बाँके । बाँकेको नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पतालको बहुमत सेयर स्वामित्व खरिद बिक्रीको डिल अन्तिम समयमा पुगेर भाँडिएको छ । अन्तिम समयमा मेडिकल कलेजमा लगानी गरेको एउटा समूहले ‘डिल भाँडेको’ भनाइ स्रोतको छ । मेडिकल कलेज बिक्री भइसकेको चर्चा चलिरहेका बेला बिक्रीको डिल भाँडिएको हो ।
विराटनगरको नोबेल हस्पिटल र सिनामंगलको काठमाडौं मेडिकल कलेज (केएमसी)का समेत सञ्चालक रहेका डा.सुनिल शर्माले नेपालगन्ज मेडिकल कलेजको कम्तीमा ४६ प्रतिशत (१६ लाख कित्ता) सेयर प्रतिकित्ता ५०० रुपैयाँका दरले खरिद गर्ने गरी असार अन्तिममा नेगोशिएशन टुङ्ग्याएर दुई करोड बैनासमेत दिइसकेका थिए ।
सोहीअनुरुप किनबेच गर्ने पूर्वसहमति बमोजिम रकम भुक्तानी र स्वामित्व हस्तान्तरणका लागि डकुमेन्टेसनसमेत सकिएपछि मेडिकल कलेजमा लगानी गरेको एउटा समूहले ‘डिल भाँडेको’ स्रोतले बतायो । किनबेच गर्ने दुवै पक्षले बुधबार मध्यरात १२ बजेसम्म यसमा सहमतिको प्रयास गरेको थियो ।
त्यसका बाबजुद कलेजका अध्यक्ष दिनेश श्रेष्ठसहितको समूह सेयर बिक्रीको विपक्षमा पुगेपछि किनबेच सम्झौता टुटेको हो । श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हुन् । ‘अध्यक्षज्यूले सेयर तत्काल किनबेच नगर्ने भनेर राती सुनिल शर्मालाई खबर गर्नुभएको हो,’ श्रेष्ठनिकट स्रोतले भन्यो । यसअघि श्रेष्ठ आफैंले शर्माबाट बैना रकम बुझेका थिए ।
किनबेच सम्झौता तोडिएसँगै बैना रकम फिर्ता गर्न बिहीबार नै डा.सुरेशकुमार कनोडिया शर्माकहाँ पुगेको बुझिएको छ । मेडिकल कलेजका प्रबन्ध निर्देशकसमेत रहेका कनोडिया र उनको पारिवारिक सदस्यको नाममा अहिले मेडिकल कलेजमा प्रमुख लगानी छ । डा.शर्माले यही समूहको ३७.५ प्रतिशत र अन्य समूहको समेत सेयर खरिद गर्न खोजेका थिए ।
‘४६ प्रतिशत सेयर किन्ने प्रक्रिया अघि बढे पनि अन्य सञ्चालकले पनि आफ्नो सेयर बिक्री गर्न इच्छा देखाउँदा ५१ प्रतिशत पुग्थ्यो,’ शर्मा भन्छन्, ‘कनोडिया सरले पाँच प्रतिशत राखेर बाँकी सबै बिक्री गर्न खोज्नुभएको थियो । त्यहीअनुसार उहाँहरुको ३७.५ प्रतिशत र अर्को चार प्रतिशतको स्वामित्व हस्तान्तरण गर्न ल्याप्चे थिचेर कागजै तयार भइसकेको थियो ।’
सुनिल शर्मा अहिले पनि नेपालगन्ज मेडिकलका एक लगानीकर्ता हुन् । उनीसँग ३.५ प्रतिशत सेयर छ । तत्काल डिल भंग नभएको भए हालको स्वामित्वलाई बढाएर ५१ प्रतिशतसम्म पुर्याउने योजनामा उनी थिए । पछिल्लो समय मेडिकल कजेलमा आक्रामक रूपमा लगानी विस्तार गरिरहेका शर्माले काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेज खरिदको दौडबाट बाहिरिएका थिए ।
त्यसको केही दिनभित्रै नेपालगन्ज मेडिकल कलेज किन्न लगभग ‘डिल क्लोज’ गरेका थिए । तर अन्तिम समयमा पुगेपछि मेडिकल कलेजका अध्यक्ष श्रेष्ठ र अर्का सेयरधनी खुमा अर्यालले नेपालगन्ज मेडिकल कलेजमा शर्मालाई बहुमत सेयरधनी बन्ने गरी भित्र्याउन अनिच्छा देखाउँदै डिल भंग गरेको बुझिएको छ ।
यद्यपि, राम्रो रेट पाए श्रेष्ठ पनि आफ्नो समूहको सेयर बिक्री गर्ने पक्षमा रहेको शर्माले बताए । मेडिकल कलेजमा खुमाको तर्फबाट सञ्चालक समितिमा भाइ भेषराज अर्यालले प्रतिनिधित्व गर्छन् । श्रेष्ठले भने रेटमा मात्र कुरो नमिलेको नभई मेडिकल कलेज चलाउन सक्ने सक्षम टिम भित्रियोस् भन्ने आफ्नो समूहले चाहेको बताए ।
श्रेष्ठको यस मेडिकल कलेजमा प्रत्यक्ष स्वामित्व ४.८९ प्रतिशत छ । उनको समूहका मुकुन्दभक्त श्रेष्ठको ४.२० प्रतिशत र शोभा होल्डिङ्सको नाममा ५.३१ प्रतिशत सेयर छ । शोभा होल्डिङ्स पनि दिनेश श्रेष्ठकै लगानीको कम्पनी हो । यसबाहेक अन्य साना लगानीकर्तासमेत गरी श्रेष्ठ समूहको यसमा २५ प्रतिशत हाराहारी लगानी छ ।
