सूचनाको शक्ति - The Power Of Information

        

बिरूवा नबिक्दा सल्यानका नर्सरी व्यवसायी चिन्तित

फाइल तस्वीर

सल्यान । सल्यानका नर्सरीमा उत्पादन भएका विभिन्न फलफूलका बिरुवा बिक्री नहुँदा नर्सरी सञ्चालक समस्यामा परेका छन् । लामो निषेधाज्ञा र प्रत्येक स्थानीय तहहरूले आफै नर्सरी बनाउन थालेपछि कागती, सुन्तला, अनार, टिमुर लगायतका दर्जनभन्दा बढी फलफूल र घाँसका बिरुवा बिक्री हुन सकेको छैन । सभ्यता नर्सरी बागचौर नगरपालिका–२ का सञ्चालक टीकाराम वलीले पाँच रोपनीमा उत्पादन गरेको बिरुवा अहिलेसम्म ३० हजार मात्र बिक्री भएको बताए ।

उनका अनुसार एक लाख ५० हजार बिरुवा उत्पादन गरेको भए पनि अहिलेसम्म ३० हजार मात्र बिक्री भएका छन् । गत वर्ष चार लाख ५० हजार बिरुवा बिक्री गरेका बागचौर नगरपालिका–९, डाँगीगाउँका टोपेन्द्र डाँगीले यो वर्ष भने मुस्किलले ४० हजार रुपियाँको बेर्ना बिक्री गरेको बताए । बिरुवा बिक्री गर्न समस्या हुन्छ भन्ने थाहा पाएर यस वर्ष एक लाख मात्र बिरुवा उत्पादन गरेको भए पनि त्यो पनि राम्ररी बिक्री हुन नसकी अझै ६० हजार बिरुवा नर्सरीमै छन् ।

वागेश्वरी फलफूल नर्सरीका सञ्चालक लोकबहादुर डाँगीले अघिल्लो वर्ष कागती, सुन्तला र टिमुरका पाँच लाख मूल्य बराबरका बेर्ना बेचे पनि यो वर्ष बेर्ना बिक्री नभएको बताए । जिल्लामा दुई हजार २१५ हेक्टर क्षेत्रफलमा व्यावसायीक फलफूल खेती हुँदै आएको छ । जसमा सबैभन्दा बढी सुन्तलाले एक हजार ४९५ हेक्टर क्षेत्रफल ओगटेको छ । सल्यानका नर्सरीमा टिमुर, कागती, सुन्तला, अनार लगायतका जडीबुटी र फलफूलका बिरुवा उत्पादन हुँदै आएको छ ।

सल्यानमा दुई दर्जनभन्दा बढी व्यवसायीले नर्सरी सञ्चालन गर्दै आएका छन् । अघिल्लो वर्ष विभिन्न जातका बेर्ना बिक्री गरेरै व्यवसायीले तीन करोड २५ लाख बराबरको आम्दानी गरेको बताए । कोरोना कहर अलि कम भएपछि सल्यानमा तयार भएका फलफूलका बेर्ना सिन्धुपाल्चोक, स्याङ्जा, म्याग्दी, गुल्मी, रोल्पा, रुकुम पठाइएको कृषि विकास कार्यालय सल्यानका कार्यालय सूचना अधिकारी रेशमकुमार बस्नेतले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतवार १५:१७