सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

नेकपा एमाले स्कुल विभागले १४ विषयमा नियमित कक्षा सञ्चालन गर्ने

लोकतान्त्रिक आन्दोलनलाई मार्गदर्शन गर्ने

काठमाडौँ । नेकपा (एमाले) स्कुल विभागले नियमित कक्षा सञ्चालन गर्ने भएको छ ।

पार्टी अध्यक्ष तथा स्कुल  विभाग प्रमुख केपी शर्मा ओलीको अध्यक्षतामा हिजाे भक्तपुरमा बसेको बैठकले पार्टीका नेता तथा कार्यकर्तालाई १४ विषयमा नियमित कक्षा सञ्चालन गर्ने निर्णय गरेकाे हाे ।

विभागका सचिव ईश्वरी रिजालले भदौ १५ गतेदेखि केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी, जनवर्गीय सङ्गठन, सांसदलाई नियमित कक्षा सञ्चालन गर्ने जानकारी दिनुभयो ।

बैठकमा पार्टी अध्यक्ष ओलीले नेपालमा आजको मार्क्सवाद भनेकै जबज रहेको बताउनुभयो । उहाँले जबजमा नै राजनीतिक मार्गदर्शन मात्र नभइ जनताको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सुनिश्चित गर्ने मार्गदर्शनसमेत स्पष्ट रहेको बताउनुभयो ।

अध्यक्ष ओलीले जबजले नेपाली कम्युनिस्ट आन्दोलनलाई मात्र होइन सिङ्गो देशको लोकतान्त्रिक आन्दोलनलाई मार्गदर्शन गर्नेसमेत बताउनुभयो ।

विभागका सचिव रिजालले प्रशिक्षण पाठ्यक्रमलाई विभागका सबै सदस्यले अध्ययन गरी तीन दिनभित्र आफ्ना सुझाव प्रस्तुत गर्ने र प्राप्त सुझावका आधारमा रामबहादुर थापा, शङ्कर पोखरेल, प्रदीप ज्ञवाली र रिजालले त्यस पाठ्यक्रमलाई परिस्कृत गर्ने निर्णयसमेत गरेको जानकारी दिनुभयो ।

साथै बैठकले स्कुल विभागका सदस्य एवं विज्ञ प्रशिक्षकको विषयगत सूची तयार पार्न बैठकले विभागका सचिव रिजाल र सदस्य घनश्याम कोइरालालाई जिम्मेवारी प्रदान गरेको छ ।

समसामयिक पार्टी दृष्टिकोण, पार्टी एकता र असफलता कारण, एमालेको पुनःस्थापना अन्तरविरोध र भविष्य, मार्क्सवादी दर्शन र आर्थिक सामाजिक रुपान्तरण, जनताको बहुदलीय जनवाद (जबज)काे विषयमा कक्षा सञ्चालन गरिने छ ।

यस्तै सङ्गठन निर्माण र परिचालन, सरकार र पार्टीबीचको अन्तरसम्बन्ध, केपी ओली नेतृत्वका सरकारको नीति, काम र उपलब्धि, आर्थिक वर्ष २०७८/२०७९ नीति कार्यक्रम र बजेट, सूचना र सञ्चार, नेपाली समाज परिचय, सांस्कृतिक रुपान्तरण आउँदाे निर्वाचन र विजयका आधार विषयमा नियमित कक्षा सञ्चालन गरिने भएकाे छ ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार ०९:००