सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनी प्रदेशमा बेपत्ता ‘सांसद’को कथा

माओवादीले दिएको ५५ लाख फिर्ता गरेर सांसद बिमला फेरि एमालेमै !

काठमाडौं । तीन दिनदेखि ‘हराइरहेकी’ लुम्बिनी प्रदेश सांसद बिमला खत्री वली अहिले सम्पर्कमा आएकी छिन् । उनी दाङ जिल्लाको प्रदेश निर्वाचन क्षेत्र ‘ख’बाट उपनिर्वाचनबाट निर्वाचित सांसद हुन् । दाङ जिल्ला प्रहरीका अनुसार उनी अहिले सम्पर्कमा छिन् ।

जिल्ला प्रहरी प्रमुख सुरेश काफ्लेका अनुसार शुक्रबार राति र शनिबार बिहानसमेत उनको फोनमा सम्पर्क भएको थियो । अहिले उनी अस्थायी राजधानी बुटवलमै छिन् । प्रहरीका अनुसार उनी कान र घाँटीमा समस्या भएका कारण उनी नेपालगन्ज उपचार गराउन गएको बताएकी थिइन् ।

तर उनको पार्टी नेकपा माओवादीले भने उनी तीन दिनदेखि सम्पर्कबिहीन भएको बताएको छ । माओवादी सांसद इन्द्रजित थारुका अनुसार आज पार्टीको संसदीय दलको बैठक छ । त्यही बैठकमा सहभागी गराउनका लागि सम्पर्क गर्दा उनी नभेटिएको थारुले बताए ।

एमालेबाट माओवादीतिर, फेरि वेपत्ता

२०७४ सालको निर्वाचनमा प्रदेश सांसदमा निर्वाचित उत्तरकुमार वलीको एउटा दुर्घटनामा मृत्यु भएपछि एमालेले उनलाई उम्मेदवार बनाएर उपनिर्वाचन लडेकी थिइन् । उपनिर्वाचनका बेला माओवादी र एमाले ‘नेकपा’ थिए ।

गत फागुनमै सर्वोच्चको फैसलापछि नेकपा खारेज भएर माओवादी केन्द्र र एमाले छुट्टाछुट्टै हैसियतमा पुगेका थिए । त्यसपछि वलीले माओवादी पार्टीमा रहने घोषणा गरेकी थिइन् । त्यो बेला पनि माओवादी र नेपाली कांग्रेस लगायतको गठबन्धनले पोख्रेल सरकार ढाल्ने योजना बनाएका थिए ।

त्यहीबेला पोख्रेलले राजीनामा दिएर फेरि ठूलो दलको हैसियतमा आफै मुख्यमन्त्रीको सपथ लिएका थिए । अहिले फेरि पोखरेल अल्पमतमा छन् । माओवादी, कांग्रेस र जनता समाजवादी पार्टी लगायतको गठबन्धनले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरिरहेका छन् ।

जसपका तीन जना मन्त्रीहरूलाई प्रदेशसभाले सांसद पदबाट पदमुक्त गरेसँगै मुख्यमन्त्री पोख्रेल अल्पमतमा परेका हुन् । केहीदिनमै फेरि मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी भइरहेका बेला सांसद विमला केसी फेरि ‘वेपत्ता’ भएकी हुन् । लुम्बिनी प्रदेशसभामा कूल ८३ जना सांसद छन् ।

तीमध्ये जसपाबाट मन्त्री बनेका तीनजना अहिले पदमुक्त भइसकेका छन् । विपक्षी गठबन्धनले आफूहरूसँग ४१ सांसद रहेको दाबी गरेको छ । एकजना बिमला पनि हुन् । मुख्यमन्त्रीको पक्षमा भने ३८ जना सांसद छन् । स्रोतका अनुसार अहिले उनी एमाले (मुख्यमन्त्री)कै सम्पर्कमा छिन् ।

केही दिनअघि उनलाई एमालेका लुम्बिनी प्रदेश सदस्य मानबहादुर रावतले उनलाई फेरि एमालेमै फर्किन ‘कन्भिन्स’ गरेका थिए । रावत र मुख्यमन्त्री पोखरेल एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र हुन् । बलात्कार, कुटपिटजस्ता मुद्दामा पटक–पटक जेल र मुद्दा खेपिसकेका रावत केही समयअघि मात्रै भेरी अस्पतालमा नर्सहरूलाई कुटपिट गरेर जेल परेका थिए । पछि उनी धरौटीमा छुटे ।

