बझाङ । कोरोना महामारीले लामो समयदेखि बन्द रहेका बझाङका विद्यालय फेरि सञ्चालनमा आउन थालेका छन् ।
मष्टा, तलकोट, साईपाल र खप्तडछान्ना गाउँपालिकामा रहेका विद्यालयहरू धमाधम सञ्चालनमा आउन थालेका हुन् ।
चार वटा स्थानियतहहरुमा रहेका सम्पूर्ण विद्यालयहरु एक साता अगाडि देखि पुनः सञ्चालनमा आएका छन् ।
गाउँपालिका क्षेत्रमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या शून्य रहेकाले विद्यालय पुनः सञ्चालनमा ल्याइएको खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष वर्क बहादुर रोकायाले बताउनुभयो ।
‘हामीले स्वास्थ्यका सम्पूर्ण मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरेका छौँ’, उहाँले भन्नुभयो, कोरोनाको जोखिम नभएकाले भौतिक उपस्थितिमै कक्षा सञ्चालन भइरहेको उहाँको भनाइ छ ।
लामो समयदेखि विद्यालय बन्द भएकाले विद्यार्थीको भविष्य बिग्रिने भएकाले पठनपाठन कार्यलाई गाउँ कार्यपालिकाको निर्णयअनुसार अगाडि बढाइएको अध्यक्ष रोकायाले बताउनुभयो ।
तलकोटका १८ वटा, मष्टाका ३४ वटा, साईपालका ८ वटा र खप्तडछान्ना गाउँपालिकाको ३८ वटा विध्यालय गरी ४ वटा स्थानिय तहमा रहेका ९८ वटा सामुदायिक विद्यालयहरु खुलेका छन् ।
संघीय सरकारले स्थानीय सरकारलाई कोरोना संक्रमणको अवस्था हेरेर विद्यालय सञ्चालन गर्नसक्ने अधिकार दिएकाले सोहीअनुसार अगाडि बढेको गाउँपालिहरुकाले जनाएको छ ।
यद्यपि जिल्लाका ८ वटा स्थानिय तह केदारस्यु, दुर्गाथली, थलारा, सुर्मा, छविसपाथिभेरा र वित्थडचिर गाउँपालिका, बुंगल र जयपृथ्वी नगरपालिकामा रहेका विद्यालयहरु भने कहिले खुल्ने भन्ने अन्यौलमा रहेका छन् ।
यता जिल्ला प्रशासन कार्यालय बझाङले भने केन्द्रबाट विध्यालय खोल्नको लागि कुनै परिपत्र नआएकाले विध्यालय हाल संचालन नगर्ने जानकारी दिएको छ ।
साथै सोमबार जिल्ला प्रशासन कार्यालय बझाङमा बसेको डिसिसिएमसीको बैठकले अहिले भौतिक उपस्थिति गराएर संचालनमा रहेका विध्यालयहरु पनि बन्द गर्नको लागि सबै स्थानियतहहरुमा परिपत्र गरेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताउनुभयो ।
।