सूचनाको शक्ति - The Power Of Information

        

शिक्षा

नेताले अभिभावकत्व लिएका ‘छोराछोरी’को बिजोग, कापीकलम किन्नै मुस्किल

काठमाडौं । सरकारले आर्थिक विपन्नका बालबालिकाको अभिभावकत्व प्रदान गर्दा आफन्त होउन् या बालबालिका, सबैमा खुशीको सीमा हुन्न । अझ प्रधानमन्त्रीले टुहुरा बालबालिकालाई सुम्सुम्याउँदै काखमा राखिदिँदा माहौल बेग्लै हुन्छ । त्यही खुशी देखिन्थ्यो २०७५ वैशाख १ गते रारा तालको किनारमा ।

‘कर्णाली रारा पर्यटन वर्ष’मा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अभिभावकत्व ग्रहण गरेर छोरीसरह बनाएका थिए मुगुकी ठिल्ले साङमु लामालाई । लामालाई ओलीले विद्यालयमा भर्ना नै गरिदिए । त्यो बेला सम्मानित प्रधानमन्त्री पदमा रहेका ओली अर्थात् शैक्षिक अभिभावकत्व लिएका बाबा र छोरीको मायालु हेराइले स्वदेशी र विदेशीसम्मको नजर रारा तालको किनारतर्फ तानिरहेको थियो ।

तर, त्यो खुशी एक वर्ष पनि टिकेन । लामालाई त्यहाँको बुद्ध माध्यमिक विद्यालयमा भर्ना गरिदिएसँगै उच्च शिक्षा हासिल गर्ने र राम्रो मान्छे बनाउने सपना उनको अभिभावकमा थियो । तर, त्यो सपना पूरा हुन सकिरहेको छैन । अहिले उनलाई पढ्नभन्दा पनि खानलाई समस्या छ । पूर्व प्रधानमन्त्री ओलीले अभिभावकत्व ग्रहण गरेको समयमा ८ वर्षकी लामा अहिले ११ वर्षकी भएकी छिन् ।

बुद्ध माविको कक्षा–४ मा अध्ययनरत छिन् । विद्यालयका प्रधानाध्यापक टीकाप्रसाद उपाध्यायका अनुसार लामाको आर्थिक अवस्था कमजोर रहेका कारण पढ्नुभन्दा पनि हातमुख जोर्नै सकस छ । उनका अनुसार प्रधानमन्त्री ओली हुँदा वार्षिक खर्च भन्दै उनको नाममा १० देखि २० हजार रुपैयाँसम्म आउने गरेको थियो । तर, सरकार परिवर्तन भएपछि रकम आएको छैन ।

‘अहिले ती बालिकाको दैनिकी घाँस र गोठालोमै बितेको छ,’ प्रधानाध्यापक उपाध्याय भन्छन्, ‘कोरोनाले विद्यालय पनि बन्द छ, प्रविधिको पहुँच भएको ठाउँमा भर्चुअल माध्यमबाट पढाउने योजना छ, उनीहरूले कापीकलम पनि किनेका छैनन् होला, हामीले किताब भने निःशुल्क नै दिनेछौँ ।’

किताब बाहेक लामा र अन्य विद्यार्थीका लागि कापीकलम किनिदिन सक्ने अवस्थामा विद्यालय नरहेकाले आफैँले खर्च व्यहोर्नुपर्ने उनको भनाइ छ । तर, त्यतिखेरका प्रधानमन्त्रीकी छोरीलाई शैक्षिक सामग्री किनिदिन सक्ने अवस्था साङमुका परिवारसँग छैन । रारा पुगेकै बेला ओलीका धर्मपत्नी राधिका शाक्यले पनि त्यहाँकै छेरिङ छोन्तोम लामालाई विद्यालय भर्ना गरेर अभिभावकत्व ग्रहण गरेकी थिइन् ।

उनको अवस्था पनि ठिल्लेको जस्तै छ । त्यस्तै, पूर्वप्रधानमन्त्री ओली नै २०७५ वैशाख ५ गते कल्याणपुर नगरपालिका–११ का ५ वर्षीय रूपाकुमारी मण्डल (खत्वे) र ५ वर्षका पवन मल्लिक (डोम)लाई स्थानीय रामदुलारी माविमा भर्ना गराएर अभिभावकत्व प्रदान गरेका थिए । उनीहरूको अवस्था पनि साङमु र छोन्तोमको जस्तै छ ।

सरकारले राम्रो विद्यालयमा पढाउने अपेक्षा

साङमुका प्रधानाध्यापक उपाध्याय राज्यले अभिभावकत्व प्रदान गरेपछि योभन्दा राम्रो वातावरण अनि राम्रो विद्यालयमा पढ्न पाओस् भन्ने अपेक्षा परिवारले लिएको बताउँछन् । ‘हाम्रो विद्यालय पनि राम्रै हो, तै पनि राज्यले जिम्मा लिएपछि परिवारले भने राम्रो विद्यालयमा छोराछोरी पढाउन सहयोग गरेको भए हुन्थ्यो भन्छन्,’ उनले भने ।

