सूचनाको शक्ति - The Power Of Information

        

सडकमा मास्क बाँड्दै बझाङका सिडिओ र जनपाका मेयर

बझाङ । बझाङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) मोहन अधिकारी र जयपृथ्वी नगरपालिकाका मेयर विरेन्द्र बहादुर खड्का मास्क लगाउन अनुरोध गर्दै र माक्स बाड्ँदै सडकमा निस्किनु भएको छ ।

कोरोना भाइरसको तेस्रो भरियन्टबाट बच्न र बचाउन अपिल गर्दै मास्क लिएर सदरमुकाम चैनपुरको सडकमा निस्किनुभएको हो ।

उहाँ संगैै जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्का, शसस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बझाङका मन्त्रि ईश्वरनाथ जोशी लगायत सुरक्षाकर्मीको टोली सडकमा निस्किएको थियो ।

सदरमुकाम चैनपुरको सडकमा मास्क नलगाएका सबैलाई मास्क प्रदान गर्नुका साथै कोरोना भाइरसको तेस्रो भेरयन्ट भित्रिन नदिनको लागि उच्च सावधानी अपनाउनको लागि माइकिङ मार्फत अनुरोध पनि गरिएको थियो ।

मास्क दिदै प्रमुख जिल्ला अधिकारी अधिकारीले भन्नुभयो,‘नियमित मास्कको प्रयोग गर्नुहोला । आफु बचेर बालबालिका, गर्भवती महिला र जेष्ठ नागरिकलाई बचाउनु होला । यो भेरियन्ट निकै खतरानाक छ । अतिआवश्यक काम परेमा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्नुहोला ।’

कोभिड १९ संकट व्यवस्थापन समितिको संयोजक समेत रहनु भएको प्रमुख जिल्ला अधिकारी अधिकारीले यो भेरियन्टले बालबालिका, गर्भवती महिला र जेष्ठनागरिकहरु प्रभावित भएकोले नियमित बालबालिका, गर्भवती महिला र जेष्ठनागरिकहरुको रेखदेख, सरसफाई र खानपानको नियमित निगरानी गर्न सुझाव दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय बझाङदेखि सुरु भएको मास्क बाँड्ने काम शान्तिमार्ग रोड, खुल्लामञ्च रोड, वडा प्रहरी कार्यालय विट जिल्ला प्रशासन कार्यालय बझाङ नजिकै लोकतान्त्रिक चोकमा पुगेर सकिएको थियो ।

जयपृथ्वी नगरपालिकाका मेयर विरेन्द्र बहादुर खड्काले कोरोना भाइरसको तेस्रो भेरियन्ट लाग्न नदिनको लागि उच्च सावधानी अपनाउन नगरबासीलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कोरोना भाइरस एक जनाका व्यक्तिको समस्या होइन । सामूहिक समस्या हो । यो समस्या निराकरण गर्न सामूहिक एकता र प्रतिबद्धताको खाँचो छ । सबै मिली कोरोना भाइरस भगाऔँ, बालबालिका, गर्भवती महिला र जेष्ठनागरिकहरु जोगाऔँ ।’

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले कोरोना संक्रमण रोक्न सबैको हातेमालो आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले भन्नुभयोे,‘कोरोना भाइरसका बारेमा सबै सचेत हुनुपर्छ । सचेतना फैलाउनु पर्छ ।

कोरोना भाइरसबाट हुन सक्ने क्षति कम गर्न स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्नुपर्छ ।’ आफुहरुले जिल्ला प्रहरी कार्यालय बझाङ बाट कोरोना संक्रमणबाट बच्न बचाउनको लागि समुदाय स्तरमा र मिडिया मार्फत सचेतनाका क्रियाकलाप गर्दै आएको बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बझाङका मन्त्रि ईश्वरनाथ जोशीले हरेक नागरिकले मास्क अनिवार्य लगाउनु पर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,‘यो एउटा प्रशासन र नगरपालिकाको मात्र समस्या होइन ।

सामुहिक समस्या हो । सबै मिलेर अघि बढ्नुपर्छ । कोरोना भाइरस बारेमा सचेतना फैलाउन नागरिक आफैबाट पनि तयार रहनुपर्छ ।’जोशीले बझाङमा मास्क नलगाउने,सामाजिक तथा व्यक्तिगत दुरी कायम नगर्ने परिपार्टीको विकास भइरहेको बताउँदै स्वास्थ्य सुरक्षाको मापदण्ड कार्यन्वयनमा कडाइ गर्नुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ बझाङ शाखा, नेपाल फोटो पत्रकार महासंघ बझाङ शाखा लगायत नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बझाङले कोरोनाबाट बच्न मास्क अभियानलाई एक्यबद्धता जनाएका छन् ।

प्रमुख जिल्ला अधिकारी अधिकारीले उद्योग बाणिज्य संघलाई तत्काल सामाजिक दुरी कायम गरेर मात्र व्यापार व्यवसाय संचालन गर्ने बातावरण सिर्जना गर्न आग्रह गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी र मेयरले मास्क लगाउन अनुरोध गर्दै सडकमा निस्कदा दंग परेका स्थानीयहरुले नियमित मास्कको प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन ।

सडकमा निस्केका व्यक्ति देखि सडक सवारीमा यात्रा गरिरहेका यात्रु, चालक, व्यापार व्यवसायी सबैलाई मास्क दिइएको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार ०८:२७