बाँके । डुडुवा गाउँपालिका सामुदायीक बनको धनी पालिकामध्येमा पर्छ । पालिकाभित्र पनि वडा नम्बर ५ अन्य वडाभन्दा सबैभन्दा सामुदायीक बन भएको वडा हो । गाउँपालिकामा रहेका ६ वटा वडाहरुमध्ये वन तथा प्रकृतिले भरिएको एकमात्र वडाका रुपमा वडा नम्बर ५ रहेको छ । यहाँ खोलानाला, बनजंगल र प्रकृतिका रमणीय दृष्यहरु देख्न पाइन्छ ।
यस वडामा प्रकृतिले नै दिएर होला, प्राकृतिक श्रोतले भरिपूर्ण छ । राप्ती नदी, डुडुवा खोला लगायतका अन्य स–साना खोलाहरु यस वडामा प्रशस्तै देख्न सकिन्छ । विश्व परिवेशलाई अहिलेसम्म वनजंगलले नै बचाइराखेको छ । मानिसलाई नभई नहुने अक्सिजन पनि बोटबिरुवाबाट पाइन्छ । डुडुवाको यस वडामा वनजंगल हुनु पनि वरिपरिसँगै जिल्लाबासीलाई खुशीको कुरा पनि हो ।
बाँके जिल्लामा बनजंगल भरिएको वडा कम छन् । त्यसमध्ये एक यो वडा पनि हो । यस वडामा मात्रै ८ वडा सामुदायीक बन रहेका छन् । जिल्लाको अन्य कुनै वडामा यतिधेरै संख्यामा बन छैनन् । त्यसैले पनि जिल्लामै फरक बिशेषता भएको वडाका रुपमा पनि यस वडालाई लिन सकिन्छ । वन भएकाले नै यहाँका स्थानीयले परिपुरकका रुपमा रहेका आवश्यकता समेत पूर्ति गरिरहेको छ ।
बनजंगल मानिसलाई चाहिने र मानिसको स्वासको माध्यमबाट निस्कने कार्वनडाइअक्साइड बनलाई चाहिने भएकाले मानिसले यसको सजिलै उपभोग गर्न पाएका छन् । सामुदायीक बनबाट स्थानीयले काठ दाउराका रुपमा प्रयोग सजिलै पाइरहेका छन् । जुन कुरा अन्य वडा र अन्य पालिकाका व्यक्तिलाई भने प्रयोग गर्न पाउनु गाह्रो कुरा हो । तर यहाँ सजिलै यसको उपयोग गर्न पाइने अवस्था छ ।
बनैबनले यहाँका नागरिकसँगको नातालाई अझ प्रगाढ बनाएको छ । यहाँ गोकुल सामुदायीक बन, वभनपूर्वा सामुदायीक बन, पशुपति सामुदायीक बन, छग्रहवा सामुदायीक बन, बाबुकुवा सामुदायीक बन, समाज एकता सामुदायीक बन, सिता महिला सामुदायीक बन र पूर्णीमा सामुदायीक बन रहेका छन् । बनले नै यस वडाको धेरैजसो क्षेत्रफल ओगटेको पाइन्छ ।
पछिल्लो समय बनलाई जोगाउन र बनबिनासलाई नियन्त्रण गर्न वैज्ञानिक बन व्यवस्थापन लागु गरिएको छ । आठ वटै सामुदायीक बनमध्ये बाबुकुवा सामुदायीक वनमा बैज्ञानिक बन व्यवस्थापन लागु गरिएको वडा नं ५ का वडाध्यक्ष प्रशुराम बुढाथोकीले जानकारी दिए । वैज्ञानिक व्यवस्थापन अन्तरगत बन जोगाउन र बनको अवस्थालाई जस्ताको तस्तै राख्न बिभिन्न कार्यहरु गरिन्छ ।
जस अन्तरगत सुकेका, ढलापडा रुख काट्नेसँगै ढाई तीन मिटरको फरकमा अर्को रुख लगाउने गरिन्छ । सुकेका रुख काँटछाँट गरिन्छ र नयाँ रुख लगाइन्छ । यसले बनजंगलको संरक्षणमा टेवा पुगेको वडाध्यक्ष बुढाथोकीले बताए । यस्तै यहाँ भएका सामुदायीक बन उपभोक्ता समूहको अध्यक्षमा कतिपय महिलाको नेतृत्व रहेको देख्न पाइन्छ ।
कमै मात्र सामुदायीक बनको नेतृत्वमा महिला पुग्नेमध्ये यहाँका बन पनि एक हुन् । यहाँ रहेको सामुदायीक बनमध्ये सिता माहिला सामुदायीक बनमा महिलाको सहभागिता उल्लेख्य मात्रामा रहेको छ । यस्तै पूर्णीमा सामुदायीक बन उपभोक्ता समितिको नेतृत्वमा महिला छन् भने समाज एकता सामुदायीक बन उपभोक्ता समितिको अध्यक्षबाहेक पदाधिकारी र सदस्यहरु पनि महिला नै छन् ।
यहाँका बनबाट करिब २ हजार उपभोक्ताले सेवा सुबिधा पाउनुका साथै संरक्षणमा लागेका छन् । यहाँ २०५१ सालदेखि बन जोगाउन सामुदायीक वन उपभोक्ता समिति निर्माण गरेर संरक्षणका काम भएका छन् । २०४९ सालदेखि बन जोगाउने अवधारणाअनुरुप नै यहाँ बन संरक्षणको कार्य गरिरहेका छन् । सामुदायीक बनले यहाँको वातावरण पनि अन्यको भन्दा फरक देख्न पाइन्छ ।
।