काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी आज नागको पूजा अर्चना गरी मनाइँदै छ । परम्पराअनुसार घरका मूलढोकामा नागको तस्बिर टाँसेर पूजा गर्ने प्रचलन छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिने, साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।
नाग पूजाको प्रचलन वैदिककालदेखि नै सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नाग पूजाका लागि प्रसिद्ध मानिन्छ ।
प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाइ गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आइएको हो । नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शैय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रुपमा मान्ने गरिएको हो ।
आज काठमाडौको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशभरका नागदह, कुण्ड, र नाग स्थानमा विशेषरूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटी लगायतका परिकार प्रसाद चढाउने गरिन्छ । यद्यपी यस वर्ष पनि कोभिड महामारीको उच्च जोखिम रहेकोले देशभरका नागदह, कुण्ड, र नाग स्थानमा विशेषरूपमा हुने पूजाआजा भने प्रभावित भएको छ ।
पोखराका सर्प उद्वार कर्मीहरुबाट उद्वार गरिएको सेती नाग । आज नाग पञ्चमीको अवसरमा घरका ढोकामाथि नागको पोस्टर टाँसेर हिन्दु परम्परा अनुसार नागको पूजा आराधना गरिन्छ । तस्वीर : रासस
नाग पञ्चमीसुरु भएसँगै अब बिस्तारै बर्षा ओरालो लाग्दैछ, चाडवाडहरुको मौसम शुरु भइसक्यो र अब लाग्ने चर्को घाममा दशैंको आभाष पाइन्छ । चाडपर्वहरुलाई धर्मसंग मात्र नजोडेर संस्कारसंग जोड्ने हो भने हाम्रो संस्कारलाई नाग पञ्चमीजस्ता चाडपर्वहरुले अझै धनी बनाएका छन्, आजको दिन सरिसृप अर्थात घस्रेर जमिनमा हिड्ने जनावरहरुको पूजा अर्चना गरिने दिन हो ।
श्रावण शुक्लपक्षको पञ्चमीमा पर्ने यो दिन नागदेवताकालागि समर्पित गरिएको यस दिन गरिएका पूजा अर्चना वास्तवमै नाग देवता समक्ष पुग्ने जनविश्वास रहेको छ, बैधिक दर्शनमा १२ वटा नागहरुको उपस्थिती पाइन्छ जसमा अनन्त, वासुकी, शेष, पद्यम्, कम्बला, कारकोटाका, अश्भतरा, ध्रितराष्ट्र, शङ्कपला, कालिया, तक्शका र पिङ्गला पर्दछन् र यी सम्पूर्णको लागी आजकै दिन पूजा अर्चना गरिन्छ ।
यिनै नागहरु अकिंत चित्र र डोराहरु लिएर ब्राह्मण पुरोहितहरु आ–आफ्नो जजमानको घरमा दैलोमा गाइको गोबर, दूबो र डोरो लिएर नाग टाँस्न पुग्दछन् । यसरी दैलो या मूल खाम्बोमा टाँसिएको नागको चित्रले वर्षभरि रक्षा गर्ने जनविश्वास छ, रक्षार्थ टाँसिने यस्ता चित्रहरु ल्याउने र टाँस्ने पुरोहितहरुलाई जजमानले गक्ष अनुसारको दक्षिणा, नैबेद्य र भोजन पनि गराउने चलन छ ।
नाग पञ्चमीको वास्तविक एतिहासिक जरो महाभारतसंग जोडिएको पाइन्छ । परिक्षीत नाम गरेका राजालाई तक्शका नाम गरेको नागले डँस्छ र उनको मृत्यु हुन्छ । उनका छोरा जन्मजयले बुवाको मृत्युको प्रतिशोधकालागि संसारका सम्पूर्ण सर्पहरुलाई मार्ने क्रम कार्य प्रारम्भ गरे र यसकालागि उनले महायज्ञ शुरु गर्दछन जसमा सिद्द ऋृषिमुनी, साधू र पण्डितहरुलाई आमन्त्रण गरे ।
उक्त यज्ञको हवन कूण्डमा यति शक्तिशाली आगो प्रज्वलित हुन्छ कि तक्शका बाहेकका अन्य सम्पूर्ण सर्पहरु त्यहिं भष्म हुन्छन् तर स्वर्गमा इन्द्रको शरणमा पुगेका तक्श पनि बिस्तारै यज्ञको बढ्दो प्रभावका कारण राजा इन्द्रसहित जन्मजयसम्म आइपुग्दछन्, यो देखेर सबै छक्क परे । तत्कालै मानसदेवीका पुत्र अस्तिकाले जन्मजयसमक्ष माफिको माग गरेपछि उनले यज्ञ स्थगन गरेका हुन् । यज्ञमा होमिएका सम्पूर्ण सर्पहरुले त्यसपश्चात् आजैको दिन पुर्नजीवन पाएका हुन् ।
यस दिन नागदेवताको पूजा अर्चनाकालागि दुध, मिठाई, फूल अनि धान भुटेर तयार भएको लाभा (अर्थात् भुटेर फूल उठेको धान) चढाइन्छ । सामान्यतया अगाडी सर्पनै राखेर पूजागर्न डरलाग्दो र जोखिमयूक्त हुने भएकाले नाग देवताको प्रतिमा, काठ या चित्रमा आजको दिन पूजा गरिन्छ ।
।