सूचनाको शक्ति - The Power Of Information

        

अब लाइसेन्सको ट्रायल खुल्ने

फाइल तस्वीर

काठमाडौं । सरकारले कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा जारी गरेपछि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल खुलाउने तयारी गरेको छ । यातायात व्यवस्था विभागले साउन अन्तिम सातादेखि लाइसेन्सको ट्रायल परीक्षा खुलाउने तयारी गरेको हो । विभागले मातहतका कार्यालयसँग छलफल गरेर ट्रायल परीक्षा खुलाउन लागेको हो ।

विभागले यसअघि नै लाइसेन्सको ट्रायल खुलाउने तयारी गरेकोमा कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञा पूर्णरूपमा नहटेको भन्दै यातायात कार्यालयले ट्रायल खुलाउन नसकिने बताएका थिए । पछिल्लो पटक विद्यालय, विश्वविद्यालय लगायतका परीक्षा धमाधम सुरु भएपछि विभागले पनि ट्रायल खुलाउने तयारी गरेको हो ।

विभिन्न खाले सवारी साधान चलाउनका लागि अनलाइन आवेदन दिएर लाखौं सेवाग्राही ट्रायल परीक्षाको प्रतीक्षामा बसेका छन् । गत वर्ष लकडाउनपछि सरकारले अनलाइन प्रणालीमा आवेदन खुलाएको थियो । अनलाइन प्रणालीमार्फत ट्रायल परीक्षाका लागि आवेदन दिनेहरूले पालो कुर्दाकुर्दै कोरोनाको दोस्रो भेरियन्टको संक्रमण बढेपछि पुनः ट्रायल परीक्षा बन्द गरिएको थियो ।

विभागले ट्रायल परीक्षा खुलाएसँगै लाइसेन्स लिनको लागि नयाँ व्यवस्थासमेत लागू गर्ने तयारी गरेको छ । लाइसेन्स परीक्षा प्रणालीमा शतप्रतिशत अंक ल्याए मात्रै पास हुने व्यवस्थालाई परिमार्जन गरी अब ७० प्रतिशत अंक ल्याए पास हुने व्यवस्था गर्न लागिएको विभागले जनाएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार ०७:३५