधासमेत बढाउँदै लिएको छ । विगतमा उपचारका लागि नेपालगन्ज नै धाउनुपर्ने अवस्था थियो, त्यसले आवतजावतमा खर्च पनि धेरै लाग्थ्यो । अहिले भने त्यस्तो अवस्था छैन, केही विरामी पर्यो की गाउँकै स्वास्थ्य संस्थामा पुग्छन् । सामान्य उपचारका लागि नेपालगन्ज पुग्नुपर्ने अवस्थाको अन्त्य भएको छ भने सबैको स्वास्थ्यमा पहुँच पुगेको छ ।
।