सूचनाको शक्ति - The Power Of Information

        

परीक्षा बिग्रिएको भन्दै युवतीले गरिन् आत्महत्या

सुर्खेत । सुर्खेतकी एक युवतीले परीक्षा बिग्रिएको भन्दै ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेकी छिन् । पश्चिम पञ्चपुरी नगरपालिका वडा नं. ८ घर भई हाल वीरेन्द्रनगरमा बस्दै आएकी बिमला कँडेलले कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन् ।

जल तथा मौसम विज्ञान कार्यालयको भवनभित्र झुण्डियर आत्महत्या गरेकी २९ बर्षीया कँडेलले आत्महत्या गर्नुअघि ‘सुसाइड नोट’समेत लेखेको प्रहरीले बताएको छ । प्रहरी स्रोतका अनुसार ‘सुसाइड नोट’मा उनले बिबिएस प्रथम बर्षको परीक्षा बिग्रिएको भन्दै आत्महत्याको बाटो रोज्नुपरेको कुरा लेखिएको देखिन्छ ।

जिल्ला प्रहरी कार्यालयका सुर्खेतका प्रवक्ता एवम डिएसपी रामप्रसाद घर्तीका अनुसार उनी जल तथा मौसम विज्ञानको कार्यालयमा कार्यरत उनकी दिदी कृष्णा ढकालसँग बस्दै आएकी थिइन् । कृष्णा कार्यालय हेरालु (चौकीदार)को रुपमा कार्यरत छन् । डिएसपी घर्तीका अनुसार आइतबार दिउँसो १२ बजेतिर झुण्डिएको अबस्थामा हामीलाई खबर आएको थियो ।

डिएसपी घर्तीले भने, ‘झुण्डिएको खबर पाएपछि हाम्रो अनुसन्धान टोली त्यहाँ पुगेको थियो । घटनाको थप अनुसन्धान भइरहेको छ ।’ मृतक कँडेलको शवको पोस्टमार्टम भए पनि हालसम्म रिपोर्ट आइनसकेको प्रहरीले बताएको छ । घटनास्थलमा त्यस्तो शंकास्पद केही नभएको र कोठाभित्र पङ्खामा पासो लगाएको अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार ११:०८