सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

ओलीले भने, माधव नेपाल ‘देशद्रोही’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई ‘देशद्रोही’को संज्ञा दिएका छन् । एमाले नेतृत्वको सरकार ढालेर दक्षिणपन्थी सरकार ल्याउन साथ दिएको भन्दै ओलीले आक्रोश पोखे ।

एमाले काठमाडौं जिल्ला कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘जनताको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउन लागि परे । माधव नेपाल कम्युनिष्ट आन्दोलन विरोधी देशद्रोहीलाई कुनै ठाउँ छैन । फ्लोर क्रस गरेर देउवा नेतृत्वको सरकार बनाउन एक हुल लिएर हिँडे । पार्टी हामी सबैले बनाएका हौँ ।’

पार्टीभित्रबाटै प्रतिक्रियावादीहरुसँग मिलेर जनताको सरकार ढालेको उनले आरोप लगाए । ‘नेकपा एमालेको सरकार ढाले, लगभग दुई तिहाइको पार्टी फुटाए, एमालेको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएर लोकतन्त्र र संविधानको रक्षा गरेको भनेर भ्रम फैलाइएको छ,’ ओलीको भनाइ थियो ।

पार्टी एकताको र राष्ट्रियताको पक्षमा लाग्न कार्यकर्तालाई उनले निर्देशनसमेत दिए । पार्टी एकता असफल नभएर प्रचण्ड, माधवलगायत केही मान्छेहरुले पार्टी छाडेका आरोप ओलीले लगाए । अदालतको निर्णयपछि प्रचण्डलाई नाम दर्ता गर्न आयोग जान आग्रह गर्दा नमानेको उनले सुनाउँदै आगामी निर्वाचनमा बहुमत ल्याएर देखाउने दाबी गरे ।

ओलीले भने, ‘अदालतले पार्टी फुटाएको साँचो होइन । अर्काको नाम भएकाले अर्को नाममा दर्ता गर्न आउनुभएको हो । मैले प्रचण्डलाई फोन गरें । तर, उहाँले मान्नुभएन । माधवकुमार नेपाललगायत एकता विरोधी तत्वहरुले त्यसको विरोध गरे ।’ देउवा नेतृत्वको सरकारलाई दक्षिणपन्थी भएकाले सुशासन र जनताको पक्षमा काम गर्न नसक्ने जिकिर गरे ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार १४:४३