सूचनाको शक्ति - The Power Of Information

        

मान्छे आक्रमण गर्ने भालुलाई गोली हानेर मारियो

जुम्ला । बजार पसेर मानिसलाई आक्रमण गर्ने भालुलाई गोली हानी मारिएको छ । बजार पसेको भालुलाई नियन्त्रणमा लिन नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, डिभिजन वन कार्यालयको टोलीले प्रयास गरेको थियो ।

नियन्त्रणमा लिन नसकिएपछि गोली हानेर मारिएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले जानकारी दिइन् । जुम्लाको सदरमुकाम खलंगा बजारमा बिहीबार बिहान भालुले आक्रमण गर्दा चन्दननाथ नगरपालिका–५ कार्कीवाडाका हिमराज रोकाया र उनकी पत्नी निर्मला घाइते भएका छन् । बिहान ४ बजे धारामा नुहाउन जाँदा उनीहरुलाई भालुले आक्रमण गरेको हो ।

यस्तै, साढे ९ बजे चन्दननाथ–४ का २५ वर्षीय आशीष सार्कीलाई पनि आक्रमण गरी घाइते बनाएको छ । घाइतेको कर्णाली स्वास्थ्य विज्ञान शिक्षण अस्पतालमा उपचार भैरहेको छ । डिभिजन वन कार्यालय जुम्लाका प्रमुख दिनेशजंग खत्रीका अनुसार भालुलाई जंगलतिर लखेट्न खोज्दा बजार पसेर आतंक मच्चाएको बताए । भालु हिंस्रक प्रकारको रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार ०८:३३