सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनी प्रदेशका तीन सांसद पदमुक्त

काठमाडौं । लुम्बिनी प्रदेशका जनता समाजवादी पार्टी (जसपा)का तीन जना सांसद पदमुक्त भएका छन् । जसपाका सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई लुम्बिनी प्रदेशसभा सचिवालयले पदमुक्त गरेको हो ।

प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै पदमुक्त भएको जानकारी दिएका छन् । सर्वोच्च अदालतले उनीहरुको पद थमौती गरेपनि पार्टीको नीति र विधान विपरित सरकारमा रहेकाले सांसदबाट पदमुक्त भएको सचिवालयले जनाएको छ ।

पार्टीको कार्यकारिणी समितिले गरेको कारबाहीको निर्णय अनुसार जसपा लुम्बिनी प्रदेशसभा संसदीय दलले तीन मन्त्रीको पदमुक्त गर्न प्रदेशसभा सचिवालयमा बिहीबार निवेदन दर्ता गरेको हो । गत वैशाख ६ गते मुख्यमन्त्री शंकर पोखरेललाई अविश्वासको प्रस्ताव दर्ता गरेकै दिन तीन सांसद सरकारमा मन्त्री भएका थिए ।

पार्टीको निर्णय विपरीत सरकारमा सहभागी भएको र पटक पटक पार्टीको ह्विप उल्लंघन गरेकाले जसपाले जनाएको छ । सरकारमा गएका चार जना प्रदेशसभा सदस्यमध्ये सुमन शर्मा रायमाझीले मन्त्री पदबाट राजीनामा दिएपछि उनलाई कारबाही नगरेको जसपाले जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार १६:२६