सूचनाको शक्ति - The Power Of Information

        

कोरोना महामारी

जानकीमा कोरोना : ‘कम प्रभाव, न्यून क्षति’

ज्वरो आएको छ, खोकी लागेको छ र सास फेर्न गाह्रो भएको छ भने चिकित्सकसँग परामर्श गर्नुपर्छ । किनभने ती लक्षणले श्वासप्रश्वास प्रणालीमा भएको सङ्क्रमण वा अन्य गम्भीर समस्यातिर सङ्केत गर्छन् ।

बाँके । विश्वमै आतंक मच्चाएको कोरोनाका संक्रमित बाँकेमा भेटिएपछि जिल्लामा तरङ्ग आउनु स्वभाविकै थियो । वैशाख १९ गते एकाएक ६० वर्षीय पुरुषमा कोरोना देखिँदा छिमेकीहरु मात्रै होइन, बाँके जिल्लामै त्रास फैलियो । संक्रमितलाई आइसोलेसनमा लगियो । रातारात उनको भेटघाट, आवतजावत ‘ट्रेसिङ’ गरियो । उनको भेटघाट, आवतजावत नेपालगन्जको वडा नं. ८ जोलनपूर्वामा हुने रहेछ । त्यहाँका ९० जनाको ‘ट्रेसिङ’ भयो ।

स्वाब संकलन गरेर जाँच्दा २२ जनामा कोरोना पुष्टि भयो । त्यसपछि अरुको ‘ट्रेसिङ’ गर्दा एकजना थपिए । टाँगा स्टेशनमा स्वाब लिएका अर्का पनि कोरोनाको भीडमा मिसिए । नेपालगन्जका सबै २५ जनालाई खजुरास्थित क्यान्सर अस्पतालमा बनाइएको आइसोलेसनमा लगियो । शुरुमा जान नमानेका उनीहरु समाजका अगुवाले सम्झाएपछि गएका थिए । कोही २२ दिन त कोही २१ दिन खजुरामा बसे ।

खजुरामा जाँदा रिसाएका उनीहरुको अनुहारमा घर फर्किँदा मुस्कान देखियो । युद्ध जितेको सिपाही झैं हँसिलो, चम्किलो अनुहार र खुशीले गद्गद् भए । नहोस् पनि किन, जसले कोरोनालाई जितेर घर फर्कियो, उसको अनुहारमा जीतको भाव आउनु स्वभाविक थियो । नेपालगन्जबाट फैलिएको संक्रमण क्रमशः जिल्लाभर फैलिँदै गयो । अनि परीक्षणको दायरा बढाउँदै जाँदा बाँकेमा नयाँ–नयाँ ठाउँमा पनि कोरोना संक्रमित भेटिए ।

कोरोनाको पहिलो लहर (२०७७ चैैतदेखि २०७८ मंसीरसम्म) सुरु भएसँगै जानकी गाउँपालिकामा भारतबाट आउनेको संख्या उच्च थियो । त्यस समयमा ११०४ जनालाई गाउँपालिकाले क्वारेन्टिनमा राखेको थियो । जानकी गाउँपालिकाका विभिन्न क्वारेन्टिनमा राखिएका ११०७ जनाको पीसीआर र ३०२ जनाको आरटिडी परीक्षणका क्रममा ४६ जनामा कोरोनाको संक्रमण फेला पर्यो ।

कोरोना संक्रमितमध्ये जानकी गाउँपालिका वडा नं.३ र वडा नं. ६ मा १/१ जनाको ज्यान गयो । अन्य स्थानीय तहमा जस्तो जानकी गाउँपालिकाले पहिलो लहरको कोरोना संक्रमणको गतिलाई नियन्त्रणमै राख्न सफल भयो । कोरोनाको पहिलो लहर (२०७७ पुसदेखि हालसम्म) गाउँपालिकामा ४ जनाको मृत्यु भएको छ । जसमा वडा नं. ३ मा २ जना, वडा नं. ४ र वडा नं. ६ मा १/१ जनाको मृत्यु भएको छ ।

