सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

लुम्बिनी सत्ता परिवर्तनको खेल शुरु, सत्तापक्षलाई बहुमत पुर्याउन संकट

बुटवल । विगत तीन महिनादेखि लुम्बिनी प्रदेशमा जारी सत्ताको खेल नयाँ प्रदेश प्रमुख आएसँगै जटिल मोडतर्फ अगाडि बढेको छ । प्रदेश प्रमुख फेरिएपछि सत्ता परिवर्तनको खेल शुरू भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले पदभार सम्हालेलगत्तै विपक्षी गठबन्धनले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखलाई बहुमत सांसदको हस्ताक्षरसहित सोमवार निवेदन पेश गरे ।

यसरी विपक्षीले सरकार परिवर्तनको प्रयास शुरू गरेका छन् । यससँगै सत्ता राजनीतिमा प्रदेश प्रमुख तानिएका छन् । सरकारमा सहभागी जनता समाजवादी पार्टी (जसपा) नेपालका पदमुक्त मन्त्री पुनर्बहालीको माग गर्दै अदालत गएका छन् । सत्तापक्ष आदेशको पर्खाइमा छ । गठबन्धन नयाँ सरकार गठनका लागि उत्साहित छ भने सत्तापक्षलाई बहुमत पुर्याउन संकट देखिएको छ ।

विपक्षी चार दलीय गठबन्धनले प्रदेश प्रमुख अमिक शेरचनसँग भेट गरी संविधानको भाग १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गर्न आग्रह गरेका हुन् । लुम्बिनी प्रदेशसभाका विपक्षी दलका नेता वीरेन्द्रकुमार कनौडियाले अहिलेका मुख्यमन्त्री शंकर पोखरेल असंवैधानिक रूपमा पदमा रहेकाले संविधानको धारा १६८ (२) अनुसार नयाँ सरकार गठनको माग गरिएको बताए ।

उनले भने, ‘गठबन्धनले शुरूदेखि नै भन्दै आएअनुसार विपक्षी गठबन्धनसँग बहुमत भएकाले अल्पमतको सरकारले बाटो खाली गरी नयाँ सरकार गठनको प्रक्रिया तत्काल शुरू गर्न हामीले प्रदेश प्रमुखसँग माग गरेका छौं ।’ प्रदेश प्रमुख कानूनी परामर्श गरेर अगाडि बढ्ने सोचमा रहेका बताइएको छ । उनले विपक्षी गठबन्धनको निवेदन लिँदै कानून व्यवसायीसँग छलफल र संविधानको गहिरो अध्ययनबाट आफू अगाडि बढ्ने बताएका छन् ।

मुख्यमन्त्री नेतृत्वको वर्तमान सरकार संविधानको धारा १६८ उपधारा १ बमोजिम गठन भए पनि सरकार संयुक्त रहेको र त्यो अवैधानिक र अल्पमतमा परेकाले २ बमोजिम सरकार गठनको माग विपक्षीले गरेका छन् । विपक्षी दलहरूले ४१ जना सांसदको हस्ताक्षरसहित नयाँ सरकार गठनका लागि माग गरेका छन् । सदनमा अहिले ८३ सांसद कायम छन् । जसपाका ३ मन्त्री पदमुक्त भएकाले अहिले सत्तासिन एमालेसँग ३८ सांसद मात्र छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) नेपाल र राष्ट्रिय जनमोर्चाको गठबन्धन छ । विपक्षी गठबन्धनले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखलाई निवेदन दिएपछि सत्तापक्ष प्रदेश प्रमुखको कदमको पर्खाइमा छ । मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारले बहुमत नपुग्ने डरले सदनबाट बजेट पास गर्न हिम्मत नजुटाएपछि अध्यादेशबाट बजेट ल्याएको थियो ।

सत्तारुढ एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले भने, ‘प्रदेश प्रमुख कसरी अगाडि बढ्नुहुन्छ ? त्यो हेर्न बाँकी छ । कसैलाई मन्त्री र मुख्यमन्त्री चाहिँदैनमा नयाँ सरकार बन्न सक्दैन । हेरौं न प्रदेश प्रमुख कसरी अगाडि बढ्नुहुन्छ ? हामीले त उपयुक्त समयमा सदनमा विश्वासको मत लिन्छौं भनेका नै छौं नि ! कसैलाई हतार हुँदैमा नयाँ सरकार बन्न सक्दैन ।’ ढकालले सरकारसँग स्पष्ट बहुमत रहेकाले त्यो सदनमा देखाउने दाबी गरे ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार १७:२३