बाँके । बाँकेको जानकी गाउँपालिका कृषि र औद्योगिक क्षेत्रको हब मानिन्छ । यस गाउँपालिकाको अधिकांश वडाहरुमा धानखेती प्रशस्तै हुने गर्दछ भने सिक्टा सिचाइँका कारण हिउँदे बाली गहुँ तथा अन्य नगदे बालीहरु उत्पादनमा पनि राम्रो सम्भावना छ । साविकको गनापुर गाविसको बीचबाट सिक्टा सिचाइँ नहरको सहायक नहरसमेत निर्माण भइसकेको र सिचाइँको सुविधासँगै कृषि व्यवसाय फस्टाउँदै गएको छ ।
कृषि सम्बन्धी बीउवीजन उत्पादन गर्ने, गे्रडिङ गर्ने, विक्री गर्ने, तालिम दिने लगायतका काम गर्ने कृषि अनुसन्धान केन्द्रको क्षेत्रीय अनुसन्धान केन्द्र तथा प्रयोगशालासमेत यसै गाउँपालिकामा पर्ने भएकाले कृषिमा विशेष आकर्षण रहेको देखिन्छ । जानकी गाउँठाउँमा सडक ग्राभेल, नाली निर्माण, विद्युत आपूर्तिजस्ता जनताका आवश्यकतामा विकासका कामहरु भइरहेका छन् । मूख्य राजमार्गदेखि ग्रामिण बस्तीहरु जोडने प्रमुख सडकहरु कालोपत्रे हुने क्रम पनि वर्षेनी बढ्दो छ ।
संघीय संरचना बनेपछि विकास बजेट सोझै वडास्तरमा पुग्ने र वडापालिकाले नै विकासका कामहरुको प्राथमिकीकरण गरेर योजना बनाउँदा सिधै गाउँस्तरसम्म विकास पुगेको स्थानीय जनताले अनुभूती गर्न थालेका छन् । गाउँघरमा वर्षातमा पानी जम्ने र निकास नहुने स्थानहरुमा सडकलाई पिसिसी गर्ने काम पनि वर्षेनी भइरहेको छ । अधिकांश मधेशी समुदायका मानिसहरुको बसोबास रहेको जानकी गाउँपालिकामा विभिन्न समुदायको धर्म, संस्कार, परम्परा अनुसार धार्मिकस्थलहरुको संरक्षणमा समेत गाउँपालिकाले बजेटको व्यवस्था गरेको पाइन्छ ।
विभिन्न वडाहरुमा रहेका पोखरी, तालतलैया, कुवा, सार्वजनीक धारा, सार्वजनिक प्रतिक्षालय, सार्वजनिक शौचालय, सार्वजनिक स्थलहरुको स्तरोन्नती, सरसफाइ, संरक्षणमा समेत गाउँपालिकाले बजेट विनियोजन गरेर स्थानीय जनताको आवश्यकता पुरा गर्ने काम पनि गरिरहेको छ । लामो समयपछि सम्पन्न स्थानीय तहको निर्वाचनपछि पहिलो बर्ष स्थानीय सरकार सञ्चालन सम्बन्धी ऐन, नियम, कार्याविधिहरु बनाउनुपर्ने बाध्यताले सोचे जति काम गर्न नसकेको गाउँपालिका अध्यक्ष रामनिवास यादव बताउँछन् । त्यसयता गाउँपालिकाभित्र ८० प्रतिशतभन्दा धरै योजनाहरु सम्पन्न हुँदै आएका छन् ।
संविधानले नै स्थानीय तहका उपाध्यक्ष तथा उपप्रमुखहरुलाई न्यायिक समितिको संयोजक, राजश्व परामर्श समितिको संयोजक, उपभोक्ता हित संरक्षण समितिको संयोजक, सहकारी तथा संघसंस्था समन्वय समितिको संयोजक, गाउँपालिकास्तरका योजनाहरुको अनुगमन समितिको संयोजकजस्ता कामको जिम्मेवारी तोकिदिएको छ । यसबाहेक पनि गाउँपालिकामा विकास निर्माणका योजनाहरुमा सहभागीता र सक्रियता हुनु आफ्नो दायित्व र जनताको अपेक्षासमेत हुन्छ । स्थानीय तहमा न्यायिक समिति संयोजकको जिम्मेवारी रहेकाले उपाध्यक्षलाई मेलमिलाप वा न्यायिक निरुपण र फैसलामा गर्ने विषय धेरै जटिल छन् ।
