काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिकमा शुक्रबार अमेरिकाले कुनै पनि स्पर्धामा स्वर्ण नजित्ने सम्भावना रहेको छ ।
शुक्रबार महिला २ सय मिटर ब्रेस्टस्ट्रोकमा दक्षिण अफ्रिकाका टाटियाना सुमाकर प्रमुख दाबेदार रहेकी छिन् ।
महिलासय मिटरमा अस्ट्रेलियाका अम्मा म्याककोन, स्विडेनकी साहरा जोस्टम र अस्ट्रेलियाकै केट क्याम्बेलका बीचमा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
दुई सय मिटर ब्याकस्ट्रोकमा रुसी ओलम्पिक कमिटीका यागेनी राइलोभ उपाधिका मुख्य दाबेदारको रूपमा रहेका छन् ।
पुरुष २ सय मिटर मेड्लीमा अमेरिकाका माइकल एन्ड्रयु दाबेदारको रूपमा प्रतिस्पर्धा गरे पनि ओलम्पिकमा कमजोर प्रदर्शन गरी रहेका कारण उनले उपाधि जित्ने सम्भावना कमै रहेको छ ।
आर्चरीको महिला एकलको उपाधि शुक्रबार टुङ्गो लाग्नेछ । भारतकी दीपिका कुमारी शीर्ष बरियताको खेलाडीको रूपमा प्रतिस्पर्धा गर्नेछिन् ।
ब्याडमिन्टनको मिश्रित युगलमा दुई चिनियाँ जोडी फाइनलमा प्रवेश गरेका कारण चीनको स्वर्ण पदक निश्चित भएको छ ।
पुरुष कायाकको फाइनल पनि शुक्रबार नै हुनेछ । साइक्लिङको बिएम एक्स रेसिङको महिला र पुरुष स्पर्धाको फाइनल पनि शुक्रबार हुनेछ ।
फेन्सिङको महिला टिम एपेको सम्पूर्ण स्पर्धा शुक्रबार नै सकिनेछ । महिला फुटबलको क्वार्टर फाइनलमा क्यानडाले ब्राजिल, बेलायतले अस्ट्रेलिया, स्विडेनले जापान तथा अमेरिकाले नेदरल्यान्डको सामना गर्ने छन् ।
जुडोमा महिलामा ७८ किलोमाथि र पुरुषमा १०० किलोमाथिको स्पर्धाका खेल हुनेछन् । रोइङमा शुक्रबार महिला र पुरुषको सिङ्गल स्क्रुलको फाइनल खेल हुनेछ । महिला र पुरुषको एट फाइनल पनि शुक्रबार हुनेछ ।
सुटिङमा २५ मिटर पेस्तोलको फाइनल खेल शुक्रबार हुनेछ । टेबल टेनिसको पुरुष एकलको फाइनल खेल हुनेछ । यसमा दुवै चिनिया खेलाडी फाइनल प्रवेश गरेका कारण चीनको स्वर्ण र रजत पक्का भइसकेको छ ।
टेनिसको पुरुष युगलको फाइनल हुनेछ । दुवै क्रोएसियाली जोडी फाइनल प्रवेश गरेका कारण क्रोएसियाको स्वर्ण र रजत निश्चित भइसकेको छ ।
ट्राम्पोलायन जिम्न्यास्टिकको महिला स्पर्धा शुक्रवार नै हुने छ । यसमा पनि चीनलाई दाबेदार मानिएको छ । शुक्रबार नै एथलेटिक्सको स्पर्धा शरू हुनेछ ।
पुरुष १० हजार मिटरको फाइनल खेल पनि शुक्रबार हुनेछ । युगान्डाका जोसे चेपटेगेले नै शुक्रबारको भिडन्तमा स्वर्ण पदक जित्ने अनुमान गरिएको छ ।
महिला १०० मिटरको हिट चरण शुक्रबार हुनेछ । संसारका थुप्रै आकर्षक र नाम चलेका एथलेटिक्स खेलाडी टोकियो पुगेका छन् ।
कोरोना महामारीको असर यस पटकको ओलम्पिकमा प्रस्ट देखिएर छटपटाइरहेको अमेरिकी टोली यसबाट बाहिर निस्कने हो या होइन भन्ने कुराको लक्षण शुक्रबार नै देखिन सक्ने छ ।
त्यसो त शुक्रबार अमेरिकाले कुने पनि स्वर्ण पदक न जित्न पनि सक्ने छ । तथापि शनिबार देखिको साता भने एथलेटिक्सका स्पर्धाका कारण पहिलो सातामा पछि परे पनि दोस्रो सातामा खेलमा फर्कन एउटा अवसर हुनेछ । –
एसेन्सीहरूको सहयोगमा
।