सूचनाको शक्ति - The Power Of Information

        

अटो चलाएर जीविका चलाउँदै माओवादी जनयुद्वका नेता

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ का ४२ वर्षीय गणेश चौधरी अटो रिक्सा चलाएर जीविका चलाउँदै आएका छन् । उनी रहरले नभएर बाध्यताले अटो व्यवसायमा संलग्न छन् । उनले चार कठ्ठा जग्गा बेचेर अटो खरिद गरेका हुन् । सूर्योदयदेखि साँझ अबेरसम्म तत्लीन उनी सवारी नपाएको दिन रितो हात घरसमेत फर्किन्छन् । कमाई नभएको दिन निराश भने हुँदैनन् ।

औसतमा दैनिक उनको कमाई एक हजार जति हुने गर्दछ । अटोबाट हुने कमाइबाट सन्तुष्ट भएको उनी बताउँछन् । ‘परिवारसँगै बस्न पाएको छु,’ उनले भने, ‘दिनभरि अटो चलाउँछु साँझ परिवारसँग बसेर सुखदुःख साटासाट गरी बस्न पाएको छु । यसमै सन्तुष्ट छु ।’ उनका परिवारमा एक छोरा, एक छोरी र श्रीमती छन् । उनले दुई वर्ष वैदेशिक रोजगारमा साउदी अरेबिया र चार वर्ष मलेशियामा बिताएका थिए ।

‘धेरै कमाई हुन्छ भन्ने सपना बोकेर वैदेशिक रोजगारीमा कर्जा गरेर गएको थिए । कर्जा तिर्नमै ठिक्क भयो । दुई पटक विदेशिए पनि कमाई हुन सकेन,’ उनले भने, ‘थोरै तलबमा धेरै काम गर्नु पर्दथ्यो । केही आफनै खर्चका लागि ठिक्क हुन्थ्यो । बचेको रकम परिवारको खर्चका लागि पठाउँदा सकिन्थ्यो । बचत गर्न सकिएन । पैसा कमाउने उद्देश्यले वैदेशिक रोजगारीमा गएको थिए । पैसा नै बचत नहुने भएपछि घर फर्के ।’

बेरोजगार भएर बस्नुभन्दा जग्गा बेचेरै भए पनि अटो किनेको उनी बताउँछन् । अटो किन्न चार कठ्ठा र वैदेशिक रोजगारीमा जानुअघि बिरामी पर्दा दुई कठ्ठा जग्गा बेच्नुपरेको उनले बताए । वैदेशिक रोजगारीमा जानुअघि उनी तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा समेत सहभागी भए । उनी विसं २०५८ भदौको २९ गतेलाई विर्षने प्रयत्न गरे पनि विर्षन सक्दैनन् ।

उनले भने, ‘माटोका खाल्डोमा रातभरी बसे ।’ गणेशजस्तै जनयुद्धमा सहभागी भएका वसन्त चौधरीसमेत अटो चलाएर जीविका चलाउँदै आएका छन् । शुक्लाफाँटा–३ जोनापुरका चौधरीले अटो रिक्सा चलाउन थालेपछि परिवारको खर्च सहजरुपमा चल्न थालेको छ । बैंकबाट रु.आठ लाख ऋण निकालेर चौधरीले अटो रिक्सा खरिद गरेका छन् ।

‘पाँच लाखमा आटोरिक्सा र तीन लाख खर्च गरेर घरमै पसल राखेको छु,’ उनले भने, ‘अटो रिक्सा मैले सम्हालेको छु । पसल श्रीमतीले सम्हालेकी छन् । सहजरुपमा परिवारको खर्च चलेको छ ।’ एक वर्षदेखि अटो रिक्सा चलाउँदै आएका उनले बैंकबाट निकालेको आधा ऋणबापतको रकम चुक्ता गरिसकेका छन् । अटो रिक्साबाट मात्रै दैनिक उनले एक हजार बढी रकम आम्दानी गर्दै आएका छन् । रोजगारी केही नहुँदा अटो रिक्सा र पसल एकसाथ सञ्चालन गर्नुपरेको उनले बताए ।

तत्कालीन विद्रोही नेकपा माओवादी पार्टीमा आबद्ध भएर एक दशकसम्म जनयुद्धमा सहभागी भएका चौधरी पार्टीले बेवास्ता गरेपछि क्षेत्रीय ब्युरो सदस्यबाट राजीनामा दिएर व्यवसायमा संलग्न भएको बताउँछन् । उनले भने, ‘राजनीतिलाई थाति राख्दै रोजगारीमा संलग्न भएपछि जीवन सहज भएको छ । राजनीतिमा फर्कने योजना छैन ।’ बाध्यताले जग्गा बैंकमा धितो राखेर कर्जा निकालेर अटो खरिद गरी परिवारको खर्च चलाउनुपरेको उनले बताए ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार १६:०३