सूचनाको शक्ति - The Power Of Information

        

वरिष्ठ उपाध्यक्ष र प्रशिक्षकबिचकाे विवाद अब राखेपले छानविन गर्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फामा देखिएको पछिल्लो विवादमा अब राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले छानविन गर्ने भएको छ ।

वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ र प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीबिचको विवादमा अब परिषद्ले छानविन गर्ने भएको हो ।

यसअघि उक्त विवादको छानिवन गरि किनारा लगाईदिन एन्फाको कार्यसमिति बैठकले युवा तथा खेलकुद मन्त्रालयलाई आग्रह गरेको थियो ।

मन्त्रालयले हिजो यो जिम्मा राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई सुम्पिएको हो । नयाँ सरकार गठन भएलगत्तै युवा तथा खेलकुद मन्त्रालयले मन्त्री विहिन छ ।

मन्त्रालयको कार्यकारी जिम्मेवारीमा रहेका सचिव केदार न्यौपानेले फुटबल विवाद छानविनका लागि राखेपलाई जिम्मेवारी दिएका हुन् ।

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अलमुताइरीले वरिष्ठ उपाध्यक्ष नेम्वाङ्गका कारण आफुले राजीनामा दिने घोषणा गरेका थिए ।

आफुमाथि गम्भिर आरोप लागेपछि नेम्वाङ्गले छानविनका लागि एन्फामा निवेदन दिएका थिए । लगत्तै प्रशिक्षकले समेत दुई पत्रकार सहित वरिष्ठ उपाध्यक्षमाथि छानविनका लागि निवेदन दिएका थिए ।

यसैबिच, एन्फाका प्रवक्ता किरण राईले पदबाट राजीनामा दिएका छन् । उनले एन्फाभित्र गलत नजीर स्थापित हुन लागेको भन्दै खबरदारी गर्न राजीनामा दिएको बताएका छन् ।

प्रवक्ताबाट राजिनामा दिएका राईले विभिन्न पक्षबाट भइरहेका गतिविधिहरु बन्द गर्न आग्रह गर्दै एन्फा निर्वाचनको प्रक्रिया शुरु गर्नुपर्ने मध्यमार्गी प्रस्ताव पनि पेश गरेका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलवार ०७:३९