बाँके । कुनै गाउँपालिकाको एउटा वडामा रंगशाला निर्माण भएको सायद कमै सुन्नुभएको होला । अझै पनि धेरै जिल्लाका सदरमुकाममा समेत रंगशाला बनिसकेका छैनन् । धेरै जिल्ला रंगशालाविहीन छन् । रंगशाला नहुँदा अभ्यासका लागि खेलाडीलाई सकस हुन्छ । जसका कारण स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिनबाट बञ्चित हुनुपर्छ ।
बाँकेको डुडुवा गाउँपालिकाले गाउँमै रंगशाला निर्माण गरेपछि भने गाउँका खेलाडीलाई खेल अभ्यासका लागि नेपालगन्ज रंगशाला धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । नेपालगन्ज उपमहानगरपालिकासँग जोडिएको डुडुवा गाउँपालिका वडा नं. ५ को कम्दीस्थित छग्रहवामा रंगशाला छ । अहिले गाउँका खेलाडीले गाउँमै खेल अभ्यास गर्ने मात्रै होइन गाउँमै ठूला प्रतियोगिता पनि हुँदै आएका छन् ।
केही समय पहिले झग्रहवामा रंगशाला नबन्दै यहाँका युवाहरु दैनिकरुपमा खुला मैदानमै खेल्ने गर्थे । त्यहाँ खेल्नका लागि युवाहरु स्वयं आफ्नै परिश्रमले यसको सरसफाई, रेखदेख र आवश्यक मर्मत सम्भार गर्ने गर्थे । केही वर्षअघिसम्म यस क्षेत्रका खेलाडीहरु यहाँ रहेको सानो फिल्डमा कसैले क्रिकेट खेल्ने, कसैले भलिवल खेल्ने त कसैले फुटबल खेल्ने गर्थे । ‘आफ्नै आफ्नै मनपर्ने खेल एकै ठाउँमा कहिलेकाहिँ एकैपटक हुँदा खेल्न गाह्रो हुन्थ्यो,’ स्थानीय युवा कृपाल गिरी बताउँछन् ।
युवाहरुलाई खेल्न गाह्रो हुने गरेको र जनप्रतिनिधि निर्वाचित भएपछि युवाको निरन्तरको गुनासो र दवावपछि यो रंगशाला निर्माण गरिएको छ । ५ नम्बर वडा कार्यालयका अनुसार २०७६ सालमा रंगशाला निर्माण सम्पन्न भएको हो । डुडुवा गाउँपालिका र प्रदेश सरकारको बजेटमा छग्रहवा उपभोक्ता समिति गठन गरी निर्माण गरिएको समितिका अध्यक्ष निर्मल चन्दले जानकारी दिए । यो रंगशाला एक बिगाहा क्षेत्रफलमा फैलिएको छ ।
पहिले चारैतिर खुला रहने र गाईभैंसी आएर फिल्ड फोहर हुने गथ्र्यो भने अहिले उक्त समस्या सधैंका लागि समाधान भएको छ । रंगशालालाई व्यवस्थित बनाउँदै चारैतिर घेरिएको छ । कतै पक्की पर्खाल लगाइएको छ भने कतै जाली लगाइएको छ । खेलकुद मैदानलाई सधैंका लागि खेलकुदका लागि नै प्रयोग हुने गरी यहाँ कभर्ड हल, प्याराफिट र चेन्जिङ्ग कोठाजस्ता भौतिक संरचनासमेत बनाइएको छ । रंगशाला निर्माणले डुडुवा गाउँपालिका वडा नं. ५ को गौरबसमेत बढाएको छ ।
रंगशाला निर्माण भएपछि अहिले युवाहरुलाई खेल खेल्न सजिलो भएको स्थानीयहरु बताउँछन् । यस क्षेत्रमा खेलकुदलाई निरन्तरता दिन र युवाहरुभित्र रहेको खेलकुदको चाहना नियमित राख्नका लागि बेलाबेला वडा कार्यालयले सहयोग गर्ने गरेको छ । वडा नं ५ का वडाध्यक्ष पर्शुराम बुढाथोकीले यस वडामा आधिकारिकरुपमा दर्ता भएको एकमात्र नवदुर्गा युवा क्लबलाई सहयोग गर्ने गरिएको बताए । उनका अनुसार क्लबलाई आवश्यक खेलकुद सामाग्री उपलब्ध गराउने गरिएको छ ।
यो वडा अन्तर्राष्ट्रिय प्रतियोगितामा बिजेता बन्न सफल खेलाडीको वडा पनि हो । यस वडाले अन्तर्राष्ट्रिय, राष्ट्रिय र जिल्लास्तरका खेलाडीहरु उत्पादन गरेको छ । खेलकुदमा निरन्तर सक्रिय रहेको यस वडाका खेलाडीले सार्क खेलकुदमा समेत सहभागिता जनाएका छन् । सार्क खेलकुदमा यस वडाकै निर्मला घर्ती मगरले कास्य पदक जितेको वडाध्यक्ष बुढाथोकीले जानकारी दिए । खेलाडी घर्ती मगरले सार्क प्रतियोगितामा जुडो खेलतर्फ कास्य पदक जित्न सफल भएका छन् ।
