धनगढी । दार्चुलाको व्याँस गाउँपालिका–२, राप्ला खानदानका ३३ वर्षीय जयसिंह धामी वैदेशिक रोजगारीको तयारीका लागि शुक्रबार बिहान घर परिवारबाट बिदा भएर निस्किए । कोरोना महामारीका कारण एक वर्षअघि नेपालमा लकडाउन जारी भएकै अवस्थामा दुबईबाट उनी घर फर्किएका थिए ।
लामो लकडाउन र बेरोजगारीले घरपरिवारमा आर्थिक समस्या पर्न थालेपछि उनी पुनः वैदेशिक रोजगारीको तयारीका लागि घरबाट निस्किएका हुन् । व्याँस गाउँपालिका–२ का स्थानीयको विवशता भनौं या बाध्यता उनीहरूले सदरमुकाम खलंगा पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्छ ।
केही दिनको तयारीपछि जयसिंह धामीसहितका केही स्थानीय युवा महाकाली नदीपारिको भारतीय बाटो प्रयोग गर्न शुक्रबार बिहान महाकाली नदीमा रहेको तुइन चढ्न पुगेका थिए । उनका केही साथीहरू तुइन चढेर नदी पार गरे । उनको तुइन चढ्ने पालो आयो । उनी पनि तुइनमा बसे ।
तर, जब उनी नदीको बीचमा पुगे, तब भारतीय एसएसबीले तुइनको डोरी काटिदिएपछि नदीमा खसे र महाकालीको तेज धारमा बेपत्ता भएको उनका दाइ नरेन्द्रसिंह धामीले दुखेसो सुनाए । लकडाउनपछि दुबईबाट घर फर्किएका जयसिंह पुनः भिसाको तयारीमा काठमाडौं जान्छु भनेर घरबाट निस्किएका थिए ।
तर, भारतीय एसएसबीले बिहान ९ बजेतिर उनी चढेको तुइन काटिदिएपछि बेपत्ता भएको नरेन्द्रसिंह बताउँछन् । एसएसबीको यो गैरमानवीय हर्कत भने नयाँ नभएको स्थानीयवासी दुःखेसो सुनाउँछन् । चार दिनअघि पनि भारतीय एसएसबीले खलंगाबाट फर्किने क्रममा निकै धम्क्याएको नरेन्द्रसिंह बताउँछन् ।
‘हामी निकै पीडित छौँ । आफ्नै जिल्ला सदरमुकाम जान हामीले भारतीय बाटो भएर जानुपर्छ,’ उनले भने, ‘बर्खा र हिउँदमा हामीले तुइन चढेर पारि रहेको भारतको उत्तराखण्डको धार्चुला जानुपर्छ । त्यसपछि पुनः गाडी चढेर सदरमुकाम खलंगा जानुपर्ने हुन्छ । आज जयसिंह त्यही बाध्यताको शिकार भए ।’
महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले देखेपछि तुइन काटिदिएका थिए । जयसिंह तुइनबाट ओर्लिन एक–दुई पाइला मात्रै बाँकी रहँदा त्यहाँ पुगेका दुईजना एसएसबीका जवानले तुइन काटिदिएका हुन् । धामी तुइन तर्ने बेलामा प्रत्यक्षदर्शीहरु बिक्रम रोङकली, अनिता धामी र कल्यान सिंह धामी नेपालतिरकै भूभागमा थिए ।
धामी महाकाली नदीमा बेपत्ता भएसँगै तुइन काटेर चुडाएका दुवैजना एसएसबीका जवान घटनास्थलबाट भागेको प्रत्यक्षदर्शीले बताएका छन् । उक्त घटनापश्चात् दार्चुलावासी तथा विभिन्न राजनीतिक दल र तीनका भातृ संगठनले घटनाको सत्यतथ्य छानविन गर्न माग गरेका छन् ।
के गर्दैछ सरकार पक्ष ?
धामी बेपत्ता भएको विषयमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय प्रशासनलाई पत्रचार गरेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाका निमित्त प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले डिएम कार्यालय पिथौरागढ र एसडिएम कार्यालय धार्चुलालाई सत्यतथ्य छानबिन गर्न पत्रचार गरेको तर, त्यसको कुनै जवाफ नआएको बताइन् ।
घटनाको विषयमा सत्यतथ्य पत्ता लगाउन सुरक्षाकर्मी खटाइएको छ भने नेपाल सरकारले घटनाबारे छानबिन गर्न समिति बनाएको छ । गृहमन्त्री बालकृष्ण खाँणले गृहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरेका हुन् । समितिमा गृह मन्त्रालयका प्रवक्ता, नेपाल प्रहरीका सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी सदस्य छन् । गृहमन्त्री खाँणले जतिसक्दो छिटो सत्यतथ्य छानबिन गरेर प्रतिवेदन पेश गर्न निर्देशन दिएका छन् ।
।