एकातिर उनीहरुलाई कानूनको ज्ञान नहुनु, न्यायिक प्रद्धती र प्रकृयाको बारेमा तालिम तथा प्रशिक्षणको अभाव रहेकाले पनि केही समस्या वा जटिलता छन् । गाउँपालिकामा बादविबाद, झैंझगडा, घरजग्गा किचलो, सम्बन्धविच्छेद मुद्दाहरु परेका र ती मुद्दाहरु विभिन्न प्रकृयाबाट केहीलाई मेलमिलाप र केहीलाई न्यायिक निरुपण गरिँदै आएको छ । बाँके जिल्लाको सदरमुकामसँग जोडिएको गाउँपालिका भएर पनि शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, चेतना आदि हिसाबले धेरै पछाडि परेको छ । गाउँपालिकामा रहेको राजनीतिक अवस्था र गाउँ कार्यपालिकामा हुने निर्णयमा छलफल र बहसपछि निर्णय लिने पद्धतीको विकास भएको छ ।
यो गाउँपालिकामा औद्योगिक क्षेत्रको विकासको निम्ति छुट्टै क्षेत्र छुटयाउने र त्यसमा विद्युत, सुरक्षा, सडकजस्ता सुविधाहरु दिएर जिल्लाकै नमूना औद्योगिक क्षेत्रको रुपमा विकास गर्ने सोचाई रहेको गाउँपालिकाका अध्यक्ष यादवको भनाई छ । यो गाउँपालिका वडा नं १ भारतको सिमानामा जोडिएको र खुला सिमा भएकाले पनि निकै समस्या रहेको छ । धेरै ठाउँमा पुल नबन्दा वर्षेनी धेरै मानिसहरु समस्यामा पर्ने गरेका छन् । पुराना धार्मिक सम्पदा तथा ताल तलैयाहरुको संरक्षण गर्न सकियो भने यस वडा पर्यटकीय क्षेत्रमा निकै अगाडि आउन सक्छ ।
सेवाग्राहीहरु पनि नियमित आउने गरेका छन् । जनप्रतिनिधि, कर्मचारी र स्थानीयहरुबीच नङ र मासुजस्तै सम्बन्ध छ । वडाको बजेट विभिन्न विकास निर्माण, स्वास्थ्य, शिक्षा, कृषि, सडक, रोजगार लगायतका क्षेत्रहरुमा लगानी गरिएको छ । जनप्रतिनिधिहरु आएपछि स्थानीय जनतामा उत्साह पैदा भएको छ । सडक नै विकासको प्रमुख आधार रहेकाले सबभन्दा पहिला सडक र पानी निकासका लागि पुल, कल्भर्ट नै बनाउनुपर्ने आवश्यकता छ । शान्ति सुरक्षाका लागि वडामा प्रहरी चौकी, चेक पोष्टहरु निर्माण गरिएका छन् । यो वडा खुला दिशामुक्त भएको छ र सरसफाइका थुप्रै कार्यक्रम पनि सञ्चालन गरिएको छ ।
वडाको प्रमुख पेशा कृषि नै रहेको छ । यहाँ रहेका ठूलाठूला खेतको फाँटहरु नै अन्न उत्पादनका उर्वरा जमिन हुन् । कृषिलाई आधुनिक व्यवसायिक पेशाको रुपमा विकास गर्न सकेमा यस वडाको विकास निर्माणको साथै आर्थिक रुपमा पनि समृद्धि हुनेछ । यस्तै गाउँपालिकाका अध्यय वडाहरुमा पनि विकास निर्माणका कामहरु धमाधम भइरहेका छन् । पक्की सडक निर्माणले धेरै नागरिकलाई आवातजावत र सरसामानमा ढुवानीमा सजिलो भएको छ । साना बाटोहरुलाई फराकिलो बनाउने काम धमाधम भइरहेको छ र ढल निकासका कामले निरन्तरता पाएका छन् ।
सिक्टा सिचाइँको शाखा नहरबाट पानी ल्याएर सिचाइँ गर्ने योजनाअनुरुप यो वडामा सिचाइँका कामहरु भइरहेका छन् । वडाको विकास निर्माणमा मूख्यरुपमा सडकमा माटो पटान रहेको छ । पहिला बाटो साँघुरो भएकाले आवातजावतमा निकै अप्ठ्यारो थियो । हिलाम्मे बाटोले सबैलाई सकस हुँदै आएको थियो । अहिले पिसिसी बाटो निर्माणले निकै सजिलो भएको छ । गाउँपालिकामा रहेका विद्यालय तथा मदरसाको अवस्थामा सुधार ल्याउनुपर्ने देखिन्छ । वडामा कृषि, शिक्षा र स्वास्थ्यमा विशेष ध्यान दिएको र वडामा रहेका स्वास्थ्य चौकीबाट ३६ किसिमका औधषीहरु निशुल्करुपमा वितरण गर्दै आएको वडाध्यक्ष विश्राम बर्मा बताउँछन् ।