लुम्बिनी प्रदेशका ग्रामीण तथा सहरी विकास मन्त्री हरिप्रसाद रिजालकै गाडीमा मानबहादुर रावतले बिमलालाई नेपालगन्ज लगेका थिए । त्यहाँ उनी बिरामी भएर उपचार गर्न गएको भनिरहेकी छिन् । अहिले उनले कसैको पनि फोन उठाएकी छैनन् । एमाले निकट स्रोतका अनुसार उनीहरू शनिबार राति नै बुटवल आइसकेका छन् ।

पैसाको चलखेल

एमाले निकट स्रोतका अनुसार अघिल्लोपटक उनलाई नेकपा माओवादी केन्द्रले करिब ५५ लाख रुपैयाँ दिएको थियो । त्यसैले अन्तिम समयमा उनले माओवादी रोजेकी थिइन् । सुरुमै निर्वाचित उनका श्रीमान उत्तरकुरमा वलीको थुप्रै ‘म्यामापावर कम्पनी’हरू र ठेक्कापट्टा पनि थियो ।

त्यो बेला उनले धेरै ऋण लगाएको पटकपटक बिमला आफैंले स्विकार्दै आएकी छिन् । खासगरी अमेरिकालगायतका देशमा पठाउने भन्दै उनले थुप्रै मानिससँग पैसा असुलेका थिए । पछि उनीविरुद्ध धेरै मुद्दाहरू परेका थिए । उपचुनाव लड्दा पनि आफूलाई ऋण लागेको भन्दै सांसद बिमलाले माओवादीसँग ५५ लाख रुपैयाँ लिएकी हुन् ।

एमाले स्रोतका अनुसार त्यो बेला माओवादी नेता तथा पूर्वसभामुख ओनसरी घर्ती र प्रदेश सांसद सुदर्शन बरालले बिमलालाई पैसा दिएका थिए । पूर्वसभामुख घर्ती अहिले नेकपा माओवादीको लुम्बिनी प्रदेश इन्चार्ज छिन् । बराल यसअघि लुम्बिनी प्रदेशकै सामाजिक विकास मन्त्री थिए ।

एमाले निकट स्रोतका अनुसार त्यो बेला माओवादीले उनलाई मन्त्री बनाउने आश्वासन पनि दिएको थियो । तर गठबन्धनको सरकार बन्न सकेन । अहिले एमालेमा फर्किनका लागि वलीले माओवादीलाई त्यो पैसा फिर्ता गर्ने शर्त राखेको स्रोतले बतायो । त्यही पैसाको जोहो गर्नका लागि मुख्यमन्त्री पोखरेलले रावतलाई खटाएका हुन् ।

रावत मुख्यमन्त्री पोखरेलका विश्वासिलो पात्र हुन् । पार्टीले पटक–पटक कारबाही गर्दा पनि उनी पोखरेलले रावतलाई धेरैपटक बचाएका छन् । उनको चुनावी अभियानमा पनि रावत निकै सक्रिय हुँदै आएका छन् । घर्तीले भने पैसा नै दिएको कुरा स्पष्ट स्विकार गरिनन् ।

उनले भनिन्, ‘त्यस्तो होइन होला । यो नितान्त सांसदहरूको कुरा भएका कारण म संलग्न त किन हुनु र ?’ तीन दिनदेखि सांसद बिमलाको खोजीमा लागेका माओवादी सांसद इन्द्रजित थारुले भने पैसाको प्रलोभन हुन पनि सक्ने बताए ।

‘अलिअलि प्रलोभन त हुन पनि सक्छ । तर हामीसँग त्यत्रो पैसा त कहाँ हुनु र दिने ?’ अहिले बुटवलमै रहेका सांसद चौधरीले भने, ‘पैसा नै दिएर त कतिजना सांसदलाई आफ्नो पक्षमा ल्याउन सकिन्छ र ? त्यस्तो गर्दा साध्य पनि लाग्दैन, कतिलाई पैसा दिनु ?’

उनका अनुसार सांसद वली भने अहिले पनि माओवादीको सम्पर्कमा छैनन् । ‘अहिले पनि उहाँ हाम्रो सम्पर्कमा हुनुहुन्न । कहाँ कुन अवस्थामा हुनुहुन्छ हामीलाई थाहा छैन’ उनले भने ‘माओवादी उहाँले नै रोज्नुभएको हो । दल रोज्न पाउनु उहाँको अधिकार नै थियो । उहाँ फेरि एमालेतिर जानुहुन्न होला, हामीतिरै हुनुहुन्छ भन्ने विश्वास हामीलाई छ ।’ आयोमेलबाट

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार १५:११