बाँके । स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्लो समयमा जनचेतना बढ्दै गएपछि बाँकेको जानकी गाउँपालिकामा हरेक वर्ष स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको हो । गाउँपालिकाका तीन वटा स्वास्थ्य चौकीमा चालु आर्थिक बर्ष २०७७/०७८ को पहिलो र दोस्रो चौमासिकसम्म ५८७ जनाले नियमित गर्भ जाँचसँगै सुत्केरी गराएको गाउँपालिकाका स्वास्थ्य शाखाले जनाएको छ । जसअनुसार पहिलो चौमासिकमा २९३ र दोस्रो चौमासिकमा २९४ जनाले सुत्केरी सेवा लिएको गाउँपालिकाका स्वास्थ्य संयोजक दलबहादुर रानाले जानकारी दिए ।
गाउँपालिकाको वडा नं. १, २ र ६ मा रहेका तीन वटा प्रसुती गृहमार्फत नियमित गर्भ जाँच र सुत्केरी गराइन्छ । संयोजक रानाका अनुसार गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्थामा गर्भ जाँच गराएकामध्ये केहीले नेपालगन्ज तथा आसपासका अन्य स्वास्थ्य संस्थामा समेत सुत्केरी गराउँदै आएका छन् । पछिल्लो समयमा स्वास्थ्य चौकीमै गएर सुत्केरी गराउनुपर्छ भन्ने जनचेतना र स्वास्थ्य चौकीले दिने २४ घण्टे सेवाका कारण स्वास्थ्य चौकीमा सुत्केरी गराउनेको सङ्ख्यामा बढेको रानाले बताए । रानाका अनुसार गाउँपालिकाभित्र गर्भवती भए नभएको नियमित निगरानी र परामर्श गर्ने गरिएको छ ।
अन्य गाउँपालिकाको तुलनामा खोप तथा सुरक्षित मातृत्व कार्यक्रम प्रभावकारी रहेको पनि स्वास्थ्य संयोजक रानाले बताए । स्वास्थ्य चौकीमै सुुत्केरी हुन आउन भन्ने उद्देश्यले २०७४ सालबाट सुरु भएको सुत्केरी प्रोत्साहन कार्यक्रम प्रभावकारी देखिएको गाउँपालिका कार्यालयले जनाएको छ । गर्भवती भएपछि नियमितरुपमा चेकजाँचमा पनि नआउने र असुरक्षितरुपमा घरमै सुत्केरी हुने हुँदा महिला र बच्चाको समेत ज्यान जोखिममा पर्ने भएकाले सरकारले यो कार्यक्रम सुरु गरेको हो । जनप्रतिनिधि आइसकेपछि यस कार्यक्रमलाई थप प्रभावकारी बनाइरहेको छ ।
सुत्केरी प्रोत्साहन कार्यक्रम सुरु भइसकेपछि अहिले महिला गर्भवती भएपछि नियमित चेकजाँचमा आउने गरेको र अस्पताल अथवा स्वास्थ्य चौकीमै सुत्केरी हुने गरेका छन् । गाउँपालिकाले सुत्केरी प्रोत्साहन कार्यक्रमको पहिलो चौमासिकमा ५ लाख ३० हजार ४०० र दोस्रो चौमासिकमा ४ लाख ३५ हजार ६०० गरी ९ लाख ६४ हजार रुपैयाँ खर्च गरिसकेको छ । गाउँपालिका कार्यालयका अनुसार यस कार्यक्रमले सुत्केरी हुनका लागि स्वास्थ्य संस्थामै आउने महिलाको संख्या बढेको छ ।
