सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीका चार एमाले सांसद पदमुक्त

काठमाडौं । कर्णाली प्रदेशमा नेकपा एमालेका तर्फबाट प्रतिनिधित्व गर्ने चार सांसद पदमुक्त भएका छन् । कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने एमालेका चार सांसदमाथि पार्टीले गरेको कारबाहीलाई सर्वोच्च अदालतले सदर गरिदिएपछि उनीहरु पदमुक्त भएका हुन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले यसअघि भएको अन्तरिम आदेश खारेजीको माग गर्दै दिएको भ्याकेटमा सुनुवाइ गर्दै अदालतले कारबाही सदर गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले भ्याकेट निवेदकको मागबमोजिम हुने फैसला गरेको सर्वोच्च प्रशासनले जनाएको छ ।

नेता माधव नेपाल पक्षका सांसदहरू प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीले फ्लोर क्रस गरेर मत दिएकै कारण कर्णाली प्रदेशमा महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगिएको थियो । यसअघि अदालतले उनीहरुको पदम थमौती गर्दै अन्तरिम आदेश दिएको थियो । सोविरुद्ध ओलीले भ्याकेट निवेदन दर्ता गराएका थिए ।

अदालतको आदेशमा भनिएको छ, ‘यसरी आफैँ समावेश भएको संसदीय दलको निर्णय विपरीत फ्लोर क्रस गरी दलको निर्णयविरुद्ध उभिई भएको कामकारबाहीलाई लोकतान्त्रिक पद्धति एवम् संस्कार र मान्यता अनुकूल एवम् नेपालको संविधान तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा २८ र दफा ३२ अनुकूल भएको मान्न नसकिने हुँदा यस अदालतबाट मिति २०७८–२–२७ मा जारी भएको अन्तरिम आदेशले निरन्तरता पाउन सक्ने अवस्था नदेखिँदा उक्त अन्तरिम आदेश खारेज हुने ठहर्छ ।’

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार १८:३२