काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेभित्र विवाद समाधानको साटो आ–आफ्नो बाटो लाग्ने तरखर नेताहरूले थालेका छन् । एमाले माधव पक्षका सांसद एवं नेता मेटमणि चौधरीले केही दिनभित्रै नयाँ पार्टी बनाउने उद्घोष गरेका छन् । चौधरीले नयाँ बन्ने पार्टीमा कम्युनिस्ट र एकीकृत शब्द पर्ने पनि बताए ।
नेता चौधरीले भने, ‘पार्टी गठनको छलफल जारी छ । तर हामी कम्युनिस्ट पार्टी नै राख्छौं । शब्द यताउता हुनसक्छ, कम्युनिस्ट र एकीकृत दुइटा शब्द छुट्दैन ।’ चौधरीले सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई अलगअलग बस भनेलगत्तै एमाले अध्यक्ष केपी ओलीले व्यावहारिकरुपमा पार्टी विभाजन गरिसकेको आरोप लगाए ।
उनले थपे, ‘ओलीसँग थुप्रै असहमति भए पनि हामीले एक ठाउँमा रहनका लागि पहल, प्रयत्न र प्रयास नगरेका होइनौं । तर ओलीले विभाजनको कमिटमेन्ट गरिसकेका रहेछन् । त्यसैले २०७५ जेठ २ मा फर्कों भन्दा पनि मानेनन् । अब एमालेलाई सग्लो राख्न सम्भव भएन । एकताको कुनै सम्भावना देखिँदैन ।’
ओलीको टांगमुनि छिर्ने कि नयाँ पार्टी बनाउने भन्ने छनोट गर्न आफ्नो समूह बाध्यता भएको उनले बताए । ‘हामी पनि राजनीतिक प्राणी हौं, पार्टी त हामीले पनि बनाउनैपर्छ । सबै कम्युनिस्ट घटकलाई एकीकृत गर्दै अघि बढ्छौं,’ उनले भने । नयाँ पार्टीमा ३८ जनाको सांसद र ८०–८५ केन्द्रीय सदस्य रहने पनि उनले दाबी गरे ।
साथै भीम रावल, गोकर्ण विष्ट, सु्ुरेन्द्र पाण्डे आदि नेता पनि ओलीतिर नजाने ठोकुवा गरे । उनले भने, ‘त्यसो भएको भए त ओलीले बोलाएको केन्द्रीय समितिको बैठकमा उहाँहरु गइहाल्नुहुन्थ्यो नि । ओली को हुन्, किन मिलिरहेका छैनन्, सिनियर कमरेडहरुले बुझ्नुभएको छ । कुनै पनि हालतमा उहाँहरु ओलीतिर जानुहुन्न । लेखेर राख्नुस् । यो माधव नेपाललाई छाड्ने नछाड्ने भन्दा पनि न्याय, विधि र पद्धतिको पक्षमा भएको लडाइँ हो । तर हरेक परिघटनामा केही छुट्छन्, केही थपिन्छन् । यो सत्य हो ।’
ओली अध्यक्ष भएका बेला टिकट बाँडेको र समानुपातिक सूचीमा आफ्ना गुट र नातागोतालाई राखेकाले ४० प्रतिशत पुर्याउन कठिन भएको पनि नेता चौधरीले बताए । उनले थपे, ‘ओली ठीक छैनन् भन्ने थाहा हुँदाहुँदै पनि, ओलीले जति गल्ती गरे पनि कमरेडहरुले विद्रोह गर्न सकिरहेका छैनन् । पार्टी विभाजन एउटा बिन्दुमा पुगेको दिन २४, २५ सांसदले हामीलाई साथ दिन्छन् ।’ नयाँ दल बनाएर मात्र सरकारमा सहभागी हुने चौधरीले बताए । उनले भने, ‘अब हप्तादिनभित्रै छिनोफानो हुन्छ । हामी नयाँ दल बनाएर सरकारमा जान्छौं ।’
।