सूचनाको शक्ति - The Power Of Information

        

गठबन्धनलाई साथ दिएको भन्दै २ सांसदलाई कारवाही गर्ने तयारीमा एमाले

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलाई साथ दिएको भन्दै नेकपा एमालेले दुई जना सांसदलाई कारवाही गर्ने भएको छ ।

तत्कालिन नेकपाबाट चुनाव जितेकी तथा हाल माओवादीमा रहेको भनिएकी विमला खत्री (ओली) र सूर्य चिन्हबाट चुनाव जितेका अजय शाहीलाई कारबाही गर्ने प्रक्रिया एमालेले थालेको हो ।

दाङ क्षेत्र नम्बर ३ ‘ख’बाट निर्वाचित ओली र नलपरासी पश्चिम ‘ख’बाट निर्वाचित शाहीले केसीलाई समर्थन गरेको भन्दै कारबाही गर्न थालिएको हो।

एमालेबाट निर्वाचित भएपनि पार्टी निर्णय विपरित विपक्षी गठबन्धनलाई सघाएको भन्दै कारबाही गर्न थालिएको सचेतक भूमीश्वर ढकालले बताए।

‘विमलाजीलाई कारबाही गर्ने निर्णय भइसकेको छ। अजयजीलाई कारबाही गर्ने विषय अन्तिम चरणमा पुगेको छ। त्यसका विषयमा छानबिन भइरहेको छ’ ढकालले भने।

शाही एमालेको सूर्य चिन्ह लिएर निर्वाचित भएका थिए। तर, ओली तत्कालीन नेकपाबाट सूर्य चिन्ह लिएर उपनिर्वाचनबाट निर्वाचित भएका हुन्।

ओली र शाही दुवैले हस्ताक्षर गरेर केसीलाई मुख्यमन्त्रीमा समर्थन जनाउँदै हस्ताक्षर गरेका छन्। दुवै जना लुम्बिनी प्रदेशको नवगठित सरकारमा मन्त्री समेत बनेका छन् ।

विनाविभागीय मन्त्रीको रुपमा उनीहरुले हिजै शपथ लिइसकेका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार ०७:५८