सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ताको तयारी

काठमाडौं । नेकपा (एमाले)को विवाद मिलाउनका लागि आज अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटघाट हुने भएको छ । गत आइतबार राति संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र उपमहासचिव बिष्णु पौडेलले अध्यक्ष ओलीसँग करिब चार घण्टा छलफल गरेका थिए ।

यता माधव नेपालसँग भीम रावल सुरेन्द्र पाण्डे लगायतका नेताहरुले करिब छ घण्टा छलफल गरेको एमाले स्रोतको भनाइ छ । त्यसपछि सोमबार दुवै समूहले स्थायी कमिटी बैठकमा छलफल गरेका थिए । आ–आफ्नो समूहमा छलफल गरेर पुन विघटित कार्यदलको तहमा छलफल भएपछि आज अध्यक्ष ओलीलाई भेट्न नेपाल तयार भएका हुन् ।

भेटघाटको समय र स्थान भने टुंगो लागिसकेको छैन । ‘कुनै नाटकीय परिवर्तन नभए अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेट हुन्छ,’ उपनेता सुवास नेम्बाङले भने, ‘भेटघाटको समय र स्थान उहाँहरुको सचिवालयले मिलाउला ।’ कार्यदलले १० बुँदे सहमतिका आधारलाई टेकेर त्यसमा आवश्यक फेरबदल गर्ने जिम्मा ओली नेपाललाई दिने निर्णय गरेको छ ।

त्यस आधारमा जे जस्तो समझदारी गरे पनि पार्टीका नेता कार्यकर्ताले स्विकार्ने उच्च तहको समझदारी बनेको जनाइएको छ । ‘अध्यक्ष ओली र नेता नेपाल एक अर्काको प्रस्तावमा सहमत भएर नै भेटघाट तय भएको हो,’ कार्यदलका एक सदस्य भन्छन्, ‘दुवै नेताको भेटपछि एमाले नेता कार्यकर्ताले निराश हुनुपर्ने अवस्था आउँदैन ।’

आफ्नो समूहभित्रका अधिकांश नेताहरुले अध्यक्ष ओलीसँग सहमति गरेर अघि बढ्न नेता नेपाललाई दबाब दिएपछि केही दिनदेखि उनी लचिलो भएका हुन् । एमालेको खनाल–नेपाल समूहको हिजो बसेको स्थायी कमिटीको बैठकले आरोप प्रत्यारोप बन्द गरी शीर्ष नेतालाई वार्ताको वातावरण बनाउन दबाब दिएका थिए ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलवार ०८:०९