बाँके । उत्तर–पूर्वमा बाबुकुवा सामुदायीक बन, पश्चिम–दक्षिणमा राँझा–कम्दी चक्रपथ । डुडुवा गाउँपालिका–५ कम्दीको नानापुरस्थित ‘यु’ आकारमा फैलिएको ताल । तालसँगै जोडिएको डुडुवा गाउँपालिका–५ को वडा कार्यालय । आहा ! ‘कम्दीको फेवाताल’ साँच्चै कति सुन्दर हरियाली प्राकृतिक दृष्य । अहिलेसम्म उक्त तालको खास प्रचलित तथा ऐतिहासिक नाम छैन । उक्त ताललाई स्थानीयहरुले ‘कम्दीको फेवाताल’ भन्ने गरेका छन् ।
उत्तर–पूर्वमा रहेको बाबुकुवा सामुदायीक बन बाँके निकुञ्जको कम्दी करिडोरसँग जोडिएको छ । सामुदायीक बनसँगै जोडिएको तालको उत्तर–पूर्वमा रहेका घना जंगलले थप मनमोहक बनाएको छ । गोधुली साँझमा हरियाली जंगलभित्रबाट आउने चराहरुको चिरबिर आवाजले झनै सौन्दर्यतासँगै डुबुल्की मारु झैं लाग्छ । बिहान उठ्दा हरियाली जंगलभित्र उसैगरी आउने चराचुरुङ्गीहरुको चिरबिर आवाजले झनै मन भावनाभित्र बहकाउँछ ।
डुडुवा गाउँपालिकामै महत्वपूर्ण मानिएको फेवाताल यस क्षेत्रमा पर्यटनकै एक महत्वपूर्ण गन्तव्य बन्दै गएको छ । यहाँ पुग्दा सायद जोकोही पर्यटक नलोभिने त कुरै थिएन, जुन कल्पना गरेभन्दा पनि नितान्त फरक र यतार्थपरक । ताल क्षेत्र आसपासको प्राकृतिक स्वरुपको बेजोड घनिभुत सौन्दर्यता । गर्मी मौसममा पनि ‘फेवाताल’ आसपास हरियाली जंगलले सिर्जना गरेको चिसो फुर्रर फुर्रर बतासले जो कोहीलाई पनि आनन्दित तुल्याउँछ ।
विगतमा सामुदायिक बनले ‘फेवाताल’को संरक्षण गर्दै आएको थियो । केही बर्षअघिसम्म गुमनाम रहेको ‘फेवाताल’को संरक्षण, विकास तथा पूर्वाधार निर्माणका लागि अहिले स्थानीय सरकारसँगै विभिन्न संघसंस्थाहरु जुटेका छन् । पछिल्लो समयमा ‘कम्दीको फेवाताल’ आन्तरिक पर्यटकहरुका लागि आकर्षण र बाँके जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य बन्दै गएको डुडुवा गाउँपालिका–५ का वडाध्यक्ष पर्शुराम बुढाथोकी बताउँछन् ।
बाह्रै महिना एकनास देखिने ‘कम्दीको फेवाताल’सम्म पुग्नका लागि नेपालगन्ज–सुर्खेत सडक खण्डको राँझा चौकबाट ६ किलोमिटर दुरीमा रहेको छ । जसमा चार किलोमिटर कालोपत्रे र दुई किलोमिटर ग्राभेल सडक रहेको छ । नेपालगन्जबाट झण्डै २० मिनेटको यात्रामा पुग्न सकिने ‘कम्दीको फेवाताल’ हेर्न र घुम्न जाने आन्तरिक पर्यटकको संख्या बढेसँगै ताल वरपर भौतिक पूर्वाधार निर्माणमा स्थानीय सरकारको चासो पनि बढ्न थालेको छ ।
ताल वरपर भइरहेका पूर्वाधार विकासले यहाँको पर्यटन प्रवद्र्धनले गति लिँदैछ । आन्तरिक पर्यटक बाक्लिँदै जान थालेको छ भने हिँउदको समयमा आउने चरा अवलोकन पनि गर्न पाइने स्थानीयहरु बताउँछन् । पछिल्लो केही समयदेखि तालमा बाह्य क्षेत्रबाट सारस, बकुल्ला लगायतका आगन्तुक चराहरु आउन थालेपछि चरा हेर्न आउने आन्तरिक पर्यटकको संख्या बढ्न थालेको वडाध्यक्ष बुढाथोकी बताउँछन् ।
