सूचनाको शक्ति - The Power Of Information

        

म्याराथनको उपाधि किप्चोगेलाई, फुटबल ब्राजिललाई

एजेन्सी । केन्याका धावक इलियड किप्चोगेले ओलम्पिकमा म्याराथनतर्फको स्वर्ण पदक रक्षा गरेका छन् ।

टोकियो ओलम्पिकमा आज बिहान सम्पन्न म्याराथनको निर्धारित दुरी २ घण्टा ८ मिनेट ३८ सेकेण्डमा सकाउँदै किप्चोगेले साविक उपाधि रक्षा गरेका हुन् ।

चार वर्षअघि ब्राजिलमा भएको रियो ओलम्पिकमा पनि किप्चोगेले स्वर्ण पदक जितेका थिए । ओलम्पिकमा लगातार दुई पटक म्याराथनमा स्वर्ण पदक जित्ने किप्चोगे तेस्रो खेलाडी बनेका छन् ।

यसपटक केन्यन धावकलाई सुरुदेखि नैं पछ्याएका नेदरल्याण्ड्सका अब्दी नागेये फिनिसिङ लाईनमा आईपुग्दा किप्चोगेभन्दा १ मिनेट २० सेकेण्ड ढिला हुँदै दोस्रो भए ।

बेल्जीयमका बाशिर अब्दी तेस्रो भए । टोकियो ओलम्पिकको म्याराथनतर्फ १ सय ६ खेलाडी सहभागि भएकोमा ७६ जनाले मात्रै दुरी पुरा गरेका थिए ।

यसैबिच ओलम्पिकको परुष फुटबलको उपाधि ब्राजिलले जितेको छ । फाईनल खेलमा स्पेनलाई अतिरिक्त समयमा २–१ ले हराउँदै ब्राजिलले उपाधि रक्षा गरेको हो ।

खेलको ४५ औं मिनेटमा ब्राजिलका म्याथुस कुन्हाले गोल गर्दै टोलीलाई अग्रता दिए । ६५ औं मिनेटमा स्पेनका मिकेल ओयरजबालले एक गोल फर्काएपछि खेल अतिरिक्त समयमा पुग्यो ।

अतिरिक्त समयमा माल्कोमले निर्णायक गोल गर्दै ब्राजिललाई ओलम्पिकमा स्वर्ण पदक जिताए । ओलम्पिक फुटबलको महिलातर्फको फाईनल खेलमा स्विडेनलाई टाई ब्रेकरमा हराउँदै क्यानाडाले स्वर्ण पदक जितेको थियो ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतवार १०:०१