सूचनाको शक्ति - The Power Of Information

        

बाढीले मेलम्ची बजारका सात घर बगायो

सिन्धुपाल्चोक । मेलम्ची नदीमा आएको निरन्तरको बाढीले गएराति मेलम्ची नगरपालिका-११ मेलम्ची बजारका ७ घर बगाएको छ ।

असार १ को बाढीले डुबानमा परेका घर नदीले कटान गरेर बगाएको हो । मेलम्ची-११ पिपलबोटका हरीशरण श्रेष्ठ सहितको ६ र पुरानो बजारको १ घर बगाएको हाम्रा सहकर्मी किरण थापाले जानकारी दिनुभयो ।

शनिबार देखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६७ घर टहरा बगाएको छ । हेलम्बुका किउल, चनौटे, ग्याल्थुम लगागत क्षेत्रमा मात्र ५५ र तालामाराङ र मेलम्चीमा १२ घर टहरा बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार चनौटे ग्याल्थुम र ढुंगे बजार, बाढीले मेलम्ची–१२ मा रहेको मध्य पहाडी लोकमार्ग तथा मेलम्ची, इन्द्रावती, चौतारा र पाँचपोखरीलाई जोड्ने एक मात्र बाहुनेपाटी पुल जोखिममा परेको छ ।

यसअघि गएको असार १ गतेको बाढीबाट जोगिएको बाहुनेपाटी बजार अहिले भने जोखिममा रहेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलवार ०७:३६