सरकारी स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी गराउनेलाई सरकारले यातायात खर्चस्वरुप १ हजार रुपैयाँ र चार पटकसम्म नियमित गर्भवती जाँच गराएबापत ८०० रुपैयाँ उपलब्ध गराउँदै आएको छ । यसले पनि स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलाको आकर्षण बढेको स्वास्थ्य संयोजक रानाले बताए । उनका अनुसार सरकारी स्वास्थ्य संस्थामा सुरक्षितरुपमा सुत्केरी गराउँदा हुने सुरक्षाका बारेमा सचेतना बढेका कारण पनि स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलाको संख्यामा उल्लेख्य वृद्धि भएको छ । गर्भवती महिलालाई मान्यताप्राप्त स्वास्थ्य संस्थामै पुगेर सुत्केरी हुन प्रोत्साहन गराउने कार्यक्रम प्रभावकारी बनेको स्वास्थ्य संयोजक रानाको भनाई छ ।
अस्पतालमै सुत्केरी गराएर आमा र बच्चाको जीवन जोखिममा पर्नबाट जोगाउन सुत्केरी प्रोत्साहन कार्यक्रम प्रभावकारी देखिएको उनले बताए । रानाले गर्भवती हुँदा गर्नुपर्ने नियमित स्वास्थ्य जाँच सूचीकृत स्वास्थ्य संस्थामा गरेको, विभिन्न खोप लगाएको, आइरन चक्की र जुकाको औषधी खाएकोे तथा बच्चा जन्मिसकेपछि नियमित स्वास्थ्य जाँच गराउन सचेतनाका कामहरु पनि भइरहेको बताए । कार्यक्रम सञ्चालनपछि अहिले गर्भवती महिला अस्पतालमै आएर सुत्केरी हुने गरेका छन् । यो कार्यक्रम अभियानकै रुपमा गाउँपालिकाका सबै वडा तथा स्वास्थ्य संस्थामार्फत सञ्चालन भइरहेको छ ।
यस कार्यक्रमलाई प्रभावकारी बनाउन निरन्तररुपमा स्वास्थ्यकर्मी लागिपरेका छन् । निकट भविष्यमै जानकी ‘शून्य होमडेलीभरी’ बन्ने दिशातर्फ उन्मूख भएको छ । स्वास्थ्य चौकीमा सुत्केरी हुँदा पाएको रकमले सुत्केरी भएका महिलाहरुले राहत महसुस गर्ने गरेका छन् । ‘हुने खानेलाई यो पैसा केही होइन, तर नहुनेलाई धेरै राहत भएको छ,’ उनी भन्छन्, ‘सुत्केरी हुँदा ज्यान पनि जोगिने पैसा पनि पाइने । यति भएपछि गर्भवती महिला स्वास्थ्य संस्थामै सुत्केरी हुन आउँछन् ।’ सुत्केरी बेथा लाग्ने बित्तिकै गाउँका महिलाहरु स्वास्थ्य संस्थामा आउने गरेको उहाँको भनाई छ । उनी भन्छन्, ‘घरमा सुत्केरी हुँदा जीउ तलमाथि हुन्छ कि भन्ने डरले पनि गर्भवती महिला व्यथा लाग्न थालेपछि स्वास्थ्य संस्थामा आएपछि सुरक्षितरुपमा ढुक्कसँग सुत्केरी भएर घर फर्किन्छन् ।’
यातायात खर्च र प्रोत्साहन भत्ताले नवजात शिशु तथा सुत्केरी महिलाको मृत्युदरमा कमी आएको जानकी गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । भत्ताले स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने महिलाको सङ्ख्या बढेको र मातृ मृत्यदर तथा नवजात शिशुको मृत्युदरमा पनि उल्लेख्य कमी आएको स्वास्थ्य संयोजक रानाले बताए । पैसा पाइने भएपछि नियमित गर्भ परीक्षण गर्ने र सुत्केरी हुन स्वास्थ्य संस्थामा आउन थालेको उनले बताए । ‘विपन्न अवस्थाका सुत्केरीलाई उक्त रकमले धेरै राहत पुगेको छ,’ उनी भन्छन्, ‘त्यही पैसाले सुत्केरीलाई माछा, मासु, नुनतेल किन्न सजिलो पनि बनाएको छ ।’