त्यस्तै जिल्लास्तरमा जुडो प्रशिक्षकका चिनिँदै आएका पदमबहादुर बुढाथोकी पनि यसै वडाको हुन् । खेलकुदमा अझै राम्रो गर्नका लागि यहाँका युवाहरु लागि परेका छन् । ‘वडामा रंगशाला निर्माणपछि खेलप्रति युवाहरुको मोह बढ्दै गएको छ,’ वडाध्यक्ष बुढाथोकीले भने । रंगशाला निर्माण भएपछि भलिबल, क्रिकेट, ब्याडमिन्टन, टेबुलटेनिस, बास्केटबल लगायत खेलहरू खेल्न खेलाडीलाई सहज भएको छ । खेलाडी भए पनि मैदानको अभावले खेल क्षेत्रमा सोचे अनुसार विकास हुन सकेको थिएन ।
विगतमा गाईभैंसी चर्ने र उपयोग हुन नसकेको यस ठाउँमा स्थानीय सरकारले रंगशाला निर्माण गरेपछि यस क्षेत्रका स्थानीय खेलाडी र नागरिकहरु उत्साहित छन् । रंगशालासँगै यस क्षेत्रलाई आकर्षक खेलकुद गन्तव्यको रुपमा विकास गर्न वडापालिका लागिपरेको पनि वडाध्यक्ष बुढाथोकीले बताए । ‘रंगशाला निर्माणपछि आर्थिक गतिविधिमा टेवा पुगेको छ,’ उनले भने । रंगशालामा खेल खेल्नका लागि वडाभित्रका खेलाडीमात्रै होइन नेपालगन्ज उपमहानगरका खेलाडीहरु पनि पुग्ने गरेको स्थानीयहरु बताउँछन् ।
१५० मिटरभित्र खेल खेल्नका लागि खेल मैदान बनाइएको छ भने रंगशालाको गेट, च्यानलसमेत निर्माण गरिएको छ । १६ फिट लम्बाई र २० चौडाईको हल र करिब ७०० जना अट्ने गरी प्याराफिट निर्माण गरिएको क्लबका अध्यक्षसमेत रहेका चन्दले जानकारी दिए । २०६१ देखि नै खेल मैदानको संरक्षण गर्दै आएको क्बलले रंगशालामा बृक्षारोपण जस्ता कार्यहरु आफै गर्दै आएको छ । गाउँपालिका र लुम्बिनी प्रदेश सरकारको करिब ३६ लाख रुपैयाँको लागतमा रंगशाला निर्माण गरिएको हो ।
जहाँ लगानी हुन्छ, त्यहीँ नै फल उत्पादन हुन्छ भनेजस्तै अझै यहाँको खेलकुद विकासका लागि स्थानीय सरकारका रुपमा रहेको गाउँपालिकाले खेलकुदको विकास र समृद्धिका लागि छुट्टै बजेटको व्यवस्थापन गर्नुपर्ने खेलप्रेमीहरु बताउँछन् । जब लगानी हुन्छ अनि मात्र उत्पादन गर्न सम्भव हुने भएको हुँदा लगानी एकदमै आवश्यक छ । हालसम्म भएको लगानी र स्थानीय सरकारको सक्रियताले यत्तिसम्म भएको छ भने आगामी दिनमा पनि जिल्ला, प्रदेश, राष्ट्रिय, सार्कस्तरीय प्रतियोगिताका लागि अब्बल खेलाडी उत्पादन गर्न युवा तथा सम्बन्धित निकाय सक्रिय बन्न जरुरी रहेको नागरिकहरुको भनाई छ ।
डुडुवा गाउँपालिका–५ नम्बर वडापालिकाभित्र खेलकूद क्षेत्रमा धेरै सम्भावना रहेको छ । ‘खेल पूर्वाधार विकास गरी यस वडापालिकालाई खेल पर्यटनको विशिष्ट स्थलका रुपमा विकास गर्न सकिने सम्भावनाहरु छन् । खेलकूद पूर्वाधार विकासका दृष्टिले डुडुवा गाउँपालिका अझै पछि परेको छ । आगामी दिनमा आवश्यक पूर्वाधारको विकास गर्दै अघि बढ्नु अपरिहार्यता छ । डुडुवा गाउँपालिकाले खेलकुदको विकास गर्न नीतिगत योजना बनाएर अघि बढ्नुपर्ने खेलप्रमीहरु बताउँछन् ।
नीतिगत योजना र स्पष्ट मार्गचित्रसहित बनाएर स्थानीय सरकार अघि अझै बढ्न नसकेको खेलप्रेमीहरु बताउँछन् । डुडुवा खेल पर्यटनको पनि सम्भावनायुक्त स्थल भएकोले स्थानीय सरकारको सक्रियतासँगै खेल पूर्वाधार विकास उच्च प्राथमिकतामा पर्नुपर्छ । डुडुवा गाउँपालिकाभित्र धेरै पर्यटकीयस्थल रहेकाले खेलकूदसँग सम्बन्धित एवं अन्य व्यक्तिलाई आकर्षित गर्न र खेलकुदको आकर्षक गन्तव्यका रुपमा विकास गर्न सबैको एकतावद्ध प्रयास पनि आवश्यक छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगितामा खेलाडीलाई सहभागी गराउन र विभिन्न तालिम, गोष्ठी तथा सेमिनारहरु सञ्चालन गर्न गाउँपालिकाले नीति नै बनाएर अघि बढ्नुपर्छ । खेलकूदको ‘हव’ बनाउने लक्ष्यका साथ गाउँपालिका अघि बढ्न सकेमा डुडुवालाई खेलकूदको ‘हव’ बनाउन सकिने प्रशस्त आधार र सम्भावना छन् । स्थानीय सरकारले खेल पर्यटनको सम्भावनालाई बुझेर पूर्वाधार र प्रतियोगिता आयोजनाका लागि बजेट विनियोजन गर्नुपर्छ । खेललाई स्थानीय तहले प्राथमिकतामा राख्नुपर्छ । अब नेपालगन्ज, कोहलपुर र खजुराको विकल्प डुडुवा बन्नुपर्छ ।
।