जानकी गाउँपालिकाका स्वास्थ्य संयोजक दलबहादुर रानाका अनुसार दोस्रो लहरका समयमा पनि अन्य स्थानीय तहमा जस्तो जानकी गाउँपालिकामा भयावह अवस्था आउन पाएन । ‘पहिलो लहरमा भन्दा दोस्रो लहरमा केही बढी संक्रमित र मृतकको संख्या बढेपछि भयावह अवस्था आउन पाएन,’ स्वास्थ्य संयोजक रानाले भने । गाउँपालिकामा अहिले पनि पीसीआर र एण्टीजेन परीक्षण गर्ने क्रम चलिरहेको उनले बताए ।

गुमनाम रहेको नरैनापुर कोरोना महामारी भित्रिएसँगै एकाएक चर्चामा आएजस्तो जानकी गाउँपालिकामा कोरोना संक्रमण उच्च तहमा देखिएन । गाउँपालिकाको उच्च सतर्कताले गर्दा अन्य ठाउँजस्तो जानकीमा कोरोना भयावह महामारीझैं फैलिन पाएन । जिल्लामा कोरोना संक्रमणको लक्षण देखिएलगत्तै स्वास्थ्यकर्मीहरु उच्च सतर्कता अपनाएर खटिएकोले यहाँ तीव्ररुपमा संक्रमण फैलिन नपाएको स्वास्थ्य संयोजक रानाले बताए ।

संयोजक रानाका अनुसार गाउँपालिकाभित्रका ८ वटा सामुदायीक विद्यालयलाई क्वारेन्टिन बनाइएको थियो । उनका अनुसार भारतीय सीमासँग जोडिएको गाउँपालिकाको वडा नं. ३ वटा क्वारेन्टिन बनाइएको थियो भने वडा नं. २ देखि ६ सम्म एक/एक वटा बनाइएको थियो । ‘सुरुदेखि नै हामीले उच्च सतर्कता नअपनाएको भए मृत्युदर धेरै हुन सक्यो, हाम्रो पूर्वतयारी र सावधानीले धेरै मावनीय क्षति हुन पाएन,’ स्वास्थ्य संयोजक रानाले भने ।

छिमेकी भारत लगायत अन्य स्थानबाट आएका नयाँ व्यक्तिहरुलाई विभिन्न क्वारेन्टिनमा राखेर व्यवस्थापन गर्ने गरिन्थ्यो । स्वास्थ्य संयोजक रानाले भने, ‘क्वारेन्टिनमा बसिसकेपछि मात्र हामीले उनीहरुलाई घर जान दियौं, जसले गर्दा समुदायस्तरमा कोरोना फैलिन पाएन ।’ यहाँका धेरै नागरिक रोजीरोटीका लागि भारतका विभिन्न शहरमा काम गर्न जान्छन् । कोरोना महामारीसँगै भारत गएका नागरिकहरु धमाधम गाउँ फर्किएका थिए ।

स्वास्थ्य संयोजक रानाका अनुसार स्रोत साधनको अभावले सुरुवातमा निकै कठिन भएको थियो । तर गाउँपालिकामा उपलब्ध स्रोत साधनको समुचित परिचालन गरेर कोरोना नियन्त्रण सम्भव भयो । कोरोना नियन्त्रणका लागि गाउँपालिकाको विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रमहरु समेत आयोजना गरिएको थियो । गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारी र बुद्धिजीवि लगायत कोरोनाका बारेमा जनचेतना जगाउन जुटेका थिए ।

