सूचनाको शक्ति - The Power Of Information

        

कोरोना विरुद्धको खोप

जेष्ठ नागरिकलाई आजदेखि कोभिसिल्डको दोस्रो मात्रा खोप लगाइँदै

झण्डै १४ लाख लाभान्वित हुने

काठमाडौं । देशभरका जेष्ठ नागरिकलाई आजबाट कोरोना विरुद्धको अस्ट्राजेनेका खोप दिइदैछ ।

कोभिशिल्ड खोपको पहिलो मात्रा लगाई दोस्रो मात्राको प्रतिक्षामा रहेका ६५ वर्षभन्दा माथिका नागरिकलाई अष्ट्राजेनेका खोप दिन लागिएको हो ।

यो अभियानबाट झण्डै १४ लाख जेष्ठ नागरिक लाभान्वित हुनेछन् । भारतबाट ल्याईएको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका जेष्ठ नागरिकहरु झण्डै ५ महिनादेखि दोस्रो मात्राको प्रतिक्षामा रहेका छन् ।

सरकारले कोभिशिल्डको थप मात्रा ल्याउन नसकेपछि अष्ट्राजेनेका खोप दिन लागेको हो । बेलायती कम्पनी अष्ट्राजेनेकाकै भारतमा गरिएको उत्पादन कोभिशिल्ड हो ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले सबै प्रदेश स्वास्थ्य निर्देशनालय, स्वास्थ्य आपूर्ति केन्द्र र स्वास्थ्य कार्यालयहरुलाई खोप अभियान सञ्चालन गर्न निर्देशन दिएको छ ।

यो खोप भुटान सरकार र जापान सरकारबाट कोभ्याक्स सुविधा मार्फत अनुदान स्वरुप प्राप्त भएको हो । दोस्रो मात्राको प्रतिक्षामा रहेका व्यक्तिहरूलाई अस्ट्राजेनेका खोप दिएपछि बाँकी रहेको खोप वैदेशिक रोजगारी, अध्ययन र अन्य प्रयोजनका लागि विदेश जाने व्यक्ति तथा गम्भिर प्रकृतिका विरामीहरुलाई दिइनेछ ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार ०७:४१