बझाङ । बझाङका चार स्थानिय तहले एकल पुरुषलाई पनि भत्ता दिने भएका छन ।
स्थानिय तहले कार्यविधि बनाएर श्रीमतीको मृत्यु भएपछि एक्लो जीवन विताईरहेका ५० वर्ष भन्दा माथिका एकल पुरुषलाई मासिक ५ सय देखी २ हजार रुपैयाँसम्म सामाजिक सुरक्षा भत्ता दिदै आएका छन ।
एकल पुरुष भत्ता दिनेमा दुर्गाथली, थलारा, वित्थडचिर गाँउपालिका र जयपृथ्वी नगरपालिका रहेका छन । जयपृथ्वी नगरपालिका र थलारा गाउँपालिकाले २०७७ सालमा कार्यविधि बनाई निति तथा कार्यक्रममा समावेश गरी भत्ता दिन सुरु गरेका छन ।
दुर्गाथली र वित्थडचिर गाउँपालिकाले पनि कार्यविधि पारित गरेर यहि आर्थिक बर्षको साउन देखि एकल पुरुषलाई भत्ता दिने भएका छन ।
श्रीमतीको निधनपछि एकल पुरुषसमेत पीडित हुने अवस्थालाई हटाउन एकल पुरुष भत्ताको व्यवस्था गरेको दुर्गाथली गाउँपालिकाका अध्यक्ष प्रयागराज जोशीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सरकारले ७० बर्ष नाघेका जेष्ठ नागरिक, एकल महिला, दलित समु्दायका मानिसहरुलाई सामाजिक सुरक्षा भत्ता दिदै आएको छ ।
श्रीमतीको निधनपछि समाजमा एकल महिलाजस्तै एकल पुरुषलाई पनि जीविकोपार्जन गर्न कठिन हुने भएकाले सामाजिक रुपमा भत्ता दिने व्यवस्था गरेका हौ । ’
वित्थडचिर गाउँपालिका प्रवक्ता तथा वडानम्बर ६ का अध्यक्ष हर्क बोहराले समाजमा एकल महिलाभन्दा एकल पुरुषलाई जीविकोपार्जन गर्न कठिन भएकाले गाउँपालिकाबाट एकल पुरुषलाई भत्ताको व्यवस्था गरिएको बताउनुभयो ।
बोहराले भन्नुभयो, ‘छोरा बुहारी काममा व्यस्त हुने र श्रीमतीको मृत्यु भएका पुरुषहरु अन्य पुरुषहरुको तुलनामा एक्लोपन महसुस गर्ने भएकाले बुढेसकालको साहारा बन्न गाँउपालिकाले भत्ताको व्यवस्था गर्नुपर्छ भन्ने आवाज एकल पुरुषहरु बाट आएकाले हामीले कार्यविधि बनाई प्रक्रिया अघि बढाएका हौ ।’ गाउँपालिकाले दिने एकल पुरुष भत्ताले उहाँहरुको दैनिकीमा केही राहत हुने प्रवक्ता धामीको भनाई छ ।
४ वटै स्थानिय तहहरुले ५० वर्ष भन्दा माथि ७० वर्ष नपुगेका एकल पुरुषलाई र ६० बर्ष नपुगेका दलित एकल पुरुषहरुलाई मासिक ५ सय देखि १५ सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता दिँदै आएको छन ।
समाजमा एकल महिलाजस्तै एकल पुरुषलाई पनि जीविकोपार्जन गर्न कठिन हुने भएकाले नगरपालिकाले एकल पुरुषलाई भत्ता प्रदान गर्दै आएको जयपृथ्वी नगरपालिका प्रवक्ता सविता खड्काले बताउनुभयो ।
आर्थिक अवस्था कमजोर भएर एकल पुरुषले सामान्य उपचार सेवासमेत पाउन नसकेको र बिहान–बेलुका छाक टार्नसमेत मुस्किल भएकाले त्यस्ता एकल पुरुषको संख्या पहिचान गरी सामाजिक सुरक्षा भत्ता दिन थालिएको प्रवक्ता खड्काले बताउनुभयो ।
।