सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

‘रावल वा भुसाल’को नेतृत्वमा एमालेको नेपाल समुह सरकारमा !

काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहमा सरकारमा सहभागी हुने विषयमा दबाब बढ्दै गएको छ । माधव समूहमा रहेका एमालेका दोस्रो तहका नेताहरु सरकारमा सहभागी हुन नहुने र प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ जना सांसदहरु सरकारमा सहभागी हुनुपर्ने अडानमा हुँदा वरिष्ठ नेता माधवकुमार नेपाल चेपुवामा परेका छन् ।

दोहोरो चेपुवामा परेका नेता नेपाल अन्ततः सरकारमा सहभागी हुने मनस्थितिमा पुगेको केन्द्रीय सदस्य तथा सांसद मेटमणि चौधरीले बताए । उनले केही समय कुरेर आफूहरु सरकारमा जाने निश्चित भएको दावी गरे । उनले आफ्नो तर्फबाट सरकारको नेतृत्व एमाले उपाध्यक्ष भीम रावल अथवा उपमहासचिव घनश्याम भुसाल गर्ने सम्भावना रहेको उनले बताए ।

विवाद समाधानका लागि गठन गरिएको कार्यदलका सदस्यहरुले सरकारमा जाने विषयमा हतार नगरौं भन्ने प्रस्ताव गरेकाले सरकारमा जान ढिलाइ भएको चौधरीको भनाइ छ । उनले आफूहरु सरकारमा जानु अनिवार्य भएको बताए । ‘सरकारलाई बलियो बनाउन पनि हामी सरकारमा सहभागी हुन आवश्यक छ,’ चौधरीले भने, ‘सरकारको नीति तथा कार्यक्रमदेखि बजेट निर्माणसम्म हाम्रो सहभागीता अनिवार्य छ ।’

उनले सात वटा कै हाराहारीमा मन्त्रालय पाउने तय भएपनि कुन कुन मन्त्रालय भन्ने विषयमा टुंगो लागिनसकेको उनको भनाइ थियो । अहिले कार्यदलमा रहेका सदस्यले एकतको पहल जारी रहेकाले सरकारमा जाने विषयमा हतार नगरौं भनेकाले केही ढिला भएको उनको भनाइ छ । माधव समूहले स्पष्ट निर्णय दिन नसक्दा देउवा सरकारले पूर्णता पाउन सकेको छैन ।

देउवा प्रधानमन्त्री भएको सोमबार २१ दिन पुगिसकेको छ । तर, सरकार भने ६ सदस्यीय मन्त्रिमण्डलले चलाइरहेको छ । मन्त्रिपरिषदले पूर्णता नपाउँदा सरकारको गति सुस्त भएको भन्दै देउवा सरकारको आलोचनासमेत शुरु भइसकेको छ । तर, माधव समूहले स्पष्ट निर्णय सोमबारसम्म दिएको छैन । प्रधानमन्त्री देउवाले पटक पटक भेटेर वरिष्ठ नेतालाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि नेता नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरिरहेका छन् । तर, नेता नेपालले भने स्पष्ट जवाफ दिन सकेका छैनन् । उता सत्तारुढ गठबन्धनका माओवादी केन्द्र र जसपाले पनि मन्त्रीको टुंगो लगाउन सकेका छैनन् । माधव समूह सरकारमा जाने वा नजाने निश्चित नभएकाले उनीहरुले पनि मन्त्री बन्नेको सूची बनाउन सकेका छैनन् ।

एमाले सांसद तथा केन्द्रीय सदस्य चौधरीले अब एमाले एक रहने सम्भावनासमेत नरहेको दावी गरे । उनले भने, ‘एमालेमा ओलीले बाटो बन्द गर्नुभएको छ । नयाँ दल स्थापना नगरी भएन । सरकारमा पनि जानै पर्यो ।’ तर नयाँ पार्टी स्थापनाका विषयमा कानुनविद्हरुसँग परामर्श भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार १२:४१