सूचनाको शक्ति - The Power Of Information

        

मेलम्ची बाढी अपडेटः ६० घर बगे, दुई पक्की पुलको अवस्था अज्ञात

मेलम्ची । सिन्धुपाल्चोकमा गत शनिबार रातीदेखि आएको बाढीले अहिलेसम्म ६० वटा घर टहरा बगाइसकेको छ ।

ठूलो वर्षा नभए पनि मेलम्ची खोलाको मुहान क्षेत्रमा निरन्तर गइरहेको भीषण पहिरोका कारण खोला थुनिएर पटक पटक बाढी आइरहेको हो ।

हालसम्म कम्तिमा ६० वटा घर टहरा बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा ५५ वटा तथा तालामाराङ तथा मेलम्चीमा ५ वटा घरटहरा बाढीले बगाएको छ ।

गत असार १ गते आएको भीषण बाढीले लेदो भरिएका घर अहिलेको बाढीले बगाएको हो । ती घर टहराहरु असार १ देखि नै खाली रहेका थिए ।

त्यस्तै बाढीले ४ गोठ, एक पक्की पुल र एक झोलुङ्गे पुल बगाएको छ । त्यस्तै एक फर्निचर उद्योग र एक रेडियोको भवन पनि बाढीले बगाएको छ । यस्तै बाढीले हेलम्बुका दुईवटा पक्की पुल र २ वटा घरको अवस्था अज्ञात छ ।

बाढीको बहावले पुल माथिबाट खोला बगेकाले पुलको अवस्था के कस्तो हो भन्ने थाहा हुन नसकेको हो । हेलम्बु गायउँपालिका २ को कात्तिके खोलामा रहेको पक्की पुल, हेलम्बुको १ र २ वडा जोड्ने घट्टे खोलामाथिको पक्की पुलको अवस्था थाहा हुन नसकेको हो ।

त्यस्तै दुई घर पनि खोलाको वहावले पुरेकाले थाहा हुन सकेको छैन् । मेलम्चीमा अहिलेपनि पानीको बहाव बढिरहेको छ । बाढीको उच्च जोखिममा ग्याल्थुम बजार र ढुंगे बजार छन् ।

यता, मेलम्ची बजारमा पनि खोला पसेको छ । असार १ को बाढी पसेर लेदो भरिएको घरहरु सफा गर्दा नगर्दै पुन आज बस्तीमा बाढी पसेको हो ।

यता, मध्यपहाडी लोकमार्ग जोड्ने एकमात्रै बाहुनेपाटीको पक्की पुलमा बाढीले क्षति पुर्याएको छ । पुलको फाउण्डेशनको भाग बाढीले बगाइसकेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार १२:०८