गाउँपालिकाले सडकहरुलाई पिसीसी गराउने कामलाई प्राथमिकता दिएको छ । बेरोजगारको समस्या, शिक्षाको अभाव, चेतनाको अभावका कारण सरसफाईमा निकै पछाडि परेको जानकीमा पर्यटकीय सम्भावनासमेत रहेको छ । मधेशी समुदायको बाहुल्यता रहेकाले गाउँपालिकामा निशुल्क स्वास्थ्य सेवा, पशु, कृषि, माध्यमिक तहको सामुदायीक विद्यालय, कृषिमा लगानी, रोजगारी सिर्जनाजस्ता काममा विशेष ध्यान दिइएको छ । गाउँपालिकाभित्रका केही गाउँहरु वर्षायाममा डुबानमा पर्दै आएका थिए । अहिले सडक तथा नाली निर्माण भएर समस्या समाधान भएपछि स्थानीयहरु खुसी छन् ।
पहिले महिलाका समस्याहरुलाई उजागार गर्न सकिएको थिएन । जब महिलाहरु नै निर्वाचित भएर स्थानीय निकायमा आएपछि महिलाहरुका समस्या पहिचान गर्न र समस्या समाधान गर्न सजिलो भएको गाउँपालिकाका उपाध्यक्ष भुमीसरा धितालको भनाई छ । जानकी गाउँपालिका वडा नं ६ सुविधाका हिसाबले रत्न राजमार्ग सँग जोडिएको र औद्योगिक क्षेत्रको प्रमुख क्षेत्र भएकाले यस वडामा उद्योगको स्थापना र यस गाउँपालिका जनतालाई रोजगारी समेत दिन सक्ने सम्भावना छ । औद्योगिकरणसँगसँगै वरिपरिको वातावरणमा प्रदुषण हुने क्रम जारी रहेको छ । त्यसबारे पनि वडा तथा गाउँपालिका कार्यालय सचेत हुन जरुरी छ ।
आफ्नो कार्यकालभित्रमा विकासका सबै योजनाहरुलाई मूर्तरुप दिँदै अगाडि बढेको वडा नं. ६ का वडाध्यक्ष सुरेश यादव बताउँछन् । जानकी गाउँपालिकाको रिङरोड, बहुउद्देश्यीय कभर्डहल निर्माण हालसम्मका सबैभन्दा ठूला पूर्वाधारका योजनाहरु हुन् । यिनको डिपीआर गर्ने काम भइरहेको छ । गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीबीच सुमधुर सम्बन्ध भएकै कारण पनि विकासले ग्रामीण बस्तीहरु फेरिएका छन् । ढल निकास, फोहर व्यवस्थापन तथा औद्योगिक क्षेत्रबाट हुने वातावरणीय प्रदुषणको समस्या पनि समाधान हुँदै गएका छन् ।
गाउँपालिकामा औद्योगिक क्षेत्र रहेकाले ती क्षेत्रहरुमा यस गाउँपालिकाको श्रमशक्तिलाई पनि त्यहाँ रोजगारी दिने विषयमा पनि छलफल भइरहेको छ । जानकी गाउँपालिका विकासका सम्भावनाहरु, गाउँपालिकाको केन्द्र तोक्ने, पूर्वाधार विकास तथा कर्मचारी व्यवस्थापनका बारेमा रहेका समस्याहरुको व्यवस्थापन र निराकरणका लागि समेत योजना बनिरहेको छ । भौतिक पूर्वाधारका योजनाहरुमा ठूलो बजेट, वडाका योजनाहरुमा वडागत रुपमा बजेटको सिलिङ, आर्थिक तथा सामाजिक विकासतर्फ विषयगत समितिहरुको बजेटसमेतको विनियोजन गरी सोही अनुसार काम भइरहेको छ ।
जानकी गाउँपालिकामा मुख्यरुपमा कृषि, उद्योगको राम्रो सम्भावना छ । खुला सीमाका कारण तराईका प्रायजसो बस्तीहरु आफ्नो दैनिक आवश्यकताका बस्तुहरु भारतीय बजारमै निर्भर रहँदै आएका छन् । जानकी गाउँपालिकाको १ नं वडा पनि भारतीय सीमासँग जोडिएको र खुला सीमा भएकाले त्यसको प्रभावबाट अछुतो छैन । यो गाउँपालिकाको उत्तरमा रहेको साविकको गनापुर गाविस हालको ६ नं वडा औद्योगिक क्षेत्रको रुपमा जिल्लामै पहिचान बनाएको छ । रत्न राजमार्गसँग जोडिएको सो वडामा ठूलाठूला उद्योगधन्दाहरु स्थापना हुने क्रम बढ्दो छ । यिनै कुराहरुको सम्भावव्यतालाई सुक्ष्म तरिकाले अध्ययन गरी गाउँमै रोजगारीको सिर्जना गर्न सकियो भने जानकी गाउँपालिका समृद्धिको बाटोमा लम्किनेछ ।
।