सूचनाको शक्ति - The Power Of Information

        

मुख्यमन्त्री पोखरेलले दिए राजीना

लुम्बिनीमा नयाँ सरकार गठनको आह्वान, भोलि दिउँसो तीन बजेसम्मको समय

दुई वा दुईभन्दा बढी राजनीतिक दलको सरकार गठन हुने

काठमाडौं । लुम्बिनीमा प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएसँगै प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनको लागि आह्वान गर्नुभएको हो ।

धारा १६८ को उपधारा २ मा दुई वा दुईभन्दा बढी राजनीतिक दलको सरकार गठन हुने व्यवस्था छ ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलद्वारा जारी विज्ञप्तिमा नयाँ सरकार गठनका लागि साउन २८ गते दिउँसो तीन बजेसम्मको समयसीमा दिइएको छ ।

तीन बजेभित्र मुख्यमन्त्रीमा दावी गर्न नआए १६८ को ३ बमोजिम सबैभन्दा ठूलो दलको संसदीय दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्रदेश प्रमुखको कार्यालयबाट सूचना जारी भएसँगै विपक्षी गठबन्धन नयाँ सरकारको तयारीका लागि छलफलमा जुटेका छन् । यसअघि अविश्वासको प्रस्ताव राख्दा लुम्बिनीमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्रीको रुपमा अघि सारिएको थियो ।

लुम्बिनीमा रहेका ८० सांसद्मध्ये ४१ जना विपक्षी दलहरूको गठबन्धनमा छन् भने बाँकी एमालेका हुन् ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार १७:५८