सूचनाको शक्ति - The Power Of Information

        

टोकियो ओलम्पिकको समापन आज

काठमाडौं । टोकियो ओलम्पिकको आज समापन हुँदैछ । आज १३ स्पर्धाको फाइनल सकिएपछि समापन समारोह हुनेछ । ओलम्पिक पदक तालिकामा शीर्ष स्थानको चीनलाई अमेरिकाले पछ्याइरहेको छ ।

चीन र अमेरिकाबीच अहिलेसम्म दुई स्वर्णको अन्तर छ । चीन ३८ स्वर्ण, ३१ रजत र १८ कास्यसहित ८७ पदकका साथ पहिलो र अमेरिका ३६ स्वर्ण, ३९ रजत र ३३ कास्यसहित १ सय ८ पदकका साथ दोस्रो स्थानमा छ ।

इतिहासकै सफलता प्राप्त गरेको जापानले २७ स्वर्ण, १२ रजत र १७ कास्यका साथ तेस्रो स्थानमा छ । गएको साउन ८ गते उद्घाटन भएको ३२ औं ग्रीष्मकालीन ओलम्पिकको आज समापन हुन लागेको हो ।

खेलकुदको कुम्भ मेला मानिने ओलम्पिकमा यसपालि २ सय ८ देशको प्रतिनिधित्व थियो । उद्घाटन समारोहको मार्च पासमा नेपालको झण्डा पौडी खेलाडी गौरीका सिंह र एलेक्स शाहले बोकेका थिए ।

ओलम्पिकमा नेपालबाट चार खेलमा पाँच खेलाडीको सहभागिता थियो । पौडीबाट गौरिका सिंह र एलेक्स शाह, शुटिङबाट कल्पना परियार, जुडोबाट सोनिया भट्ट र एथलेटिक्सबाट सरस्वती चौधरीले खेलेका थिए ।

तर पहिलो चरणबाटै बाहिरिए । टोकियो ओलम्पिक कोभिडका कारण एक वर्ष ढिलो भएको हो । ओलम्पिक इतिहासमा प्रतियोगिता सरेको यो नै पहिलो पटक थियो ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतवार ०८:५६