सूचनाको शक्ति - The Power Of Information

        

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आज बस्ने भनेको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

सोमबार दिउँसो तीन बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने भनिएको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्य व्यस्तताले स्थगित गरिएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

आजको बैठकमा मन्त्री छनोटका विषयमा केन्द्रित हुने बताइएको थियो । गत असार २८ गते सर्वोच्च अदालतको परमादेशमा प्रधानमन्त्री बनेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अझै मन्त्रिमण्डललाई पूर्णता दिन सकेका छैनन् ।

देउवाले असार २९ गते कांग्रेसबाट बालकृष्ण खाँणलाई गृह र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुनमन्त्री बनाएका थिए भने माओवादीबाट जनार्दन शर्मालाई अर्थ र पम्फा भुसाललाई उर्जा मन्त्री बनाएका थिए ।

यस्तै साउन १० गते कांग्रेसबाट उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएका छन् । थप १९ मन्त्रीको नियुक्तिमा एमालेको माधव नेपालको निर्णय र काँग्रेस, माओवादी र जसपाबीच शक्ति सन्तुलनमा ठोस सहमति नहुँदा ढिलाइ भएको जनाइएको छ ।

आइतबारको स्थायी कमिटी बैठकमा माधव समूह औपचारिकरुपमा सरकारमा सहभागी नहुन नसक्ने प्रचण्डको ब्रिफिङ थियो । तत्काल नेपाल समूह नआउने भएपछि मन्त्रिमण्डललाई पूर्णता दिएर अघि बढ्नुको विकल्प नभएको उनको भनाइ थियो ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार १०:११