अर्यालको समेत जोड्दा अहिले शर्मालाई थप सेयर बिक्रीको विपक्षमा रहेको समूहसँग करिब ३५ प्रतिशत लगानी छ । अर्यालको यसमा १० प्रतिशत सेयर छ । डा.केएन अग्रवाल, अनिजबहादुर श्रेष्ठ, भेषराज अर्याल लगायतको पनि यसमा लगानी छ । श्रेष्ठले यस संस्थासँग २० सौं वर्षदेखि हाम्रो भावनात्मक सम्बन्ध रहेको बताए ।
उनी भन्छन्, ‘भावनात्मक सम्बन्धका बाबजुद पूर्वाधारअनुसार राम्रो मूल्य दिने र कलेज चलाउन सक्ने टिम आउँछ भने सेयर बिक्री गर्न समस्या होइन । लिमिटेड कम्पनी भएकाले अहिले पनि नेप्सेमा यसको सेयर ओभर द काउन्टरमार्फत किनबेच हुन सक्छ, यसअघि पनि भएकै हो, मात्र अहिलेजस्तो हल्ला नभएको न हो ।’
अध्यक्ष श्रेष्ठका अनुसार, खुमा अर्याल पहिलेदेखि नै आफ्नो सेयर बिक्री गर्ने पक्षमा थिएनन् । तर श्रेष्ठ स्वयम् भने राम्रो मूल्य आए स्वामित्व बिक्री गर्ने मनशायमा रहेका छन् । अहिले नेपालगन्ज मेडिकल कजेलमा कुल नौ जनाको सञ्चालक समितिमा श्रेष्ठ समूहबाट सबैभन्दा धेरै चारजना सदस्य रहेका छन् ।
बहुमत सेयर खरिदपछि शर्माले समितिको अध्यक्षका साथै बहुमत सदस्य आफ्नो तर्फबाट हुनुपर्ने सर्त राखेका थिए । सञ्चालक समिति अध्यक्ष गुमाउनुका साथै व्यवस्थापनमा समेत आफ्नो पकड कमजोर हुने भएपछि श्रेष्ठ समूहले शर्मालाई मेडिकल कलेजको सेयर खरिदबाट अहिले रोकेको भनाइ स्रोतको छ ।
यद्यपि, डिल ब्रेक भएकोमा आफू दुःखी नभएको शर्मा बताउँछन् । ‘हामीमध्येकै केही जानुपर्छ भन्नेमा थियौं केही जानुहुँदैन भन्नेमा । यसैले डिल ब्रेक भएकोमा पनि हामी त्यतिसाह्रो दुःखी छैनौं,’ शर्माले भने, ‘कलेज चलाउन चुनौतीपूर्ण छ । कलेज घाटामा छ भने तत्काल ४६ जना प्राध्यापक नियुक्त गर्न नसके मेडिकल काउन्सिलले सिट संख्या ५० मा झारिदिन्छ ।’
अहिले यसले एमबीबीएसमा १५० जना पढाउने अनुमति पाएको भए पनि त्यसलाई कायम राख्न तत्काल ४६ जना मेडिकल शिक्षक÷प्राध्यापक नियुक्त गर्नुपर्ने दबाब व्यवस्थापन तथा सञ्चालकलाई छ । अर्कोतर्फ, पछिल्लो दुई वर्षमा मात्र यस नेपालगन्ज मेडिकल कलेजको घाटा ३० करोड रुपैयाँ रहेका अनुमान छ ।
ओभर स्टाफिङका कारण यसको सञ्चालन खर्च ठूलो छ । श्रेष्ठका अनुसार, यसमा अहिले करिब १५ सय जना कर्मचारी छन् । यसकारण पनि डा.शर्माले नेपालगन्ज मेडिकल कजेल सञ्चालन चुनौतीपूर्ण भएकाले बहुमत लगानीपछि सञ्चालक समिति र व्यवस्थापनमा आफ्नो पकड चाहेको स्रोत बताउँछ ।
पछिल्लो दुई वर्षयता घाटामा चलिरहेको नेपालगन्ज मेडिकल कलेजको डा.शर्मासँग बहुमत सेयर खरिद बिक्रीको सहमति हुँदा भवन संरचनाबाहेक ७० हेक्टर जमिन पनि रहेको नेपालगन्ज मेडिकल कलेजको करिब ३४ लाख ८० हजार कित्ता सेयरको कुल मूल्यांकन ५०० रुपैयाँको दरले कुल एक अर्ब ७४ करोड रुपैयाँ हाराहारी भएको थियो ।
१९९६ मा स्थापना भएको यो मेडिकल कलेजले सन् १९९७ देखि एमबीबीएस अध्यापन गराउन थालेको हो । त्यसको तीन वर्षपछि नर्सिङ पढाउन सुरु गरेको यसले पोस्टग्रयाजुएट (एमडी/एमएस) मा २००७ देखि भर्ना लिन थालेको हो । अहिले भारतदेखि श्रीलंकासम्मका विद्यार्थी यस मेडिकल कलेजमा बढिरहेको श्रेष्ठको भनाइ छ ।
यसले बाँकेको नेपालगन्ज र कोहलपुर दुई ठाउँमा अस्पतालसहितको नेपालगन्ज मेडिकल कलेज सञ्चालन गरिरहेको छ । दुवै ठाउँमा प्रशस्त जग्गासहित भवन र अन्य अस्पताल पूर्वाधारहरु छन् । कोहरपुरस्थित मुख्य मेडिकल कलेजको अस्पताल ७५० शैय्या क्षमताको र नेपालगन्जको २५० शैय्याको रहेको छ ।
।