काठमाडौं । कोभिड १९ को डेल्टा भेरियन्ट ‘चिकन पक्स’जस्तै सजिलै सर्न सक्ने एक अध्ययनले देखाएको छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)को आन्तरिक रिपोर्टमा डेल्टा भेरियन्टले मानिसलाई गम्भीर बनाउने र यो ‘चिकन पक्स’जस्तै सर्ने उल्लेख भएको सीएनएनले जनाएको छ । उक्त रिपोर्ट सार्वजनिक भएको छैन ।
यद्यपि, सीडीसीका निर्देशक डा.रोचेल वालनेस्कीले रिपोर्ट प्रमाणित नै भएको बताएकी छिन् । यो रिपोर्टबारे वासिङटन पोस्टम पहिलो पटक समाचार प्रकाशन भएको थियो । ‘यो निकै गम्भीर छ । यो धेरै छिट्टो सर्ने भाइरस हो,’ उनले भनिन् । उक्त रिपोर्टमा कोभिड १९ विरुद्ध खोप लगाएकाहरुबाट पनि खोप नलगाएकाबाट झैं भाइरस सर्न सक्ने उल्लेख भएको बताइएको छ ।
सीडीसीले शुक्रवार रिपोर्ट सार्वजनिक गरेको छ । जसमा भ्याक्सिन लगाएकाहरुका लागि यसअघि बनाइएको मापदण्ड परिवर्तन गर्न सुझाव दिइएको छ । रोचेलले भ्याक्सिनको डोज पूरा गरेका सबैले अनिवार्य मास्क लगाउनुपर्ने समेत बताएकी छिन् । बन्द कोठा वा हावाको गति कम हुने स्थान जहाँबाट संक्रमण सर्न सक्ने सक्छ ती स्थानमा मास्क अनिवार्य हुनुपर्ने उनले बताएकी हुन् ।
विद्यालयमा विद्यार्थी, शिक्षक लगायत सबैले पनि अनिवार्य मास्क लगाउनपर्नेमा उनले जोड दिएकी छिन् । सीडीसीका अनुसार डेल्टा भेरियन्टबाट संक्रमित एक व्यक्तिले औसतमा ८ देखि ९ जनासम्मलाई संक्रमित गर्न सक्छ । यसअघि ‘कमन कोल्ड’को रुपमा झै संक्रमितले एक वा दुईजनालाई संक्रमित बनाउन सक्ने बताइएको थियो । हाल अमेरिकामा भ्याक्सिनको पूरा डोज लगाएलाई मास्क अनिवार्य गरिएको छैन ।
तर रिपोर्टमा भ्याक्सिन लगाएको व्यक्तिमा भ्याक्सिन नलगाएका व्यक्तिको शरीरमा जस्तै भाइरस रहने उल्लेख भएको बताइएको छ । यसबाट भ्याक्सिन नलगाएकाहरु सजिलै संक्रमित हुन सक्छन् । त्यसैले भ्याक्सिन लगाएकालाई मास्क अनिवार्य गर्न सीडीसीले प्रस्ताव गर्ने तयारी गरेको छ । रिपोर्टमा भ्याक्सिन लगाएकाहरु भने सुरक्षित नै देखिएको दाबी गरिएको छ । ‘भ्याक्सिनले गम्भीर बनाउनबाट ९० प्रतिशत रोक्छ । तर संक्रमण सार्नबाट रोक्न भने सक्दैन,’ रिपोर्टमा उल्लेख छ ।
।