काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक शुक्रबार पनि बस्दैछ।
बिहान ११ बजे प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बस्ने बैठक १४औं महाधिवेशनका विषयमा केन्द्रित रहनेछ।
यसअघि बिहीबारको बैठकमा उपसभापति विमलेन्द्र निधिले समायोजन, महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन निर्देशिका र रमेश लेखकले क्रियाशील सदस्यता छानविन प्रतिवेदन छलफलका लागि पेश गरेका थिए।
बैठकमा समितिका अन्य सदस्य आनन्दप्रसाद ढुङ्गाना, जीवन परियार, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरीले आफ्नो धारणा व्यक्त गरेको केन्द्रीय सदस्य परियारले जानकारी दिएका थिए।
समितिले यही साउन १२ गते पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा केही विवाद बाँकी सहितको क्रियाशील सदस्यतासम्बन्धी प्रतिवेदन बुझाएको थियो ।
प्रतिवेदनअनुसार १४औँ महाधिवेशनका लागि पार्टीको क्रियाशील सदस्यता सङ्ख्या आठ लाख ५२ हजार ७११ पुगेको छ । पहिलो दिनको बैठकमा पाँच जना केन्द्रीय सदस्यले बोलेका छन्।
हिजोको बैठकमा भदौ १६ देखि १९ सम्म तय भएको १४औं महाधिवेशनका लागि परिमार्जित नयाँ कार्यतालिकाको प्रस्ताव पेश हुने भनिएको थियो।
यद्यपि, बैठकमा नयाँ कार्यतालिकाको प्रस्ताव पेश नभएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
।