सूचनाको शक्ति - The Power Of Information

        

काेराेना संक्रमितलाई नसा र स्नायुको समस्या, पक्षघात नै हुनसक्ने

काठमाडौं ।  कोरोना सङ्क्रमित भएको दुई महिनापछि हात दुख्ने समस्याले सताउन थाल्यो ४५ वर्षीय रजिस कार्कीलाई ।

“किन हात दुखेको थाहै नपाएपछि आफैँले नदुख्ने औषधि सेवन गर्न थालेँ”, उहाँले भन्नुभयो, “दुखाइ झन् झन् बढ्न थाल्यो कम हुने नाम नै लिँदैन र डाक्टरकोमा जचाउन गएँ ।”

कार्कीले थप्नुभयो, “तर उपचार गराउन धेरै ढिला भएको भए पक्षघातसम्म हुने सम्भावना रहेको चिकित्सकले जानकारी दिनुभएको थियो ।”

उहाँका अनुसार उहाँलाई कोरोना सङ्क्रमण भएपछि निको भएको थियो । पछि त्यसैको कारण नसामा समस्या भएको चिकित्सकले जानकारी दिनुभयो ।

कार्की मात्र नभएर पोस्ट कोभिडका कारण धेरैलाई नसा तथा स्नायुमा समस्या देखिएको वरिष्ठ न्युरो सर्जन प्रवीन श्रेष्ठले जानकारी दिनुभयो ।

कोभिडका कारणले फोक्सोमा असर पर्ने नै भयो तर यसको सङ्क्रमणले शरीरको विभिन्न अङ्गलाई पनि असर पार्न सक्ने विभिन्न अध्ययनले देखाएको छ ।

डा. श्रेष्ठका अनुसार कम्मर, ढाड, मस्तिष्क घात, पक्षघात साथै मुटु, फोक्सो, मिर्गौला, छाला, आँखा, समस्या हुने प्रस्ट पार्नुभयो ।

कोभिड सङ्क्रमण भएर निको भएका धेरै बिरामीले नसासम्बन्धी समस्या लिएर आफूकहाँ उपचारका लागि आएको अनुभव व्यक्त गर्दै भन्नुभयो, “अरू बेला पनि यस प्रकारको समस्या हुन्छ तर कोरोना कालमा बढी असर गर्ने गर्छ ।”

आफूकहाँ उपचार गराउन आएका बिरामी सम्झँदै उहाँले थप्नुभयो, “५०/५५ वर्षको एक जना हात खुट्टा चल्न छाड्यो भन्दै आउनुभएको थियो ।

उहाँलाई कोरोना सङ्क्रमण पनि भएको थिएन तर दुई महिना अगाडि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखा परेको रहेछ । त्यसैले एक पटक एन्टी बडी टेस्ट गरियो ।

जसमा रिपोर्ट पोजेटिभ आयो । उपचार गर्न आउँदा कम्मरभन्दा तलको भाग नचल्ने अवस्थामा थियो तर १० दिनको उपचारपछि बिस्तारै हिँड्ने अवस्थामा पुग्नुभयो ।”

पोस्ट कोभिडमा यस प्रकारको समस्या आउन सक्ने बताउँदै उहाँले सतर्क र चिकित्सकसँग परामर्श गर्नुपर्ने सुझाव दिनुभयो । मलाई केही भएको छैन वा आफैँ नदुुख्ने औषधि खादापछि ठूलो समस्या आउन सक्ने चेतावनी दिनुुहुन्छ ।

पोस्ट कोभिडको कारण हात खुट्टा नचल्ने मात्र नभएर मस्तिष्कमा रक्तश्राव अथवा रगत जम्नु समस्या पनि हुने डा. श्रेष्ठको भनाइ छ । यसमा रक्तसञ्चार अत्यधिक भएर रगत जम्दछ ।

ब्रेन हेमरेजले पनि मस्तिष्कलाई क्षति पु¥याएर पक्षघातको समस्या निम्त्याउन सक्छ । गाेरखापत्र

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार ०७:५४