पछिल्लो समय आन्तरिक पर्यटकका लागि ‘कम्दीको फेवाताल’ आकर्षणको गन्तव्य बन्न थालेको छ । झण्डै तीन बिगाहा क्षेत्रफलमा फैलिएको ताल वरपर स्थानीय सरकार आएसँगै पूर्वाधार निर्माणले गति लिएसँगै तालको विकास बौरिँदै गएको छ । ताल हेर्न र पिकनिक खान आउने आन्तरिक पर्यटकको संख्या वृद्धि भएसँगै स्वर्गीय सांसद दिनेशचन्द्र यादवको संसद विकास कोषको १० लाख रुपैयाँको लागतमा ट्रष्ट निर्माण गरिएको छ ।
वडाध्यक्ष बुढाथोकीका अनुसार ताल क्षेत्रमा करिब ५ लाख रुपैयाँ लगानीमा लायन्स क्लवले गोलघर निर्माण गरिएको वडाध्यक्ष बुढाथोकी बताउँछन् । उनका अनुसार आर्थिक बर्ष २०७७/०७८ मा वडापालिकाले १० लाख रुपैयाँ लागतमा पार्क निर्माण गरेको छ । आन्तरिक पर्यटकलाई तालमा रमाउनका लागि डुङ्गा व्यवस्थापनको तयारी गरिरहेको छ । ‘अझै पनि धेरै संरचनाहरु निर्माण आवश्यक छ,’ वडाध्यक्ष बुढाथोकीले भने ।
मन्दीर निर्माणमा बजेट अभाव
‘कम्दीको फेवाताल’को बीच भागमा ‘तालबाराही मन्दीर’ बनाउन बजेट अभाव भएको छ । तलाउको बीच भागमा मन्दीर बनाउनका लागि सामुदायीक बनको ५ लाख रुपैयाँको लागतमा फाउण्डेसन (जग) तयार भएको र त्यसपछि बजेट अभावमा थप संरचना निर्माण रोकिएको छ । वडाध्यक्ष बुढाथोकीले भने, ‘जग हालेको छ, त्यसभन्दा माथिको संरचना निर्माणका लागि बजेट छैन । बजेट अभावले मन्दीरको निर्माण रोकिएको छ ।’
वडाध्यक्ष बुढाथोकीका अनुसार मन्दीर निर्माणका लागि झण्डै २५ लाख रुपैयाँ आवश्यक पर्ने देखिन्छ । ‘वडापालिकासँग बजेट छैन, गाउँपालिकामा आवश्यक बजेटका लागि पहल गरिरहेका छौं । प्रदेश तथा केन्द्र सरकारले यहाँको पर्यटन प्रवद्र्धनका लागि आवश्यक बजेट दिएमा यहाँको पर्यटन विकासले थप गति लिने थियो,’ वडाध्यक्ष बुढाथोकीले भने, ‘पर्यटन पूर्वाधार विकासका लागि अन्य संघसंस्थासँग पनि पहल गरिरहेका छौं ।’
उनका अनुसार अहिले पनि ‘फेवाताल’ क्षेत्रमा फुटट्रेल, प्रतिक्षालय, चिल्ड्रेन पार्क, बोटिङ्ग स्पट, पिकनिक स्पट लगायतका संरचनाहरु निर्माण गर्नुपर्नेछ । डुडुवा गाउँपलिका क्षेत्रकै सबैभन्दा ठूलो यो तालको संरक्षण र प्रवद्र्धन तथा नियमित सरसफाई जस्ता कार्यक्रम पनि आवश्यक देखिएका छन् । वडाध्यक्ष बुढाथोकीले भने, ‘तालको सौन्दर्य जोगाएर जिल्लाकै आकर्षक पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्ने वडापालिकाको योजना छ ।’
स्थानीय सरकार र समुदायले पर्यटकीय धार्मिक र साँस्कृतिक गतिविधि सञ्चालन गरी पर्यटन पूर्वाधार विकास गरी ‘फेवाताल’लाई आकर्षक पर्यटकीयस्थलका रूपमा प्रचारप्रसार गर्न सके डुडुवा गाउँपालिकाकै गहनाका रूपमा सावित हुने देखिन्छ । गाउँपालिकामा रहेको ‘फेवाताल’लाई यहाँको महत्वपूर्ण महत्वपूर्ण गन्तव्यका रूपमा विकास हुने आशा गरिएको छ । यसका लागि गाउँपालिकाले पनि विशेष योजना बनाएर अघि बढ्न जरुरी छ ।
।