काठमाडौं । अविवेकी र अमानवीय हर्कतमात्र नभई अत्याचारले पनि कहिलेकाहीँ पराकाष्ठा नाघ्छ नेपाल र भारतबीचको सीमामा हुने नेपालीमाथिको दुर्व्यवहारले । स्वाभिमान भूगोल र क्षेत्रफलको आधारमा ठूलो र सानो हुन्छ भन्ने भ्रम र अहम् पालेर सीमा क्षेत्रमा रखबारी गर्न आइपुग्ने भारतीय सीमा सुरक्षा बल एसएसबीका ज्यादतीले सीमा नाघ्दा नेपाली प्रताडित नभएको ठाउँ नै छैन ।
अत्याचारले पराकाष्ठा नाघ्दा शुक्रबार महाकाली नदीको उर्लदो भेलमा जयसिंह धामी बगेर बेपत्ता भए । दार्चुलाको व्यास गाउँपालिका–२ बाट भारतको बाटो भएर सदरमुकाम जान खोज्दा एसएसबीले तुइनको लठ्ठा फुस्काइदिए पछि ३३ वर्षीय जयसिंह धामी महाकालीमा विलिन बने । तर भारतीय पक्षले एसएसबीले तुइनको तार नकाटेको र नफुकालेको दावी गरेको छ । जयसिंहलाई तुइनबाट तार्नेहरुको आँखाले धोका खाएको छैन ।
उनलाई तार्ने र उनीसँगै काठमाडौंको यात्रामा निस्किएका अन्य पनि महाकाली किनारमा साक्षी छन । जयसिंह नफर्कने गरि बग्दा भारतीय पक्षले बोलेको झुठमा विश्वास गर्ने हो र थप कुरा अघि नबढाउने हो भने महाकालीले यसरी नै धेरै जयसिंहहरुलाई निलिरहने निश्चित छ । बर्षौदेखि पुलको माग गर्दै आएका आफ्नो जनताका लागि पुल बनाउन नसक्ने सरकारले यो घटनामा चुप बसे आफ्नै जनतामाथि अन्यायको पराकाष्ठा हुने छ । किनभने सीमामा बस्ने नेपालीहरुले राज्यको अनुभव गर्न नपाएको धेरै भइसक्यो ।
मोदीको त्यो ट्वीट र महाकालीमा बगेका जयसिंह
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार एउटा ट्वीट गर्दै नेपाल भारतको सुखदुःखको साथी भएको चर्चा गरे । अन्तर्राष्ट्रिय मित्रता दिवसको भोलिपल्ट आएको यो ट्वीटको चुरो कुरो अझै कसैले थाहा पाउन सकेका छैनन् । किन यो ट्विट् गरे मोदीले ? यही प्रश्न धेरैले उठाइरहदा धेरैलाई भने शुक्रबार भारतीय एसएसबीले तुइन काटिदिएको जयसिंह धामीको जीवनको मूल्य खोज्न थालेका छन् । मोदीले भनेको नेपाल र भारत सुखदुःखका साथी भनेको त्यही जयसिंहलाई देखाएको व्यवहार हो त ? यो प्रश्न अब निरन्तर उठने निश्चित छ ।
वक्तव्य मात्र निकाल्ने कि भारतलाई दबाब पनि दिने ?
घटना सार्वजनिक भएपछि समग्र मुलुक तरंगित बन्यो । सरकारले पनि स्थानीय प्रशासनमार्फत भारत सरकारको ध्यानाकर्षण गरायो । सबै राजनीतिक दलहरुले एक स्वरले विरोध गरे । तर त्यो स्वर भारतको नयाँ दिल्ली पुग्यो कि पुगेन तर भारतको पिथौरागढ जिल्लाले भने तुइन एसएसबीले नकाटेको जवाफ फर्काएको छ ।
उसले घटना हुँदा त्यही वरिपरि एसएसबीका जवानहरु घुमिरहेको भने स्वीकार गरेको छ । आफ्नै जिल्लाको सदरमुकाम आउन पनि दार्चुलावासीहरुले भारतीय भूमि भएर यात्रा गर्नु पर्छ । यसकोे अन्त्यका लागि दार्चुलावासीले बर्षौदेखि धेरै आवाज उठाए तर अहिलेसम्म कुनै पनि सरकारले सुन्न पनि नचाहेको स्थानीयको गुनासो छ ।
यसरी काटियो तुइन र विलिन भए जयसिंह
स्थानीयवासी कल्याणसिंह धामीले मालघाटमा आफ्नो मामा पर्ने जयसिंह धामीलाई तुइनबाट भारतको पंगला भन्ने स्थानतर्फ तारेका हुन् । तर जयसिंह तुइनबाट तर्दै गरेको अवस्थामा एसएसबीका जवानहरु कराउँदा कराउँदै तुइनको लठ्ठा फुस्काइदिएपछि उनी महाकालीमा वेपत्ता बनेका थिए ।
वारि काठको खम्बा र पारि रूखमा बाँधेर २१ वर्षदेखि सञ्चालन हुँदै आएको तुइनमार्फत हिउँदमा ५० र बर्खामा १०० रुपैयाँ तिरेर सर्वसाधारणले महाकाली तर्ने गर्दै आएका छन् । शुक्रबार जयसिंहसहित विक्रम रङ्कली र अनिता धामी पनि काठमाडौं संगै आउने तयारीमा थिए । तर एसएसबीको ज्यादतीले जयसिंह महाकालीमा विलिन हुँदा रङ्गली र अनिता धामी भने नेपाली तिर रोकिएका थिए । यो घटनापछि स्थानीयवासी राज्यसँग आक्रोशित हुँदै अब केही पनि नमाग्ने बताउन थालेका छन् ।
दुई पटक विदेश जाँदा पनि घर बनाउँदा लागेको ऋण तिर्न नसकेका जयसिंह त्यही ऋणबाट आफु र परिवारलाई उकास्न तेस्रो पटक विदेश जाने तयारीमा थिए । यही प्रयोजनका लागि उनी आफ्नो गाउँ दार्चुलाको व्यास गाउँपालिकावासी जयसिंह काठमाडौं आउँदै थिए । तर त्यही व्यास गाउँको मालघाटमा रहेका तुईन उनका लागि अन्तिम यात्रा बन्यो । व्यास गाउँपालिका त्यही गाउँपालिका हो, जुन गाउँका लिपुलेक र कालापानी भारतीय पक्षले कब्जा गरेर आफ्नो बनाउन भगिरथ प्रयास गर्दै आएका छन् ।
।