सूचनाको शक्ति - The Power Of Information

        

चोरी भएको छिन्नमस्ताको मुकुट भेटियो, एकजना पक्राउ

सप्तरी । छिन्नमस्तास्थित प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको चोरी भएको मुकुट (मस्तक) फेला परेको छ । चोरी भएको चाँदीको मुकुटसहित विष्णुपुर गाउँपालिका–५ मझौका राजेशकुमार मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आइतबार राति करिब ७ः०० बजे सरसफाइका लागि मन्दिरका पुजारी पोखरीबाट पानी लिन गएका बेला मुकुट चोरी भएको थियो । चोरी गरेका मण्डलले बिहान आफैँले मुकुट ल्याएको र मन्दिर स्थापना गर्ने भन्दै गाउँमा हल्ला गर्दै हिँडेको स्थानीयवासी जयप्रकाश यादवले बताए ।

मण्डलसहित ७५० ग्रामको चाँदीको मुकुट, सुनको टीका र नथिया बरामद गरी मण्डललाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए । चोरीको घटना बाहिरिएपछि आइतबार राति नै प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, प्रहरी उपरीक्षक धमलासहितको टोली घटनास्थल पुगेको थियो ।

प्रहरीले तत्कालै पूजाको पालोमा रहेका तीन पुजारीलाई नियन्त्रणमा लिएको थियो । चोरीको अनुसन्धानका लागि राति नै सीमानाकालाई समेत सिल गरिएको थियो । मन्दिरमा सिसीटिभी जडान भए पनि तार काट्ने, क्यामेरा फुटाउने कामले गर्दा मन्दिर अहिले सिसीटिभीको निगरानीमा छैन । मन्दिरको संरक्षणमा लापर्वाही भएको भन्दै मन्दिरमा भेला भएका स्थानीयवासीले रातिदेखि नै चर्को विरोध गरिरहेका छन् ।

मन्दिरका पीठाधीश महाकान्त ठाकुरका अनुसार सफाइका क्रममा नभेटिएपछि मुकुट चोरी भएको खुलेको हो । मन्दिरका मूल पुजारी उमेश ठाकुरका छोराको मृत्यु भएका कारण सात दिनयता मन्दिरको सरसफाइ र नियमित पूजा स्थानीय ब्राह्मणले गर्दै आएका थिए । मुकुट ८ सय ५० ग्राम तौलको छ । मन्दिरमा राखिएको सीसीटीभी क्यामेरा असारदेखि बिग्रिएको छ । सीमा सिल गरी मुकुटको खोजी गरिएको थियो ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार ०९:२८