घरमै सुत्केरी हुँदा आमा र बच्चाको ज्यान जोखिममा पर्ने भएकोले स्वास्थ्य संस्थामै नियमित चेकजाँच र सुत्करी गराउनुपर्छ भन्ने सन्देशसहित सचेतनामूलक कार्यक्रमहरु पनि गरिरहेको गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत बसबहादुर रानाले जानकारी दिए । उनले भने, ‘सुत्केरी हुँदा आमा र बच्चाको ज्यान जोखिममा नपरोस् भनेर स्वास्थ्य संस्थामै सुत्केरी हुन प्रोत्साहन गरिरहेका छौं ।’ घरमै सुत्केरी हुँदा आमा र बच्चाको ज्यानै जाने अवस्थाको अन्त्य गर्न गाउँपालिकाका स्वास्थ्यकर्मीहरु लागिपरेको पनि प्रमूख प्रशासकीय अधिकृत रानाको भनाई छ । उनका अनुसार महिला स्वास्थ्य स्वयंसेविकाले स्थायी तथा अस्थायी परिवार नियोजन सेवाबारे परामर्श र सेवाको लागि प्रेषण गर्ने, पिल्स तथा कण्डम वितरण पनि गर्दै आएका छन् ।
जानकी गाउँपालिकामा ८१ जना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् । समुदायस्तरमै महिलाहरुको सहभागितामा स्वास्थ्य सम्बन्धि परामर्श, सेवा र सल्लाह वृद्धि गर्ने उद्देश्यले महिला स्वास्थ्य स्वयंसेविकाको छनौट गरिन्छ । समुदायमै महिला स्वास्थ्य स्वयंसेविका छनौट हुन्छन् र विभिन्न तालिम तथा गोष्ठीमार्फत उनीहरुको क्षमता अभिवृद्धि गरिन्छ । स्वयंसेवी भावनाले प्रेरीत र समुदायमा निःशुल्करुपमा स्वास्थ्य सम्बन्धि परामर्श, सहयोग तथा सेवाका लागि जानकारी प्रदान गर्न महिला स्वास्थ्य स्वयंसेविकाको छनौट गरिएको हो । स्वास्थ्य स्वयंसेविकाहरु स्थानीयस्तरमा गठित स्वास्थ्य आमा समूहका सदस्यहरु मध्येबाट छनौट हुन्छन् । नेपालका सबै गाउँपालिकाका प्रत्येक वडामा कम्तीमा एक जना महिला स्वास्थ्य स्वयंसेविका हुन्छन् र हाल नेपालमा करिब ४९ हजार महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् ।
स्वास्थ्य आमा समूहलाई समावेशी बनाउन र सेवाको पहुँचबाट टाढा रहेका वर्ग र समुदायमा सेवा विस्तार गर्नमा महिला स्वास्थ्य स्वयंसेविकाले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । नेपाल सरकारले महिला स्वास्थ्य स्वयंसेविकाको कार्यको पहिचानका लागि लोगोसमेत निर्माण गरेको छ । स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य संस्थाबाट प्राप्त गरेको ज्ञान र सीपबाट आफ्नो गाउँपालिका, स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीसँग समन्वय गरी समुदायमा प्रचारप्रसार, सेवाबारे परामर्श तथा जानकारी, प्रेषण तथा सेवाहरुसमेत प्रदान गर्दै आएका छन् । अझ स्वयंसेविकाकै रिपोर्टको आधारमा स्वास्थ्य संस्थाले बालबालिका र गर्भवती महिलाको अवस्थाका बारेमा सरकारलाई जानकारी गराइन्छ । महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य संस्थाबाट प्राप्त गरेको ज्ञान र सीपका कारण ग्रामीण क्षेत्रका गर्भवती महिलालाई सुत्केरी हुन थप सहज भएको छ ।
।