सूचनाको शक्ति - The Power Of Information

        

समाचार

बाँकेमा सवारी दुर्घटना घट्यो, मृत्युदर बढ्यो

फाइल तस्वीर

बाँके । बाँकेमा गत आर्थिक वर्षमा सवारी दुर्घटनामा ७७ जनाले ज्यान गुमाएका छन् । सो अवधिमा १० वटा पशुचौपाया मरेको जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ । जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख राजु भण्डारीले गत केही वर्षयता हरेक वर्षजसो सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको बताए ।

उनले दुई महिना निषेधाज्ञाका कारण सवारी साधन नचले पनि अघिल्लो आर्थिक वर्ष २०७६/०७७ भन्दा गत आर्थिक वर्ष २०७७/०७८ मा चार जना बढीको मृत्यु भएको बताए । गत आर्थिक वर्ष २०७७/०७८ मा बाँकेमा १४३ वटा दुर्घटना भएका र ती दुर्घटनामा परेर ७७ जनाले ज्यान गुमाउनु परेको प्रमुख भण्डारीले बताए ।

जिल्ला ट्राफिक कार्यालय बाँकेका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा २८० दुर्घटनामा ७३ जनाको मृत्यु भएको थियो भने २०७५/०७६ मा १६१ सवारी दुर्घटना भएकोमा ६० जनाले ज्यान गुमाएका थिए । त्योभन्दा अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा भने १६२ सवारी दुर्घटना भएकोमा ४७ जनाले ज्यान गुमाएका थिए ।

यता पछिल्ला वर्षको तुलनामा गत आर्थिक वर्षमा मृत्यु सङ्ख्या थोरै बढे पनि दुर्घटना न्यूनीकरणका लागि विभिन्न सचेतीकरणका कार्यक्रम सञ्चालन गरिएकाले दुर्घटनाको सङ्ख्या भने उल्लेख्य रूपमा घटेको पाइएको छ । ट्राफिक कार्यालयका प्रमुख भण्डारीका अनुसार विद्यार्थी, चालक तथा सहचालक र सर्वसाधारणलाई ट्राफिक नियमबारे निरन्तर जानकारी र सचेत गराउने काम भएको छ ।

बाँकेमा अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा २८० वटा दुर्घटना भएका थिए भने सचेतीकरण कार्यक्रमका कारण गत आर्थिक वर्ष २०७७/०७८ मा त्यो सङ्ख्या घटेर १४३ मा झरेको प्रमुख भण्डारीले बताए । उनले विद्यार्थीलाई १७ पटक दिइएको तालिममा एक हजार ७५० विद्यार्थी सहभागी भएका थिए । जिल्ला ट्राफिक कार्यालयका अनुसार सो अवधिमा व्यावसायिक चालक तथा सहचालकलाई ५२ पटक कक्षा दिइएको थियो । त्यसमा तीन हजार ७१२ जना सहभागी भएका थिए ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार ११:५०