बाँकेमा भारतबाट आउने क्रम चलिरहेको थियो । नाकाबाट भित्रिनेलाई पालिकाबाटै सवारी साधन ल्याएर लैजाने गरियो । क्वारेन्टाइनको संख्या र त्यसमा बस्नेको संख्या दिनदिनै बढिरह्यो । कोरोना संक्रमित दिनहुँ थपिँदै गए पनि क्वारेन्टिनको ब्यवस्थापन गरेर सावधानी अपनाएकै कारण कोरोनाको जोखिम, प्रभाव र क्षति न्यून रह्यो । अहिले पनि विश्वभरी कोरोना भाइरसबारे विभिन्न अध्ययन र अनुसन्धान भइरहेका छन् ।

नेपाल लगायत विश्वका देशहरु कोरोनाविरुद्धको खोप बनाउन व्यस्त छन् । नेपाल सरकारले विभिन्न चरणमा कोरोना खोप लगाउन सुरु गरेपछि जनतामा उत्साह थपिएको छ । डर भने विस्तारै हराउँदै गएको देख्न सकिन्छ । विश्वभरी फैलिरहेका नयाँ कोरोना भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले ‘कोभिड १९’को नाम दिएर यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरेर यसको अनुसन्धानलाई अघि बढाएको छ ।

कोरोना भाइरस संक्रमणको महामारीले हाम्रो जीवन र सम्बन्धमा अकस्मात् धेरै परिवर्तन ल्याइदिएको छ । अहिले पनि विश्वभर कोरोना भाइरस संक्रमण र त्यसबाट हुने रोग कोभिड–१९ को त्रास छ । विश्वका अधिकांश देशमा नागरिकका गतिविधिहरू अत्यावश्यक काममा मात्रै सीमित भएका छन् । ज्वरो आएको छ, खोकी लागेको छ र सास फेर्न गाह्रो भएको छ भने चिकित्सकसँग परामर्श गर्नुपर्छ ।

किनभने ती लक्षणले श्वासप्रश्वास प्रणालीमा भएको सङ्क्रमण वा अन्य गम्भीर समस्यातिर सङ्केत गर्छन् । कोरोना भनेर जति डर देखाइएको छ त्यस्तो डराउनुपर्ने रोग कोरोना होइन रहेछ । म निको भएर घर फर्कन्छु भन्ने हिम्मत र आत्मविश्वास भयो भने कोरोनालाई सजिलै जित्न सकिने रहेछ । मन दह्रो बनाउने घरेलु जडीबुटी तुलसीको पात, गुर्जो, अदुवा, मरिच र ल्वाङ लगायतका जडीबुटीको पकाएर दिनमा ३/४ पटक त्यसको झोल खायो भने कोरोना ठिक हुने संक्रमितहरुको अनुभव छ ।

कोरोना भाइरसले सामान्य रुघाखोकीदेखि गम्भीर प्रकारको तीव्र श्वासप्रश्वाससम्म गराउन सक्छ । आनुवांशीक संरचनामा भएका भाइरस अर्थात् विषाणुको एउटा समूहलाई वैज्ञानिकहरूले कोरोना भाइरस नामकरण गरे । कोरोना मानिस र पशुमा संक्रमण हुन्छ । जनावरबाट मानिसमा संक्रमित भएको कुनै वैज्ञानिक आधार हालसम्म छैन । मानिसमा कसरी भाइरस संक्रमित भयो भन्नेबारे अनुसन्धान भइरहेको छ ।

सन् २००३ मा देखिएको सार्स र नोबेल कोरोना एउटै प्रजातिका भाइरस हुन् । दुवै भाइरसले बिरामीलाई गम्भीर बनाउन सक्छन् । यस विषयमा अध्ययन, अनुसन्धानहरु भइरहेका छन् । रुघाखोकी र श्वासप्रश्वासका बिरामीको सम्पर्कबाट टाढै रहने र नियमित रुपमा हातको सरसफाइ गरेमा संक्रमणको सम्भावना कम रहने अनुसन्धानमा संलग्न विज्ञहरुको राय छ ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतवार १३:१३