सूचनाको शक्ति - The Power Of Information

        

भेरी अस्पतालमा दुई कोरोना सङ्क्रमितको मृत्यु

फाइल तस्वीर

बाँके । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गुलरिया नगरपालिका–९ का ५० वर्षीय पुरुष र बारबर्दिया नगरपालिका– २ का ५२ वर्षीय पुरुष रहेका जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र, बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए ।

योसँगै कोरोना सङ्क्रमण भई अन्यत्र जिल्लाबाट बाँके आएका ३८३ को मृत्यु भएको छ । जिल्लाका अस्पतालमा कोरोना उपचारका लागि भर्ना हुने र मृत्यु हुने सङ्क्रमितको सङ्ख्या पुनः बढ्दै गएको छ । सङ्क्रमण दर बढ्दै गएपछि प्रशासनले भीडभाड नगर्न र स्वास्थ्य मापदण्डलाई पूर्णरुपमा पालना गर्न पुनः सचेत पारेको छ ।

परीक्षणको नतिजाबाट सङ्क्रमणको दर उच्च हुँदै गएको र अस्पतालमा पनि कोरोनाका बिरामीको चाप बढ्दै गएकाले रोकथाम र नियन्त्रणका लागि पूर्व सावधानी अपनाई सङ्क्रमण दर शून्यमा झार्न सबैको अहम् जिम्मेवारी र भूमिका रहेको जनाइएको छ ।

जिल्लामा निषेधाज्ञा कायमै रहेको अवस्थामा विभिन्न व्यक्ति र समूहबाट भीडभाड जन्य क्रियाकलाप गर्ने, तोकिएको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगरी सार्वजनिक गतिविधिमा संलग्न हुने गर्दा जोखिम उच्च हुन गई सम्भावित तेस्रो लहरको प्रतिकार्यमा समेत बाधा पुग्न जाने भएकाले तत्काल त्यस्ता गतिविधि नगर्न र नगराउन सचेत पारिएको जनाइएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार १७:००