सूचनाको शक्ति - The Power Of Information

        

धानको समर्थन मूल्य प्रतिक्विन्टल २९ सय रुपैयाँ

काठमाडौं । सरकारले यो वर्षका लागि धानको समर्थन मूल्य प्रतिक्विन्टल २९ सय रुपैयाँ प्रस्ताव गरेको छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सिफारिसमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले धानको समर्थन मूल्य प्रस्ताव गरेको हो ।

चालू आर्थिक वर्षका लागि मध्यम धानका लागि प्रतिक्विन्टल २ हजार ९ सय १ रुपैयाँ ८३ पैसा तथा मोटा धानको २ हजार ७ सय ९१ रुपैयाँ ९२ पैसा प्रस्ताव गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले यो वर्षका लागि धानको मूल्य प्रस्ताव गरिएकाले एक दुई दिनभित्रमा मन्त्रिपरिषद्मा पेस गर्न लागिएको जानकारी दिइन् ।

उनका अनुसार, गत वर्षभन्दा प्रतिक्विन्टलमा १७ रुपैयाँ बढेको छ । मन्त्रिपरिषद्ले पास गरेपछि यो मूल्य कार्यान्वयमा आउनेछ ।

गत वर्ष मोटा धानको मूल्य प्रतिक्विन्टल २ हजार ७ सय ३५ र मध्यम धानको २ हजार ८ सय ८५ रुपैयाँ तोकेको थियोे । गत वर्ष धानबाली लगाउनु अघि नै समर्थन मूल्य तोकिएको थियो ।

यो वर्ष धान रोपिसकेपछि मूल्य प्रस्ताव गरिएको छ । कृषकको लागतका आधारमा उत्पादनको उचित मूल्य प्रदान गर्नका लागि सरकारले प्रत्येक वर्ष समर्थन मूल्य तोक्दै आएको छ ।

व्यवसायीले कम मूल्यमा धान खरिद गरेर किसान ठग्ने सक्ने भन्दै सरकारले समर्थन मूल्य निर्धारण गर्दै आएको छ ।
समयमै मूल्य नतोक्दा व्यवसायीले मनोमानी मूल्यमा खरिद गर्दै आएका थिए ।

किसान भने कम मूल्यमा बेच्न बाध्य थिए । धानको मूल्य तोकेपछि किसानले समर्थन मूल्यमा बिक्री गर्न पाउँछन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धानबाट समर्थन मूल्यमा धान खरिद गर्छ ।

किसानबाट समर्थन मूल्यमा धान खरिद गरेर चामल बनाएर कर्णाली तथा दुर्गम जिल्लामा ढुवानी गरिँदै आएको छ । गत वर्ष ५६ लाख ७१ हजार मेट्रिक धान उत्पादन भएको थियो ।

यो वर्ष ९४.६४ प्रतिशत धान रोपाइँ भएको छ । कुल १३ लाख ७१ हजार ७ सय ६ हेक्टर क्षेत्रफलमध्ये १२ लाख ९८ हजार २२६ हेक्टरमा धानखेती भएको कृषि विभागको तथ्यांक छ ।

यो समाचार आजको कारोबार दैनिकमा छ ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार ०९:४३