सरकार फेरिएको छ, अहिले प्रधानमन्त्री पदमा शेरबहादुर देउवा छन् । सरकार परिवर्तन भए पनि बालबालिकालाई खर्च दिने कार्यक्रमलाई निरन्तरता दिनुपर्ने प्रधानाध्यापक उपाध्याय बताउँछन् । भन्छन्, ‘मन्त्री फेरिए पनि पद त त्यही हो, राज्यले अभिभावकत्व प्रदान गरेपछि बालबालिकाको लागि खर्च दिने यो कार्यक्रम निरन्तर हुनुपर्छ ।’

बालबालिका हेर्न नै जाँदैनन् नेता

एक समय बालबालिकाको अभिभावक ग्रहण गर्ने फेसन नै चलेको थियो । नेपाली कांग्रेसका नेता गगन थापाले पनि २०७५ वैशाख ३ गते सरकारको भर्ना अभियानलाई साथ दिँदै बूढानीलकण्ठ नगरपालिका–१३ की स्थानीय रशिका श्रेष्ठलाई भर्ना गरेर अभिभावकत्व ग्रहण गरेका थिए ।

उनले त्यसबेला रशिकालाई बुनपा चुनिखेलको जनउद्धार विद्यालयमा भर्ना गरेका थिए । सोही विद्यालय व्यवस्थापन समितिका सदस्य राजन महर्जनका अनुसार अहिले रशिका ८ वर्षकी भइसकिन् । उनी अहिले ३ कक्षामा अध्ययनरत छिन् । नेता थापा पछिल्लो समय रशिकालाई भेट्न नआएको सदस्य महर्जनले बताए ।

‘पहिला त के कस्तो अवस्था छ भनेर उहाँ बुझ्न आउनुहुन्थ्यो, अहिले भने आउनुभएको छैन, कक्षा पनि भएको छैन, कोरोना र कार्य व्यवस्थाले नभ्याएर पनि नआउनु भएको होला, कहिलेकाही फोनमा चाहिँ कुरा हुन्छ,’ विद्यालय व्यवस्थापन समितिका सदस्य महर्जनले भने, ‘अभिभावकत्य लिएपछि जिम्मेवारी त पुरा गर्नुपदथ्र्यो ।’

२०७५ वैशाख महिनामा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पश्चिम चितवनको मेघौलीमा अल्पसंख्यक समुदायका ९ वर्षीय अरूण मुसहर र साढे ४ वर्षीय पत्रुस माझीलाई स्थानीय साझापुर माध्यमिक विद्यालयमा भर्ना गराएर अभिभावकत्व प्रदान गरे । अहिले अरूण १२ र पत्रुस ७ वर्षका भए ।

उनीहरूलाई पढ्न भन्दा पनि अहिले दैनिक छाक टार्न नै समस्या छ । साझापुर माविका प्रधानाध्यापक डिल्लीराम सोडारीले उनी दुवैलाई अहिले खानाको समस्या भएको जानकारी दिए । उनले भने, ‘ड्रेस, किताब र कापीका लागि त विद्यालयले सहजीकरण गरिरहेको छ, तर, उनीहरूलाई हातमुख जोर्नै समस्या भइरहेछ ।’ उनका अनुसार अरूण अहिले ४ कक्षा र पत्रुस ३ कक्षामा अध्ययनरत छन् ।

प्रचण्डले अभिभावकत्व प्रदान गरेपनि दुवै बालबालिकाको लागि अहिलेसम्म व्यक्तिगत खर्च भने नदिएको प्रधानाध्यापक सोडारीले बताए । ‘दुवै जनाको घरबार छैन, त्यसैले राज्यले पहिलादेखि नै १५–२० लाख खर्च गरेर दुवै जनाको लागि घर बनाइदिने भनेको थियो । तर, अहिलेसम्म बन्न सकेको छैन, एक जनाको भने घर बन्दै गरेको सुनेको छु,’ उनले भने ।

मेघौली क्षेत्रमा अल्पसंख्यक माझी, बोटे र मुसहरहरूको बाहुल्यता रहेको छ । यो माओवादी अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्रमा पर्छ । यसैगरी अन्य नेताहरूले पनि विभिन्न बालबालिकाको अभिभावकत्व प्रदान गरेका छन् । तर, अभिभावकत्व प्रदान बाहेक केही उनीहरूले सहयोग गरेका पाइएको छैन । –थाहा खबर

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलवार ०७:५५